संसदीय छानबिन समिति बनाउने सहमति

काठमाडौं– लामो समयदेखि विवादमा आएको सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउने सहमति सत्तारूढ दल र प्रमुख प्रतिपक्षी दलबीच भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सनिबार बसेको सत्तारूढ दल र कांग्रेस नेताहरू बीचको बैठकले समिति बनाउने निर्णय गरेको हो ।
बैठकमा सहभागी एक नेताका अनुसार कांग्रेसले समिति गठन हुनुपर्नेमा अडान राखेपछि सत्तापक्ष सहमत हुन बाध्य भएको हो ।
उनका अनुसार अब बन्ने समितिको कार्यादेश के हुन्छ भन्नेबारेमा अहिले सहमति जुटेको छैन । यसका लागि फेरि छलफल गर्ने सहमति बनेको छ। यसअघि पनि यस्तै खालको सहमति बनेको थियो । तर पछि गृहमन्त्रीको नाम तोक्न कांग्रेसले दवाव दिए पछि सहमति बन्न सकेको थिएन । अब आइतबार कार्यादेश बनाउँदा छलफल गरेर त्यसलाई अन्तिम रुप दिन दलहरु सहमत भएका छन् । सहमति बने संसद चल्नेछ भने वार्षिक बजेट पनि नियमित तबरले संसदबाटै आउने छ ।
स्रोतका अनुसार बैठकले छानबिन समितिका लागि कार्यादेश तय गर्न कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन गरेको छ।
कार्यदलमा कांग्रेसबाट सहमहामन्त्री जीवन परियार, एमालेबाट प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद शिशिर खनाल सदस्य छन्।
सनिबार भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल, केपी शर्मा ओली , रवि लामिछाने, स्वर्णिम वाग्ले, शेरबहादुर देउवा, कृष्ण सिटौला, गगन थापा र रमेश लेखक थिए।