Logo

गण्डकी प्रदेशमा बजेटको आकार घट्ने

पोखरा– गण्डकी प्रदेश सरकारको आउँदो वर्षको बजेटको आकार घट्ने भएको छ । संघीय सरकारबाट प्राप्त बजेट सिलिङ घटेका कारण र प्रदेशमा अपेक्षाकृत राजस्व संकलन हुन नसक्दा आउँदो वर्षको बजेटको आकार घट्ने भएको स्रोतले जनाएको छ ।

प्रदेशको चालु आर्थिक वर्षमा ३३ अर्ब ४२ करोड ७२ लाखको बजेट विनियोजन भएको भए पनि आउँदो वर्षका लागि यही अवस्थामा बजेट ल्याउने गरी गृहकार्य भएको आर्थिक मामिलामन्त्री हरिबहादुर चुमानले बताए । असार १ गतेभित्र प्रदेशको बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था भएकाले त्यसलाई मध्यनजर गरी बजेट बनाउने कार्यमा हाल आफूहरू लागेको उनले जनाए । संघीय सरकारबाट पहिलो चरणमा आएको बजेटको सिलिङमा अघिल्ला वर्षको तुलनामा करिब एक अर्ब कम भएको बताइन्छ ।

यस वर्ष ६५ देखि ७० प्रतिशतसम्म बजेट खर्च हुने गरी मन्त्रालयलाई मन्त्री चुमानले निर्देशन दिएका छन् । गण्डकी प्रदेशको वैशाख मसान्तरसम्म करिब ३२ प्रतिशत बजेट खर्च भएको आर्थिम मामिला मन्त्रालयका सचिव बलराम रिजालले बताए । चालुतर्फ ३६.४१ र पुंँजीगततर्फ २९.१९ प्रतिशत बजेट खर्च भएको उनले जनाए । अघिल्लो आर्थिक बर्ष २०७९/०८० मा ३५ अर्ब ९० करोड ९० लाखको बजेट विनियोजन भएको थियो ।

यसैबीच, गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री राजीव गुरुङ (दिपक मनाङे) ले आउँदो आर्थिक वर्षका लागि कुनै योजनाको लागि बजेट नमाग्न आग्रह गरेका छन् । नयाँ बजेट बनाउने तयारीमा जुटिरहँदा मन्त्री गुरुङले यस वर्षको बजेटमा जनताले अपेक्षा गरेका माग सम्बोधन गर्न नसक्ने भन्दै आफ्नो सचिवालयलाई नै सूचना टाँसेर आफूसँग बजेट नभएकोले बजेट माग्न नआउन आग्रह गरेका हुन् ।

संघीय सरकारले बजेटको सिलिङ घटाएर पठाएसँंगै आफ्नो मान्त्रालयको समेत अर्बौं रुपैयाँको बजेट घटेकाले त्यसका लागि आवश्यक बजेट माग गर्दा कुनै सुनुवाइ नभएकाले आफूसँग बजेट माग्न आउनेलाई मुख्यमन्त्री र आर्थिक मामिलामन्त्री समक्ष पठाउन मन्त्री गुरुङले सचिवालयलाई निर्देशन दिए । आउँदो वर्षका लागि अपर्याप्त बजेटको सिलिङ दिएकोले आउँदो आर्थिक वर्षको बजेट माग्न आउनेलाई मुख्यमन्त्री र अर्थमन्त्रीसमक्ष जानका लागि मन्त्रीको सचिवालयले आग्रह गरेको छ ।

अघिल्लो वर्षको तुलनामा केही बजेटको सिलिङ घटेकोमा आज जनताको आवश्यक पर्ने भौतिक पूर्वाधारका विकासका लागि अब मुख्यमन्त्री र अर्थमन्त्रीले बजेट विनियोजन सहितको बजेट व्यवस्था गर्नुपर्ने मन्त्रीको सचिवालयले सूचना टाँस गरी आफ्नो मन्त्रालयमा आएकालाई मुख्यमन्त्री र अर्थमन्त्रीसमक्ष जान आह्वान गरेको छ । मन्त्री गुरुङले आफ्नो मन्त्रालयलाई अघिल्लो वर्षको तुलनामा कम बजेट दिने तयारी भएको जनाए ।

प्रतिक्रिया दिनुहोस्