वैदेशिक रोजगारीमा जाने संख्या बढ्याे

भैरहवा– रुपन्देहीबाट वैदेशिक रोजगारीका लागि जाने युवाको संख्या बढेको छ । श्रम स्वीकृत लिनेमा लुम्बिनी प्रदेशका युवा सबैभन्दा अगाडि रहेका छन् । सुरक्षित आप्रवासन सामी कार्यक्रमकी रूपन्देही संयोजक सीता पन्थका अनुसार आर्थिक वर्ष २०६४/२०६५ देखि २०८० पुस मसान्तसम्म रूपन्देहीका एक लाख ५५ हजार ८१५ जनाले श्रम स्वीकृत लिएका थिए ।
श्रम स्वीकृत लिएकामध्ये ९९ प्रतिशत वैदेशिक रोजगारीका लागि जाने गरेका छन् । सामी कार्यक्रम संयोजक पन्थले भैरहवामा आयोजित कार्यक्रममा वैदेशिक रोजगारीमा जाने रूपन्देहीका युवाको संख्या दैनिक बढ्दै गएको बताइन् । उनका अनुसार आर्थिक वर्ष २०७९/०८० मा २३ हजार २५९ जनाले तथा चालु वर्षको पुष मसान्तसम्म १० हजार ९९४ जनाले श्रम स्वीकृति लिएका थिए ।
यसरी श्रम स्वीकृति लिएर जानेहरूको मुख्य गन्तव्य मलेसिया, कतार, साउदी अरब, कुबेत, दक्षिण कोरिया, रोमानिया, क्रोएसिया, माल्टा, साइप्रस, मालदिभ्सलगायतका देश हुन् । श्रम स्वीकृति नलिई भिजिट भिसा तथा पर्यटक भिसामा गई त्यतै काम गरेर बस्नेहरुको संख्या पनि अत्यधिक रहेको पन्थले बताइन् । श्रम स्वीकृति नलिई अवैधानिक तरिकाले रोजगारीमा जानेहरूले धेरै दुःख पाउने गरेको र उनीहरूको उद्दार गर्न चुनौती रहेको पन्थले बताइन् ।
वैदेशिक रोजगारीमा जाने धेरै युवतीहरू असुरक्षित तरिकाले भारतीय भूमि हुँदै विदेश पुग्ने गरेको र त्यहाँ पुगेर थ्रेटका काम गर्न बाध्य बनाइने गरेको पनथको भनाइ छ । नेपाली महिलाले घरेलु कामदारका रुपमा काम गर्दा घरेलु हिंसाको सिकार भएको पाइएको उनले बताइन् । वैदेशिक रोजगारीमा जाने महिला काठमाडौंबाहेक अन्यत्रबाट विदेश जान पाइँदैन । तर दलालका प्रलोभनमा परी महिलाहरू चोर बाटो हुँदै वैदेशिक रोजगारीमा जाने गरेका छन् ।
रोजगारीमा जानेहरूले सूचना तथा जानकारी अभावले गर्दा वैदेशिक रोजगारीबारे जानकारी नहुनु, अभिमुखीकरण तालिम नपाउने, बिमा, सम्झौता, लागत, कम्पनी देश मेनपावरका विषयमा ज्ञान नहँदा दुःख पाइरहेकाले यी विषयमा सामीले परामर्श दिँदै आएको पन्थले बताइन् । सामीले सूचनामा पहुँच, सीप विकास तालिम, न्यायमा पहुँच, कानुनी सहजिकरण, मनोसामाजिक परामर्श, वित्तीय साक्षरतालगायतका विषयमा काम गर्दै आएको छ ।
वैदेशिक रोजगारीमा जान चाहनेका लागि परामर्श, गन्तव्य देशका विविध पक्षका बारेमा अभिमुखीकरण, वैदेशिक रोजगारबाट फर्केर गएकालाई वित्तीय साक्षरता परामर्श साथै रोजगारीमा रहेकाका परिवारलाई विभिन्न तालिम दिई स्वरोजगार बनाउने, हिसांमा परेकाको उद्दार एवं कानुनी उपचारका लागि परामर्श एवं सहयोग प्रदान सामी कार्यक्रमले गर्ने गरेको छ । सामीले रूपन्देहीमा हालसम्म १९३१३ जनालाई (महिला ५३५६) अभिमुखीकरण कार्यक्रम तथा ४२२ जनालाई वित्तीय साक्षरता दिएको छ ।