कार्यदलको बैठक जारी, प्रतिनिधि सभा प्रभावित
काठमाडौं- निर्धारित समयमा प्रतिनिधि सभाको बैठक बस्न सकेको छैन । संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक लम्बिँदा प्रतिनिधि सभाको बैठक प्रभावित भएको हो । बैठक ११ बजे बस्ने भनिएको थियो ।
प्रमुख राजनैतिक दलहरु बीच शनिबार सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समिति गठन गर्ने विषयमा सहमति बनेको थियो । त्यससँगै समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक सिंहदरबारमा अहिले जारी छ । कार्यदलको बैठक बसिरहँदा नयाँ बानेश्वरस्थित संसद् भवनमा विपक्षी दलहरूको बैठक बसेको थियो । बैठकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको जवाफ संसद्मा सुन्ने निर्णय गरेको छ ।
कार्यदलले संसदीय समितिको कार्यादेश टुंगो लगाए संसद् कार्यसूचीमा प्रवेश गर्नेछ । कार्यादेश टुंगो लगाउन एमालेका नेता एवं कानुनमन्त्री पदम गिरीको नेतृत्वमा कार्यदल गठन गरिएको छ । समितिमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य छन् ।