कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक स्थगित
काठमाडौं- शुक्रबारका लागि तय भएको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि स्थगित भएका छन् । प्रतिनिधिसभा सभाको अर्को बैठक यही जेठ ६ गते बिहान ११ बजेका लागि तय भएको संसद् सचिवालयका महासचिव पद्य प्रसाद पाण्डेयले जानकारी दिए ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना भएको विषयलाई लिएर संसदीय छानबिन समिति गठनको माग गर्दै बैठक अवरोध गर्दै आएको छ । यसअघि शुक्रबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाइए पनि सूचना टाँस गरी दिउँसो २ बजेका लागि तय भएको थियो ।
विशेष कारणले बैठक बस्न नसकेको भन्दै शुक्रबारको बैठक स्थगन गरिएको संसद् सचिवालयले जनाएको छ । यस्तै राष्ट्रियसभाको शुक्रबारको बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदहरु आ–आफ्नो आसनबाट उठेपछि राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले अर्को बैठक आगामी जेठ ६ गते आइतबार दिउँसो १ः१५ बजे बस्ने गरी स्थगित गरेका हुन् ।