Logo

आर्थिक रूपान्तरणमा जैविक विविधता

मे २२ जैविक विविधता दिवस हो । देशको भूगोल, यहाँको प्राकृतिक सौन्दर्य, यहाँ पाइने वनस्पति, जडीबुटी र देशैभरिको जैविक विविधताको अवलोकन र यहाँ भएका असंख्य मठमन्दिर र त्यसबाट हुन सक्ने देशको आर्थिक रूपान्तरणको सम्भावना खोज्दै विगत तीन महिनायतादेखि पंक्तिकार स्वास्थ्य समस्याका बाबजुद पनि देशाटन गर्दै रह्यो ।

काठमाडौँ बौद्धस्थित पानी ट्यांकी युवा समाज, विश्व हिन्दू महासंघ राष्ट्रिय समिति तथा काठमाडौँ महानगर एवं गोकर्णेश्वर नगरका केही र अन्य सयौँ मित्रका साथ समूहबद्ध भई देशको वस्तुस्थिति अवलोकन गर्ने क्रममा प्राप्त तथ्य र अनुभवलाई उजागर गर्ने उद्देश्यले यो आलेख तयार गरिएको छ । साँच्चै भन्नुपर्दा, देशको आर्थिक रूपान्तरण र समृद्धि त देशमा भएका जैविक विविधताबाटै हुन सक्ने समूहको राय छ, यति धेरै सम्भावना छन् हामीसँग ।

अध्ययन र अवलोकनको क्षेत्र
काठमाडौंपूर्वका जिल्लाहरूका मुख्य केही भागः काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, दोलखा, ओखलढुंगा, खोटाङ, दक्षिणी क्षेत्र ललितपुर र मकवानपुर, उत्तरी क्षेत्र रसुवा, नुवाकोट तथा पश्चिमी क्षेत्र गोरखा, चितवन, तनहुँ, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, प्युठान, रोल्पा, अर्घाखाँची आदिका विभिन्न भूभागहरू ।

डढेलो र आगलागी
अधिकांश वनक्षेत्रमा दनादन आगलागी भइरहेको देखिन्थ्यो, डढेलो नियन्त्रणमा स्थानीय सरकारहरू नै अनभिज्ञ भएको भान हुन्थ्यो । चैत र वैशाख वसन्त आइरहँदा प्रकृतिमाथि बढी अन्याय भइरहेको देखियो । गत वर्षको आँकडा दिँदै केन्द्रको विपद् न्यूनीकरण प्राधिकरण भने बाढीबाट १८, पहिरोबाट ५०, चट्याङबाट ४६, सर्पदंशबाट २०, हिमपहिरोबाट १२, वन डढेलोबाट मर्ने नेपालीहरूको तथ्यांक देखाएर आफू चोखिन खोजेको भान हुन्थ्यो । प्राधिकरणका अनुसार गत वर्ष आगलागीबाटै १ सय ६ जनाको अवशान भएको र ५ सय ६ जना घाइते अनि झन्डै ३ अर्बको धनमाल नोक्सान भएको बताइरहेको थियो ।

यो वर्षमात्रै होइन, अतीतदेखिकै मूल समस्या हो हाम्रो यो । अध्ययनकै क्रममा चैतमा मात्रै सामान्य बालकदेखि जानकार सेनाहरूसम्म मरेका, माथि भनिएका जिल्लाहरूमा दर्जन बढी घर जलेका थिए । वन र घरसमेत जल्दा मानव, बस्ती र वनमा रहने जैविक प्राणीहरूको अवस्था के होला, सोचनीय विषय छ । यसै वैशाख महिनाभरिको डढेलोको पीडा यति धेरै रह्यो कि पीडा पोख्ने कलमको मसी सुकिसकेको छ । पंक्ति तयार गर्दा यो हप्तामात्र केही वर्षा भएर विपत्तिको क्रम हल्का भएको हो, नजाने आउने वर्षा ऋतु कस्तो होला, विगतझैं वर्षाले यहाँ ताण्डव नृत्य गर्दा हाम्रो नेतृत्व मूकदर्शक भइरहेको अनुभव छ हामीसँग र मेलम्चीको सर्वत अब त्यही वर्षाका नाममा सिन्धुपाल्चोक नै फर्कने तरखर गरिहाल्ला । जैविक विविधताले भरिपूर्ण हामी र हाम्रो जिन्दगी बेकारजस्तो भइसकेको छ, तैपनि संसारमा अब्बल छौँ भन्दै छौँ हामी ।

