Logo

बाह्य क्षेत्रलाई सदुपयोग गर

पछिल्लो समयमा अर्थतन्त्रको बाह्य क्षेत्रमा पर्याप्त सुधार आएको छ । डेढ वर्षअघि समस्यामा रहेको विदेशी विनिमय सञ्चिति अहिले इतिहासमै सबैभन्दा धेरै भएको छ । चालु आवको चैतसम्ममा सञ्चिति १९ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ । नेपाली रुपैयाँमा मात्र नभएर अमेरिकी डलरमा पनि सञ्चिति उस्तै हिसाबले वृद्धि भएको छ । सञ्चितिसँगै रेमिटेन्स आय पनि बढेको छ । यो वर्ष नौ महिनामा १० खर्ब ८२ अर्ब रुपैयाँ रेमिटेन्स आएको छ । यसको वृद्धिदर पनि राम्रो छ ।

दुई वर्षअघि उच्च आयातका कारण समस्या सिर्जना भएकोमा अहिले आयात पनि निरन्तर ओरालो लागेको छ । अहिलेसम्म मुलुकमा ११ खर्ब ६७ अर्ब रुपैयाँबराबरका वस्तु आयात भएका छन् । यो गत वर्षका तुलनामा २.८ प्रतिशतले गिरावट हो । रेमिटेन्स आयको बढोत्तरी र आयातको दर खुम्चिएका कारण विदेशी विनिमय सञ्चिति बढ्दा अन्य सूचकहरूमा पनि यसले सकारात्मक प्रभाव पारेको छ । मुलुकको शोधनान्तर स्थिति दुई वर्षअघि घाटामा रहेकोमा अहिले ३ सय ६५ अर्बले बचतमा पुगेको छ ।

यस्तै चालु खाता घाटामा पनि सुधार आएको छ । अहिले चालु खाता १ खर्ब ७९ अर्ब ४८ करोडले बचतमा पुगेको छ । अघिल्लो वर्ष चालु खाता ६० अर्ब ४३ करोडले घाटामा थियो । महँगी पनि सरकारले लक्ष्य गरेअनुसार नै छ । चैतको महँगीदर ५ प्रतिशतभन्दा तलै छ । पर्यटक आगमन पनि बढिरहेको छ । सरकारले आयात घटेको बेला निर्यात बढाउन सकेको छैन । विगतमा २ खर्ब रुपैयाँको निर्यात व्यापार पुगेकोमा अहिले उल्टै तल झरेको छ । यो ९ महिनामा कुल निर्यात १ सय १३ अर्ब ९५ करोड मात्र पुगेको छ ।

यो गत वर्षको तुलनामा ३.७ प्रतिशतको गिरावट हो । सबैभन्दा बढी निर्यात हुने मुलुक भारततर्फ नै ६.२ प्रतिशतले घटेको छ । चीनतर्फको निर्यात भने २३२ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, जुस, पोलिस्टर धागो, तयारी पोसाकलगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाबिन तेल, ऊनी गलैंचा, चिया, जुटका सामानलगायतका वस्तुको निर्यात घटेको छ । आयात निर्यात दुवैमा गिरावट आएकाले कुल वस्तु व्यापार घाटा १ हजार ५३ अर्ब ४२ करोड बनेको छ ।

निर्यात–आयात अनुपात ९.८ प्रतिशत छ । यो वर्षको वैदेशिक व्यापा हेर्दा सरकारलाई सफल मान्न सकिँदैन । आयातमा कमी आउनुलाई सकारात्मक मानिए पनि निर्यात बढ्न नसक्दा कुल व्यापारघाटा अझै धेरै फराकिलो छ । वैदेशिक व्यापारबाहेक अर्थतन्त्रको बाह्य क्षेत्रका सूचक सकारात्मक बन्दा सरकारले त्यसको सदुपयोग गर्न सकेको छैन । अहिले अर्थतन्त्र सुस्ताएको अवस्थामा छ । डेढ वर्षदेखि सुस्त बनेको अर्थतन्त्रमा त्राण दिने काम हुन सकेको छैन । आयात कमजोर हुँदा पनि अर्थतन्त्रमा समस्या आएको हो ।

यही कारण सरकारको राजस्व पनि कमी भइरहेको छ । विदेशी विनिमय सञ्चिति पर्याप्त भएका बेला आयात बढाउन सरकारले सहजीकरण गर्न सक्छ । तर, त्यो गरिएको छैन । अर्को मुख्य विषय लगानीको पाटो कमजोर छ । यसले अर्थतन्त्र उस्कन सकेको छैन । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७.२ प्रतिशतले बढ्दा निजी क्षेत्रमा ४.६ प्रतिशतले मात्र कर्जा वृद्धि भएको छ । चैतसम्ममा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २२२ अर्ब २१ करोड मात्र भएको छ ।

आन्तरिक लगानी बढाउन सके अहिलेको समस्या हल गर्न ठूलो सहयोग पुग्छ । सरकारले निजी क्षेत्रलाई कर्जा लिएर थप उत्पादन गर्न मनोबल बढाउने काम गर्नुपर्छ । यसो भए रोजगारी सिर्जना हुने, सर्वसाधारणको आय बढ्ने, आन्तरिक मागमा वृद्धि हुने र सरकारले पनि थप राजस्व पाउने हुन्छ । अहिले बैंकहरूसँग करिब ७ खर्ब रुपैयाँ कर्जा दिन सक्ने पैसा थुप्रिएको छ । कर्जाको माग कम भएर धेरै रकम निष्क्रिय बसेको सायद यो पहिलो पटक हो ।

सरकार नयाँ आर्थिक वर्षको बजेट निर्माणका क्रममा छ । आगामी बजेटले यी सबै समस्या चिर्ने गरी नीति तथा कार्यक्रम बनाउन सक्नुपर्छ । अर्थतन्त्रको आन्तरिक पाटोलाई चलायमान गर्ने गरी नीतिगत व्यवस्था हुन नसके आगामी वर्ष पनि अहिलेको भन्दा भिन्न अवस्था हुनेछैन । त्यसैले मजबुत बनेको अर्थतन्त्रको बाह्य क्षेत्रलाई प्रयोग गर्ने गरी आगामी बजेटले कार्यदिशा लिनुपर्छ । तब मात्र समस्या सल्टिनेछ ।

प्रतिक्रिया दिनुहोस्