Logo

साताको अन्तिम दिन शेयर बजारमा झिनो अंकको सुधार

काठमाडौं- साताको अन्तिम दिन शेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । बिहीबार शेयर बजार मापन गर्ने नेप्से परिसूचक शून्य दशमलव सात नौ अंकले बढेर २ हजार १८ दशमलव सात छ अंकमा पुगेको हो । यसदिन लघुवित्त र अन्य समूहको परिसूचकमा मात्रै हरियाली छाएको छ । लघुवित्त समूहको परिसूचक ३ दशमलव आठ शून्य प्रतिशत र अन्य समूहको परिसूक शून्य दशमलव दुई दुई प्रतिशतले बढेको छ ।

बाँकी सबै समूहको परिसूचक राताम्य देखिएको छन् । विकास बैंक र वित्त समूहको परिसूचक एक प्रतिशत भन्दा धेरैले घट्दा बाँकी समूहको परिसूचक एक प्रतिशत भन्दा कमले घटेका छन् । बिहीबार नेप्से परिसूचकमा झिनो अंकको सुधार आउँदा कारोबार रकम भने अघिल्लो दिनको तुलनामा ५२ करोड ५४ लाख रुपैयाँ भन्दा धेरैले बढेको छ ।

बुधबार ८४ लाख ९० हजार कित्ता शेयर ३ अर्ब ७० करोड ८४ लाख रुपैयाँ बराबरमा किनबेच भएकोमा बिहीबार ८२ लाख ८२ हजार कित्ता शेयर ४ अर्ब २३ करोड ३३ लाख रुपैयाँ बराबरमा किनबेच भएको छ । कारोबार रकमको आधारमा भने सीइडीबी जलविद्युत विकास कम्पनीको सबै भन्दा धेरै ४३ करोड ८० लाख रुपैयाँ बराबरको भएको छ ।

बिहीबार लघुवित्त समूहको परिसूचकमा उछाल आउँदा हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र श्रीजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सर्किट लागेर बढेको छ भने स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड, सीइडीबी जलविद्युत विकास कम्पनी र ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि सर्किट लबेलमा बढेको छ ।

प्रतिक्रिया दिनुहोस्