मुलुकमा भएको जथाभावी वनफँडानी, अव्यवस्थित बसाइँसराइ, अवैज्ञानिक एवं परम्परागत पद्धतिमा आधारित कृषि प्रणाली, अव्यवस्थित र अवैज्ञानिक सहरीकरण, सहरकेन्द्रित जनघनत्व, बाढी, पहिरो र आगजनीको समस्यादेखि आधुनिक प्रविधिको अभाव, प्रकोपको सम्भावित क्षेत्रको नक्सांकन गर्न नसकिएको, आवासीय उच्च भवनहरू निर्माण गर्दा न्यूनतम आवश्यक मापदण्ड तय हुन नसकेको जस्ता विकराल समस्याहरूले गर्दा हामी र हाम्रो वातावरण हाम्रै लागि महाकाल बनेको छ, हेक्का रहेन कसैलाई पनि ।

वन र वनस्पति
वैशाख–जेठमा फुल्ने लालीगुराँस माघ–फागुनमा फुलेको र हाम्रो समूह त्यसैमा रमाएर आयो, ऐँसेलु, काफल पनि एक महिनाअघि नै फलेकाले स्वाद पनि मीठो लाग्यो, हात भने रक्ताम्य भए टिप्न जाँदा । वसन्तमा पात झर्ने वृक्ष शिशिरतिरै झरेको पाइयो भने अति चिसो मीनपचास भनिने ५० दिनको समयमा तत्तत् क्षेत्रमा पुग्दा पनि २५ दिनको मीनपच्चीस भएको महसुस भयो, खासै जाडो भएन, पुसतिरै पनि । यसअघि मुस्ताङको स्याउमा अधिक तापक्रममा देखिने कीरा देखिन थालेको र स्याउ फल्ने कीर्तिपुरको बागवानीमा सुन्तला बढी फलेको देखिएकै हो ।

तराईमा फल्ने बेल, बयर, जामुन पनि एक महिनाअघि नै फल्न, फुल्न थालेको दृश्य पनि हाम्रो समूहले क्यामेरामा कैद गर्न सफल भयो । देशले यसलाई जलवायु परिवर्तनको नाम दिएको छ, जैविक प्रजातिमाथि थप संकट पैदा भएको र पानीको स्रोत, जीव प्रणाली र मानवीय स्वास्थ्यमा बिलकुल प्रतिकूल असर परेको छ । तराईको ६० मिटर उचाइदेखि हिमाली हिमरेखासम्मको वनस्पति तथा जैविक विविधतामा असर पुगेको, फलस्वरूप फल फुल्ने, फल लाग्ने, पात झर्ने समयमा व्यापक परिवर्तन देखा परेको र होचो ठाउँमा पाइने वनस्पति अब अग्ला ठाउँतिर पाइन थालेको अनुभव भएको छ ।

समग्र भूगोल
जैविक प्रजातिका दृष्टिले विश्वको ०.००३ र एसियाको ०.३ प्रतिशत भूभाग नेपालले ओगटेको छ । तराईको समथर क्षेत्र ६० मिटरदेखि सर्वोच्च शिखर सगरमाथा १ सय ९३ माइलसम्म र पूर्वपश्चिम ८ सय ८५ माइल भूभाग रहेको नेपालमा ५ किसिमको भौगोलिक वातावरण पाइने हो र ३५ किसिमको वनक्षेत्र, १३ किसिमको हावापानीले गर्दा पनि जैविक विविधताको प्रचुर सम्भावना छ यहाँ !

पूर्वको ताप्लेजुङदेखि पश्चिमसम्म लमतन्न फैलिएको झन्डै ३ हजार कि.मि. भूभागमा सधैं सेता हिमाल, दक्षिणतिर फैलिएका समथर जमिन, त्यसबीचमा पर्ने पहाड, खोला, थुम्का, उपत्यका, पतझर र कोणधारी जंगलले गर्दा मुलुकको शोभा थप रमणीय बनाएको हो, ललितपुरको दुर्गम महाभारतको डाँडामा चढेर त्यहाँका लालीगुराँससँग लडीबुडी गर्‍यौँ हामीले र तराईका समथर जमिन र चारकोसे झाडीलाई हाम्रै क्यामेरामा कैद गर्‍यौँ, हलेसीको शिखरबाट सगरमाथा नै चुम्बन गर्ने हाम्रो धोको कुहिरोको कारण सफल भएन, विदेशी पर्यटकले देखेका भए हामीलाई पनि विदेशी भन्थे होलान् सायद । विश्व मानचित्रमै नेपाल सुन्दर रहेकाले विश्वकै लागि पर्यटकीय गन्तव्य भएको छ देश । तर, तापक्रम वृद्धि हुनाले हिमालमा हिउँको साटो कालापत्थर देखिन थालेको छ, समग्रमा वार्षिक ०.६ प्रतिशतले तापमान वृद्धि हुँदै छ ।

