Logo

सिद्धार्थनगर वित्तीय संकटमा

भैरहवा– सिद्धार्थनगर नगरपालिकामा वित्तीय संकट देखिएको छ । संघ र प्रदेशबाट प्राप्त हुने अनुदानहरू समयमा नआउँदा वित्तीय संकट देखिएको हो । आन्तरिक श्रोत पनि निकै न्यून रहेको यो नगरपालिकाले केन्द्र र प्रदेशबाट प्राप्त हुने आयमा निर्भर रही विकास निर्माणका कामलाई अघि बढाइरहेको छ ।

संघ र प्रदेशको बजेट आउँदा स्थानीयतहलाई दिइने समानीकरण र ससर्त अनुदान, विषेश अनुदान, राजस्व बाँडफाँडबाट प्राप्त हुने अनुमानित रकमलाई आधार मानी स्थानीय तहको बजेट बन्ने गर्छ । तर संघ र प्रदेशले छुट्टयाएको रकम कटौती गर्ने, राजस्व बाँडफाँडका रकम ढिला गरी आउने र कम आउनेलगायतका कारणले गर्दा आर्थिक श्रोतका लागि सिद्धार्थनगर परनिर्भर रहेकोले वित्तीय समस्या देखिएको हो ।

सिद्धार्थनगर नगर पालिकाका नगर प्रमुख इश्तियाक अहमद खानले संघ, प्रदेशबाट आउनु पर्ने अनुदानहरू, राजस्व बाँडफाँडका रकमहरू काटिएर आउने, ढिला आउने कारणले विकास निर्माणका काम प्रभावित भएको बताए । संघ, प्रदेश, राजस्व बाँडफाँडबाट यति पैसा आउँछ भन्दै बजेट बनाउने तर, पछि रकम नआउँदा र आए पनि कटौती गरेर आउँदा कामै गर्न अप्ठेरो भएको प्रमुख खानले बताए ।

‘पैसा ढिलो आउँदा र काटिएर आउँदा कतिपय योजनाहरू अघि बढ्न सकेका छैनन् । कतिपय योजना रद्द गरी सो योजनाको रकम रकमान्तर गरी अर्को योजनामा पठाउन बाध्य भएका छौं’, उनले भने । आन्तरिक श्रोत न्यून हुँदा र संघ प्रदेशबाट तोकिएका अनुदानहरू काटिएर आउँदा नगरपालिकाको वित्तीय अवस्थानै सागुरो हुँदै गएको सिद्धार्थनगर नगरपालिकाका लेखा प्रमुख ओमेस गैरेले बताए ।

आन्तरिक श्रोत पनि लक्ष्य अनुसार नउठ्दा कर्मचारीलाई तलब खुवाउन कठिन भएको लेखा अधिकृत गैरेले बताए । चालु वर्षमा संघ र प्रदेशबाट मात्रै आउनुपर्ने ६ करोड ७८ लाखभन्दा बढी रकम आएको छैन । संघीय सरकारबाट समानीकरण अनुदान, ससर्त अनुदान, ससर्त अनुदान, विषेश अनुदान पुँजीगत र समपुरक अनुदान पुँजीगत गरी ४८ करोड १३ लाखमध्ये जेठको २ गतेसम्म जम्मा ४२ करोड ८७ लाख रुपैयाँ प्राप्त भएको र अझै ५ करोड २५ लाख ९८ हजार ८ सय १४ रुपैयाँ बाँकी रहेको लेखा प्रमुख गैरेले बताए ।

त्यसैगरी प्रदेश सरकारबाट समानीकरण अनुदान, ससर्त अनुदान, ससर्त अनुदान पुँजीगत र समपूरक अनुदान पुँजीगत गरी ३ करोड ७३ लाख ८३ हजार आउनु पर्नेमा २ करोड २१ लाख रुपैयाँ मात्र आएको छ । त्यसैगरी विभिन्न शीर्षकमा राजस्व बाँडफाँडमा ६ करोड ८४ लाख रुपैयाँ अझै प्राप्त हुन बाँकी छ । ९ महिनासम्म नआएका र काटिएका रकम अब प्राप्त हुन सक्ने सम्भावना कम रहेको गैरेको भनाइ छ ।

उता आन्तरिक श्रोतबाट पनि १९ करोड ९५ लाख रुपैयाँ लक्ष्य लिएकोमा १० करोड ४८ लाख रुपैयाँ मात्र उठेको बताए । आन्तरिक श्रोतमार्फत ५२.५३ प्रतिशत मात्रै उठेको गैरेले बताए । संघ र प्रदेशको कम रकम, राजस्व बाँडफाँडबाट लक्ष्य अनुसार रकम नआउनु र आन्तरिक श्रोतबाट पनि निकै कम उठ्दा सिद्धार्थनगर अहिले वित्तीय संकटमा परेको हो । सिद्धार्थनगरको चालु आर्थिक वर्षका लागि कुल बजेट १ अर्ब १३ करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्