Logo

बीमा बजार विस्तार गर्न स्थानीय तहसँग समन्वय आवश्यक

वीरगन्ज– बीमा बजार विस्तारको लागि स्थानीय तहसँग समन्वय आवश्यक रहेकोमा जोड दिइएको छ । नेपाल बीमा प्राधिकरणको ५६ औं वार्षिकोत्सवको अवसरमा बीमा प्राधिकरण मधेश प्रदेशले वीरगन्जमा आयोजना गरेको कार्यक्रममा सहभागीहरूले उक्त कुरा बताएका हुन् ।

बीमा प्राधिकरण मधेस प्रदेशकी प्रमुख कुसुम शर्माले बीमा सबै नागरिकसम्म पुर्‍याउनका लागि बीमा कम्पनीहरू र प्राधिकरणले मात्रै सम्भव नरहेकोले स्थानीय तहहरूले दिने सेवामा बीमा अनिवार्य गराउन सके यसको बजार विस्तारमा सहज हुने बताइन् । उनले बीमा कम्पनीहरूले गरिरहेको काम सन्तोषजनक नै रहे पनि ग्राहकहरूले केही समस्या र गुनासोहरू गर्ने गरेकोले त्यसलाई सुधार गर्नुपर्ने आवश्यकता औंल्याइन् ।

उनले भनिन्, ‘बीमा कम्पनीहरूको काम सन्तोषजनक नै देखिएको छ । तर, केही सुधार गर्नुपर्ने पक्षहरू पनि छन् । त्यसमा बीमा प्राधिकरण समन्वय गर्न तयार छ ।’ बीमाको विषय जन–जनमा पुर्‍याउनका लागि सञ्चार माध्यमहरूको महत्वपूर्ण भूमिका रहने भएकोले सञ्चार माध्यमहरूसँग पनि हातेमालो गरेर अगाडि जान प्राधिकरण तयार रहेको उनले बताइन् । मधेस प्रदेशमा बीमाप्रतिको आकर्षण बढाउनका लागि प्राधिकरणले बीमा साक्षरता अभियान निरन्तर चलाई रहेको बताउँदै स्थानीय तहहरूसँगको सहकार्यमा केही कार्यक्रमहरू गरेको उनले जानकारी दिइन् ।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले खराब बीमा र अस्वस्थ प्रतिस्पर्धाले आम नागरिकमा बीमाप्रतिको विश्वसनीयता कायम हुन नसकेको बताए । उनले मधेश प्रदेशका अधिकांश नागरिकले भारतीय जीवन बीमा कम्पनीहरूमा बीमा गरेको अवस्था रहेकोले यसलाई रोक्न प्राधिकरणले आवश्यक नीति निर्माण गर्नुपर्ने सुझाव दिए ।

भौतिक सम्पत्तिको बीमा नेपालमा गर्ने तर जीवन बीमा भारतीय कम्पनीहरूमा गर्ने प्रवृत्ति रहेकोले यसलाई रोक्नका लागि भौतिक सम्पत्तिको बीमा र जीवन बीमा नेपाली कम्पनीमा नै हुनुपर्ने बाध्यकारी प्रावधानहरू राख्न सके नेपाली बीमा बजारको क्षेत्र विस्तार हुने उनको भनाइ थियो ।

नेपाल सर्भेयर संघका मधेस प्रदेश अध्यक्ष सुनिल जोशीले बीमा प्राधिकरणले बीमा सर्भेयरहरूलाई हेर्ने दृष्किोण फरक रहेकोमा प्राधिकरण मधेश प्रदेशले भने बीमा सर्भेयरहरूलाई पनि समेट्ने प्रयास गर्ने काम सराहनीय रहेको बताए । सरकार, बीमा कम्पनी र प्राधिकरणको आपसी विवादले बीमितहरू मारमा परिरहेकोले यसले पनि बीमा बजार फस्टाउन नसकेको सहभागीहरूले बताएका छन् ।

सरकारले बीमा कम्पनीहरूले गरेको कृषि बीमाको भुक्तानी नदिँदा अहिले कृषि बीमा रोकिएको र कृषि बीमा गरेका किसानहरूले पनि अझै दाबी भुक्तानी नपाएको अवस्था रहेकोले सरकार र बीमा कम्पनीबीचको विवादले किसान चेपुवा पर्न नहुने बताए । बीमा कम्पनीका प्रतिनिधिहरूले बीमामा देखिएको विभिन्न समस्याहरू समाधानका लागि बीमा प्राधिकरण मधेश प्रदेशले खेलेको भूमिका सराहनीय रहेको बताउँदै बीमा बजार विस्तारका लागि प्राधिकरणको भूमिका सकारात्मक रहेकोमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्