के भन्छ सरकारी निकाय ?
विश्वमा पाइने १० हजार थरी माछामध्ये करिब २ प्रतिशत अर्थात् १ सय ८७ थरी र विश्वमा पाइने १२ हजार ६ सय ५० हर्पेटमध्ये करिब २ प्रतिशत अर्थात् १ सय ९५ थरी नेपालमै पाइन्छ । पुतली, माकुरा प्रजातिका लागि पनि नेपाल अग्रस्थानमा छ । यहाँ रहेका असंख्य खोलानाला, नदी, तलाउ, हरियाली डाँडापाखा, थुम्का, भीर, पहाड, समथर भूभाग, हिमाल, गल्छी, उपत्यका आदिका कारण विविध वातावरणीय प्रणालीका बहुसंख्यक जीवजन्तुको संगमस्थल भन्दा हुन्छ नेपाललाई ! त्यति मात्रै होइन, विश्वकै दुर्लभ एकसिंगे गैंडा, लोपोन्मुख अवस्थाका पाटेबाघ, शुद्ध अर्ना, हिमचितुवादेखि हाब्रेसम्मका जीवजन्तुहरू पनि यहीं छन् । विश्वमै दुर्लभ चरा, माछा, सर्प र मुसाहरू पनि यहीँ पाइन्छन् ।

त्यस्तै कालीगण्डकीको सेरोफेरोमा पाइने सबै खाले वनस्पति र कालीगण्डकीदेखि दार्चुलासम्मको हिमालय क्षेत्रमा युरोपियन हावापानी एवं वनस्पति पाइने हुनाले पनि हाम्रो मुलुक वनस्पति विकासमा मात्रै होइन, पर्यटकीय विकासमा पनि ठूलो महत्व राख्छ । विश्वमा फूल फुल्ने प्रजातिका झन्डै ६ हजार र फूल नफुल्ने झन्डै ४ हजार प्रजातिका वनस्पति छन् । वनस्पति विभागका अनुसार प्राकृतिक प्रणालीका ३५ किसिमको वन हामीकहाँ नै छ । विभागका अनुसार २ सय ५० प्रजातिका मौलिक वनस्पति नेपालमै पाइन्छ । त्यस्तै ५ सय ७१ थरीका औषधिजन्य गुण भएका वनस्पति पनि यहीं छन् ।

विश्व वनस्पति भण्डारको रूपमा रहेको नेपालको जैविक विविधतामा आँच आउनु भनेको सबैका लागि कष्टपूर्ण स्थिति पैदा हुनु हो । प्रजाति सम्भाव्यताका दृष्टिले विश्वमै पच्चीसौँ स्थानमा र महाद्वीपीय दृष्टिले एघारौँ स्थानमा पर्ने नेपाल आफैंमा समृद्ध हुनुपर्ने हो । बढी वर्षा हुने स्थल पोखराको लुम्ले र कम वर्षा हुने स्थल मनाङ, मुस्ताङ र डोल्पा यहींं पर्छ । सबैभन्दा अग्लो १५ मिटरसम्मको गुराँसको बोट यहीँ पाइन्छ । जुन विश्वमा पाइने ८ सय ५० थरीका गुराँसमध्ये सबैभन्दा अग्लो हो । यति महत्व हुँदाहुँदै पनि हामीले अचम्म देख्यौँ, देशैभरि कुदिरहेका वडा अध्यक्षका डोजरहरू जसले वन कोतर्दै थिए, पछिल्लोपल्ट कुलेखानी जलाशय अवलोकनपछि मकवानपुरको थाहा नपाभित्रका तमाम डाँडापाखामा डोजरहरूले पाखो कोपर्दै ढुंगा–माटो खसाल्दै थिए र चित्लाङ भीमफेदीको बाटो चन्द्रागिरी, थानकोट झर्दै गर्दा हामी सबैको मन भक्कानियो, खनेको, भत्काएको दृश्यबाहेक केही थिएन, अब वर्षा लाग्दै छ, पहिरोको जोखिम कति होला ?

