Logo

रिक्त बोर्ड अध्यक्षको असर

अस्तव्यस्त सेयर बजार, अलमलमा लगानीकर्ता

काठमाडौं– सेयर बजारको नियामक निकाय धितोपत्र बोर्ड लामो समयदेखि अध्यक्षविहीन हुँदा सेयर बजार अस्तव्यस्त बनेको छ । बोर्डमा नीतिगत काम गर्नका लागि नेतृत्व नहुँदा बजार अस्तव्यस्त मात्र भएको छैन, लगानीकर्ता पनि अलमलमा परेका छन् । लगानीकर्ता र सरकारबीच पुलको काम गर्ने बोर्ड नेतृत्वविहीन हुँदा सरकारलाई भन्नुपर्ने कतिपय कुराहरू भन्न नपाएको लगानीकर्ता बताउँछन् । बोर्डमा राजनीतिक दाउपेचका कारण अध्यक्ष नियुक्ति प्रक्रिया लम्बिँदा लगानीकर्तामा आक्रोश बढेको हो ।

नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल बोर्ड नेतृत्वविहीन हुँदा लगानीकर्ता अलमलमा परेको गुनासो गर्छिन् । ‘लगानीकर्ता र सरकारबीच पुलको काम धितोपत्र बोर्डले गर्नुपर्नेमा अध्यक्ष नियुक्त हुन नसक्दा सुझाव दिने ठाउँ नै छैन,’ उनले भनिन् । बोर्डमा अध्यक्ष नहुँदा नीतिगत काम हुन सकेका छैनन् भने लगानीकर्ताको मनोबल बढाउने काम पनि हुन नसकेको पोखरेलको टिप्पणी छ ।

पछिल्लो समय बजेट निर्माण प्रक्रियातर्फ ध्यान दिँदा सरकारले बोर्डमा अध्यक्ष नियुक्ति प्रक्रियालाई चासो दिएको छैन । यतिमात्र नभएर आफ्नो स्वार्थअनुकूलको व्यक्ति बोर्ड अध्यक्षमा नियुक्त गर्न राजनीतिक दलका शीर्ष नेताहरूबीच रस्साकस्सी नै चलिरहेकाले पनि प्रक्रियामा यो विषय जान सकेको छैन । बोर्ड नेतृत्वविहीन हुँदा पाइपलाइनमा रहेका कतिपय नीतिगत काम हुन सकेको छैन । यस्तै, पाइपलाइनमा भएका प्राथमिक सेयरसमेत निष्कासन हुन सकेको छैन ।

केही समयअघि अर्थमन्त्री वर्षमान पुनले प्राथमिक सेयर निष्कासनको प्रक्रिया नरोक्न निर्देशन दिएपछि बोर्डले नियमित रुपमा निष्कासन गर्ने जनाएको थियो । बोर्डमा आईपीओ निष्कासनका लागि एजेण्डा लगिए पनि पास हुन नसकेको बोर्डका उच्च अधिकारीहरू बताउँछन् । बोर्डमा अध्यक्ष नहुँदा कतिपय निर्णय प्रक्रियाका कामहरू रोकिएका छन् । अर्थ मन्त्रालयका सहसचिवले बोर्डको आकस्मिक नेतृत्व लिए पनि नीतिगत निर्णय लिन उनी अगाडि बढ्न सकेका छैनन् । जोखिम वा विवादित हुने क्षेत्रमा उनले हात नहाल्दा कतिपय नीतिगत काम गर्न नसकिएको बोर्डका अधिकारीहरू बताउँछन् ।

इन्भेष्टर्स फोरम नेपालका उपाध्यक्ष राजन लम्साल बोर्डमा जतिसक्दो छिटो अध्यक्ष नियुक्त हुनुपर्ने जोड दिन्छन् । बजेट तथा मौद्रिक नीति बनाउने समय नजिकिएकाले त्यसका लागि सुझाव दिन पनि बोर्ड अध्यक्ष नहुँदा नसकिएको उनले बताए । उनले भने, ‘बजार सुधारका लागि चाल्नुपर्ने कदमका लागि सुझाव दिन सकिएको छैन । माथिल्ला निकायमा सुझाव लैजानका लागि अध्यक्ष नहुँदा सबै काम रोकिएको छ ।’

सरकारले बोर्डमा अध्यक्ष नियुक्त गर्न नसक्दा सेयर निष्कासन प्रक्रिया करिब ४ महिनादेखि ठप्प छ । प्राथमिक निष्कासन (आईपीओ), थप प्राथमिक निष्कासन (एफपिओ), ऋणपत्र, हकप्रद लगायत धितोपत्रको अनुमति प्रक्रिया रोकिएको छ । अध्यक्ष नहुँदा दैनिक प्रशासनिक कामबाहेक नीतिगत निर्णयहरू हुन सकेका छैनन् । गत पुस २० मा निवर्तमान अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि नयाँ नेतृत्व आउन नसक्दा बोर्डको नियमित कामसमेत प्रभावित भएको हो ।

