Logo

पर्वतबाट २० करोडका सुन्तला निर्यात

पर्वत– जिल्लाको मुख्य निर्यातजन्य वस्तुको रुपमा रहेको सुन्तला बिक्रीबाट यस वर्ष पर्वतमा २० करोड रुपैयाँँ भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा सुन्तलाको आम्दानी घटेको हो । गत वर्ष २९ करोड ७५ लाख रुपैयाँँ आम्दानी भएकोमा यस वर्ष ९ करोड ६८ लाख रुपैयाँँ कम आम्दानी भएको हो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा झण्डै ३२ प्रतिशतले उत्पादन घटेको छ । कृषि ज्ञान केन्द्र पर्वतले सार्वजनिक गरेको तेस्रो त्रैमासिक प्रगति विवरण अनुसार यो वर्ष सुन्तला खेती गर्ने क्षेत्रफल बढेपनि उत्पादनमा कमी आएको हो । यस वर्ष पर्वतमा चार हजार छ सय मेट्रिक टन सुन्तला उत्पादन भएको छ ।

त्यसमध्ये चार हजार १४० मेट्रिक टन सुन्तला निर्यात भएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । गत कात्तिकको अन्तिम सातादेखि फागुनसम्म जिल्लाको सुन्तला निर्यात भएको हो । जिल्लाको उच्च पहाडी क्षेत्रमा रहेको बाँसखर्कबाट माघको अन्तिम सातामात्र सुन्तला बजार पठाइएको थियो ।

निर्यात भएका चार हजार १४० मेट्रिक टन सुन्तलाबाट जिल्लामा २० करोड आम्दानी भएको वरिष्ठ कृषि विकास अधिकृत परशुराम अधिकारीले जानकारी दिए । पर्वतबाट औषतमा ५० रुपैयाँका दरले सुन्तला निर्यात भएको छ । यहाँ उत्पादित सुन्तला पोखरा, काठमाडौं, नारायणगढ र बुटवलसम्म पुगेको अधिकारीले बताए ।

पर्वतमा अहिले ८३५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भइरहेको छ । उत्पादित सुन्तलामध्ये झण्डै ४६ मेट्रिक टन कृषकले उपभोगमै खर्चिएको अनुमान छ । गत आर्थिक वर्ष २०७९/०८० मा पाँच हजार मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । गत वर्ष ८३० हेक्टर क्षेत्रफलबाट मात्र उत्पादन भएको थियो भने यस वर्ष झण्डै पाँच हेक्टर बढि क्षेत्रफलबाट सुनतला उत्पादन थप भएको वरिष्ठ कृषि विकास अधिकृत अधिकारीले बताए ।

सुन्तला एक वर्ष बढि र अर्को वर्ष कम फल्ने गर्दछ । गत वर्ष बढि उत्पादन भएकाले यस वर्ष केही घटेको कार्यालयले जनाएको छ । त्यसमा असिना पानी, रोग किराको प्रकोपसमेत बढेको कार्यालयले जनाएको छ । पछिल्लो समय बाँझै रहेको खेतबारीमा सुन्तला लगाउने र स्थानीय तहले पनि सुन्तला खेती गर्ने कृषकलाई प्रोत्साहन गर्न थालेपछि वर्षेनी क्षेत्रफलमा वृद्धि हुँदै गएको छ ।

किसानले समयमै आवश्यक मल, किटनाशक औषधिको प्रयोग, बगैंचा सुधार गरे अझै वृद्धि हुने कृषि ज्ञान केन्द्रका सूचना अधिकारी शंकर पौडेलले बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत पर्वतको जलजला र मोदी, महाशिला र पैंयु गाउँपालिकाका तथा फलेवास नगरपालिकाका विभिन्न वडालाई जोन र ब्लकको रुपमा विकास गरिएको छ ।
जिल्लामा सर्बभन्दा बढि जलजला गाउँपालिकाको बाँसखर्कमा सुन्तला उत्पादन हुँदै आएको छ ।

यहाँको एउटै गाउँबाट यसवर्ष ११ करोडको सुन्तला निर्यात भएको छ । त्यसैगरी लेखफाँट, माझफाँट, बनौ, कुश्मा नगरपालिकाको दुर्लुङ, मोदी गाउँपालिकाको बाजुङ, देउपुर, चित्रे, तिलाहार, महाशीला गाउँपालिकाको भोक्सिङ, होश्राङदी, पैंयु गाउँपालिकाको हुवास, त्रिवेणी, टकलाक, विहादी गाउँपालिकाको बाच्छा, फलेवास नगरपालिकाको कुर्घा, पाङराङ, लिमीठाना र ठानामौलामा व्यावसायिक रुपमा सुन्तला खेती गरिँदै आएको छ ।

पर्वत जिल्लाबाट निर्यात हुने मुख्य उत्पादित वस्तुमा सुन्तला हो । अन्य वस्तुहरुको तुलनामा यहाँको सुन्तला बढि बाह्य जिल्लामा निर्यात हुन थालेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्