जगदुल्ला विद्युत आयोजनामा जुट्यो १६ अर्ब लगानी

जुम्ला- कर्णाली प्रदेशको डोल्पा जिल्लामा निर्माणको चरणमा रहेको जगदुल्ला जलविद्युत आयोजनाका लागि आर्थिक स्रोत जुटेको छ । डोल्पाको मुट्केचुला र जगदुल्ला गाउँपालिकामा निर्माण हुने १०६ मेगावाट क्षामताको जगदुल्ला जलविद्युत आयोजनालाई आर्थिक स्रोत जुटेको हो । उर्जा मन्त्रालयबाट निर्माण स्वीकृति पाइसकेको आयोजना लगानी अभावले अघि बढ्न सकेको थिएन् ।
कर्णाली उज्यालो बनाउने लक्ष्यसहित अघि बढाइएको जगदुल्ला जलविद्युत आयोजनाका लागि बैंक तथा वित्तीय क्षेत्रबाट झण्डै १६ अर्ब लगानी जुटेको छ । कुल २३ अर्ब लागत अनुमान रहेको आयोजनालाई हालका लागि १६ अर्ब जुटेको हो ।
जलदुल्ला जलविद्युत आयोजनामा नविल बैंकलगायत अन्य वित्तीय क्षेत्रले १६ अर्ब ऋण लगानी गर्ने सम्झौता भएको जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले बताए ।
उनका अनुसार गत बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच उर्जा मन्त्रालय र बैंक तथा वित्तीय क्षेत्रबीच १६ अर्ब लगानीको दुईपक्षीय सम्झौता भएको छ । लगानी सम्झौता कार्यक्रममा सहभागी ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले लगानी जुटेसँगै आयोजना निर्माणले गति लिने बताए । उनले भने, ‘जगदुल्ला आयोजना कर्णाली उज्यालो बनाउने आयोजना मात्रै हैन आर्थिक समृद्धिको आधार पनि हो । नबिल बैंकको नेतृत्वमा अन्य वित्तीय संस्थाले गरेको लगानीनुसार जगदुल्ला निर्माण निर्माण कर्णाली उज्यालो हुने आशा छ ।’
द्विपक्षीय ऋण सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना र जलदुल्ला हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले हस्ताक्षर गरेका छन् । आयोजनामा जुटेको कुल १६ अर्बमध्ये नबिलले चार अर्ब ४० करोड लगानी लगानी गर्ने आयोजना प्रमुख सापकोटाले जानकारी दिए । उनका अनुसार सहवित्तीयकरणमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसिएल), कर्मचारी सञ्चयकोष, लक्ष्मी सन्राइज र एभरेष्ट बैंकले लगानी गर्नेछन् । १०६ मेगावाट क्षमताको आयोजनाले समग्र कर्णालीको आर्थिक समृद्धि, रोजगारी सिर्जना, औद्योगिक विकासलगायतका क्षेत्रमा टेवा पुर्याउने उल्लेख गरे ।
जसमा एचआइडिसिएलले चार अर्ब, कर्मचारी सञ्चयकोषले चार अर्ब, लक्ष्मी सन्राइजले दुई अर्ब र एभरेष्ट बैंकले एक अर्ब ५० करोड गरी कुल १६ अर्ब आयोजना निर्माणका लागि लगानी गर्ने भएका छन् । डीपीआर प्रतिवेदनअनुसार आयोजना निर्माणका लागि २३ अर्ब लाग्ने अनुमान गरिएको छ । जसमध्ये करिब १६ अर्ब ऋण र सात अर्ब स्वपुँजीबाट जुटाउन लागिएको आयोजनाले जनाएको छ ।
वित्तीय व्यवस्थापन भएसँगै आयोजना निर्माणको बाँकी प्रक्रिया अघि बढाउने बाटो खुलेको छ । प्राकृतिक स्रोत साधनले कर्णाली सम्पन्न भएपनि लगानी अभावले यहाँका सम्भावना अवसरका रुपमा विकास हुन सकेका छैनन् । कर्णालीमा साना ठूला गरी एक दर्जन भन्दा बढी विद्युत आयोजनाको डीपीआर तयार गरी निर्माणको चरणमा भएपनि लगानी अभावले अघि बढ्न सकेका छैनन् ।
सरकारको अध्ययनअनुसार कर्णाली प्रदेशको कूल ऊर्जा उत्पादन क्षमता १८ हजार मेगावाट रहेको छ । तर हाल ८.५५ मेगावाट बिजुली दैलेखमा उत्पादन भएको छ भने सबैभन्दा कम डोल्पा र जुम्लाबाट समान ०.२० मेगावाट मात्रै उत्पादन भएको छ । यद्दपि निर्माण सम्पन्न भई परीक्षणको क्रममा रहेको जुम्लाको ९९८ किलोवाट क्षामताको चुकेनी विद्युत आयोजना भने तथ्यांकमा समेटिएको छैन । त्यस्तै, दैलेखको पदम खोला र द्वारी खोला साना जलविद्युत् आयोजनाबाट क्रमशः ४.८ मेगावाट र ३.७५ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।