Logo

जोखिममा परेका श्रमिकको उद्दारका लागि कोष

फाइल तस्बिर ।

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले गैरकानुनी माध्यमबाट वैदेशिक रोजगारीमा गएर जोखिममा परेका श्रमिक उद्दार गर्न छुट्टै कोष स्थापना गर्ने तयारी गरिएको बताएका छन् । शनिबार सुर्खेतमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री अर्यालले यस्तो बताएका हुन् ।

हालको व्यवस्था अनुसार श्रम मन्त्रालयले श्रम स्वीकृति लिएर जाने श्रमिकलाई मात्रै उद्दार गर्दै आएको छ । विदेश जाने श्रमिकले कल्याणकारी कोषमा जम्मा गरेको कोषमार्फत जोखिममा परेका श्रमिकको उद्दार गरिँदै आएको छ । तर, गैरकानुनी रुपमा गएका श्रमिकलाई उद्दार गर्ने कोष भने सरकारसँग छैन । ‘गैरकानुनीमा रुपमा गएका श्रमिक पनि नेपाली नागरिक नै हुन् । उनीहरुको उद्दार गर्नु सरकारको दायित्व हो । त्यसैले छुट्टै कोषको व्यवस्था गर्नका लागि आगामी बजेटमा व्यवस्था गर्न अर्थमन्त्रालयसँग प्रस्ताव गरेका छौं’ उनले भने ।

त्यस्तै, वैदेशिक रोजगारीको नाममा ठगिएमा तुरुन्तै सम्बन्धित निकायमा उजुरी गर्न श्रममन्त्री अर्यालले आग्रह गरेका छन् । ‘वैदेशिक रोजगारीको नाममा ठगिएमा वैदेशिक रोजगार विभागमा तुरुन्तै उजुरी दिनुहोस् । त्यो सम्भव भएन भने पनि हाम्रो सचिवालयमा ठगी गरेको संस्था वा व्यक्तिको विवरण टिपाउनुहोस्’ उनले भने । ठगी गर्ने व्यक्ति वा संस्थालाई निर्मम भएर कारवाही गरिने जनाए ।

छलफलमा मन्त्री अर्यालले मन्त्रालयले अगामी दिनमा श्रमिकलाई अनिवार्य रुपमा सीप तालिमको व्यवस्था गरिने, रोजगार बैंक स्थापना गरिने, भारतमा जाने श्रमिकको तथ्यांक संकलन गरिने जानकारी दिए । श्रममन्त्री अर्याल राजनीतिमा प्रवेश गर्नुअघि नै कर्णालीको जनजीवनसँग नजिक छन् । उनकै नेतृत्वमा कालीकोटमा २५ बेड क्षमताको अस्पताल निर्माण गरिएको थियो । जसलाई ५० बेडमा स्तरोन्नती गर्न सकिन्छ । कर्णालीको सम्भावनालाई अवसरमा परिवर्तन गर्नुपर्ने समय आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्