बिजनेश इन्टरेष्ट ग्रुपको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाडौं– बिजनेश इन्टरेष्ट ग्रुप अफ इण्डष्ट्रिजले कुमारी क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले एक सय रूपैयाँ अंकित दरका ४५ लाख कित्ता साधारण सेयर सर्वसाधारणलाई निष्काशन गर्न कुमारी क्यापिटलसँग सम्झौता गरेको हो ।
सो सम्बन्धी सम्झौतापत्रमा कम्पनीका अध्यक्ष नवराज बुर्लाकोटी तथा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् । कम्पनीले कृषि क्षेत्रको व्यावसायिकता र दिगोपना, उत्पादन प्रवर्द्धन, उत्पादकत्व वृद्धि तथा बजार सुनिश्चितताको लागि काम गरिरहेको जनाएको छ ।
कम्पनीको हाइलाइफ एग्रो एण्ड फुड्स इण्डष्ट्रिज तथा पाँचतारे होटल लेमन ट्रि प्रिमियर बुढानिलकण्ठमा सबैभन्दा ठूलो लगानी रहेको छ । विभिन्न उद्योग, व्यापार, होटल तथा पर्यटनलगायतका क्षेत्रमा व्यापार सञ्चालन र विस्तार गर्न आफ्नो पूर्ण स्वामित्वका विभिन्न सात वटा सहायक कम्पनी स्थापना गरी काम अगाडि बढाएको बताइएको छ ।