बोर्ड अध्यक्षका लागि १९ जनाले आवेदन दिएकोमा कृष्णबहादुर कार्की, चिरञ्जिवी चापागाईं, नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ र सन्तोष नारायण श्रेष्ठ गरी पाँच जना सर्टलिष्टमा परेका छन् । उनीहरूको अन्तर्वार्ता तथा कार्ययोजना सुन्ने काम पछाडि धकेलिँदै जाँदा नियुक्तिमा ढिलाइ भइरहेको हो । सुरूमा गत चैत २९ गते अन्तर्वार्ता र प्रस्तुतिकरणका लागि समय निर्धारण गरिए पनि मिति सर्दै गएको छ । अब बजेटको काम सकिएपछि मात्रै बोर्डको अध्यक्ष नियुक्त गर्ने मनस्थितिमा सरकार रहेको जानकारहरू बताउँछन् ।

धितोपत्र निष्कासन प्रक्रिया रोकिँदा करिब ४० कम्पनीको आईपीओ निष्कासन रोकिएको छ । ती कम्पनीका फाइल लामो समयदेखि बोर्डमा थन्किएर बसेका छन् । चालु आवको पुस अन्तिमसम्ममा बोर्डले १० कम्पनीको मात्रै आईपीओ तथा एफपीओ स्वीकृत गरेको छ । गत आवमा ४२ कम्पनीको आईपीओ स्वीकृत भएको थियो । अध्यक्ष नहुँदा कतिपय कम्पनी आईपीओ निष्कासनका लागि आवेदन नै दिन गएका छैनन् ।

साताभरमा २.६७ प्रतिशत बढ्यो नेप्से परिसूचक
पछिल्लो समय निरन्तर घट्दै गएको सेयर बजार यस साता भने केही बढेको छ । अघिल्लो हप्ता ३२.७३ अंक अर्थात् १.६४ प्रतिशतले घटेर १९६६ विन्दुमा बन्द भएको बजार यो साताको सुरुवाती दिनदेखि नै लय समात्ने कोसिसमा थियो । जसअनुसार यस साता बजार ५२.५३ अंक अर्थात् २.६७ प्रतिशत बढेर २०१८ विन्दुमा बन्द भएको छ ।

कारोबार रकमको हिसाबले अघिल्लो हप्ता १४ खर्ब ५० अर्ब रुपैयाँ कारोबार भएकोमा र यो साता १८ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ । रकम र अंक दुवै बढेको हिसाबले बजारमा विस्तारै माहोल बन्न खोजेको देखिएको सेयर बजारका जानकारहरू बताउँछन् । सेयर बजारका प्राविधिक विश्लेषक सुवासचन्द्र ढुंगानाले आरएसआई ५० भन्दा माथि नै रहेकोले यो बढाइमा ‘स्ट्रेन्थ’ ठिकै छ भन्न सकिने बताए । ‘विक्ली पिभोट र मिडल बोलिङ्गर ब्याण्ड माथि नै रहेकोले आगामी हप्ता केही आशावादी हुन सक्छौं,’ उनले भने, ‘यदि बजार २००० भन्दा तल आएमा बजारको यो साइडवेज अझै केही समय लम्बिन सक्छ ।’

यस साता बजारले २०५० विन्दुको अवरोधलाई तोड्न प्रयास गरे पनि सकेन । ‘बजार २०४८ विन्दुसम्म पुगेर माथिल्लो क्षेत्रमा साइडवेजमा बसेकोले अब ४ अर्ब माथि कारोबार रकमले तोड्न सफल भएमा करेक्सन सकियो भनेर मान्न सकिन्छ,’ उनले भने । आगामी हप्ताहरूमा बजार २०० दिनको औषत बिन्दु भन्दा माथि रहँदासम्म छोटो समय बढ्न सक्ने ढुंगानाले बताए । यस साता बजार बढाउनका लागि घट्दो ब्याजदरले भूमिका खेलेको लगानीकर्ताहरू बताउँछन् । साथै आगामी बजेट लगानीकर्तामैत्री आउँछ भन्ने अपेक्षाका कारण पनि बजार बढ्न खोजेको उनीहरूको बुझाइ छ ।

पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष पोखरेल बजेट राम्रो आउँदैछ भन्ने हल्लाका कारण पनि बजारमा सकारात्मक प्रभाव परेको बताउँछिन् । नीति तथा कार्यक्रममा केही नसमेटिए पनि बजेटप्रति भने लगानीकर्ताले अपेक्षा गरेको उनको बुझाइ छ । अर्थमन्त्री वर्षमान पुनले सेयर बजार सुधारका लागि कार्ययोजना माग गरेर अगाडि बढेकाले पनि बजेटमा केही सुधारात्मक नीति आउनेमा लगानीकर्ता ढुक्क भएको पोखरेलले बताइन् ।

यता इन्भेष्टर्स फोरमका उपाध्यक्ष लम्साल सेयर बजार घटेर तल्लो विन्दुमा पुग्दा ब्याजदर घटेर राहत महसुस भएको बताउँछन् । सोही कारण सेयर बजार उकालो लाग्ने प्रयासमा रहेको उनको भनाइ छ । साथै संस्थागत लगानीकर्ताको बचतबाट खासै ब्याज नआउने भएपछि सेयर बजारतर्फ लगानी गर्न थाल्दा सकारात्मक प्रभाव परेको लम्सालले बताए । आगामी आवको बजेटमा एनआरएनएका लागि लगानी खुला गर्ने, लगानी गर्दा निश्चित मापदण्ड बनाइदिनुपर्ने तथा अल्पकालिन र दिर्घकालिन लगानीकर्ताको कर केही घटाइदिनुपर्ने लगायतका व्यवस्था गर्न लगानीकर्ताले अर्थमन्त्रीलाई सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्