गाउँ अब सहर बन्दै छ, बस्ने युवाजति खाडी पस्तै छन्, यहाँ रहेकाले दोहोरो नागरिकता पासपोर्ट र अनेकानेक जालझेल गर्दै छन्, देशलाई भारी ऋण र व्यापारघाटा बोकाउँदै छन् र सार्वजनिक सडकमा दुई मिनेट अवरोध गरे सामान्य नागरिकलाई केस चल्छ, तर सरकारी ढुकटीमा तर मार्नेहरू बोनस खाएर बानेश्वरको हलमा अवरोध गर्दै छन्, राजा–महाराजाहरूका लागि आएको यहाँको लोकतन्त्रको संविधान बनोट नै त्यस्तै छ, जसले देशको हितभन्दा व्यक्तिहित, आफन्तको, परिवारको हित गर्छ र राजनीतिकर्मीहरू सबैलाई छुट दिने गर्छ, सबै मिलेर सत्तामा पुग्छन्, आलोपालो को–कसलाई बढी वा कम टिकाउने मात्रको खेल खेलि नै रहेका हुन्छन् ।

र अन्त्यमा
नारायणघाटदेखि बुटवलसम्मको सडक नाजुक देखियो, त्यहाँ गणतन्त्र, लोकतन्त्र र संघीयता गुडेर होइन उडेर जाने गरेकाले त्यहाँको दृश्यावलोकन नभएको त्यहीँकै भुक्तभोगीको आवाज सुनियो, खोटाङ प्रवेश गर्दै गर्दा डोजरहरूको ताँती, ललितपुर भट्टेडाँडा, भारदेउ, गोटीखेल मात्रै होइन, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट सबै बाटाघाटाहरूमा लोकतन्त्रका डोजरहरू नै कुदिरहेका देखिए र कृषि उब्जनी हुने साना खेतबारी, गराहरूमा पनि डोजर लाग्दै माटो मिलाउँदै गरेका दृश्य आइ नै रहे । आगलागी हुँदा वनमा रहेका पशुपन्छीहरूले पनि सायद देशको परिवेशलाई सराप्दै मृत्युवरण गरे होलान् ।

राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय सन्धि–सम्झौताप्रति मुलुकको प्रतिबद्धता के भयो होला, खोज्ने फुर्सदै भएन कसैलाई । प्राकृतिक वातावरणको संरक्षण र बुद्धिमत्तापूर्ण उपयोगमा जोड दिँदै सहरी प्रदूषणलाई छिट्टै रोकथाम गर्ने र ग्रामीण क्षेत्रका अधिकांश भूभागलाई स्वच्छ, सफा र सुन्दर पार्ने दीर्घकालीन सोच के भयो त ? प्रमुख तत्वहरू— हावा, पानी, माटो तथा ध्वनि प्रदूषणका थप मापदण्ड तयार गरी कार्यान्वयन गर्ने, वातावरणीय स्रोतहरूको संरक्षण गर्ने, नेपाल पक्षधर वातावरण सन्धि–सम्झौतालाई व्यवहारतः कार्यान्वयन गर्ने, क्योटो प्रोटोकलअन्तर्गतको स्वच्छ विकास संयन्त्रबाट लाभ लिन कार्बन व्यापारलाई प्रवद्र्धन गर्ने, काठमाडौं उपत्यका र सहरी क्षेत्रका नदीहरूको सफाइ, विषादीको सुरक्षित विसर्जन, उच्च ध्वनि प्रदूषण हुने संवेदनशील ठाउँको ध्वनि तह मापन, वायु गुणस्तर मापदण्डको अनुगमन, घरभित्रको प्रदूषण नियन्त्रणमा कानुनी व्यवस्था, सवारी साधनबाट हुने प्रदूषण नियन्त्रण मापदण्ड के भयो होला त ?

विश्वले वातावरण बचाउ अभियान सुरु गर्नुपूर्व हजारौँ वर्षपहिलेदेखि नै नेपालको पूर्वीय वैदिक वाङ्मयले हावा, पानी, माटो, शुद्ध हुनुपर्ने अवधारणालाई आत्मसात् गरेको वैदिक भूमिको जगेर्ना गर्न अब अवैदिक मानव संसाधनले सक्ला त ? हामीले अरूको जुठो खाइसक्यौँ, अरूकै लहैलहैमा जानबाहेक हाम्रो विकल्प नै के होला र अब ? संसारको एक नमुना देश स्वच्छ र पवित्र, चोखो रहेको वैदिक देशलाई धर्मनिरपेक्षको बिल्ला भिराइसक्यौँ । सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया, सर्वे भद्राणी पश्यन्तु मा कश्चिद दुःखभाग्भवेत्, द्यौः शान्तिः अन्तरिक्षः शान्तिः, पृथ्वीः शान्ति आपः शान्तिः, औषधयः शान्तिः, वनस्पतयः शान्तिः विश्वेदेवाः शान्तिः भन्ने मूलमन्त्रहरू सिकाउन अब अरू आउलान् त ? हामी र हाम्रा सन्ततिले बिर्सिएपछि ।

प्रतिक्रिया दिनुहोस्