स्थानीय जातका गाईभैंसीमै निर्भर «

स्थानीय जातका गाईभैंसीमै निर्भर

देशका धेरै जिल्लाका किसान उन्नत जातका गाई भैंसीपालनमा लोभिए पनि पाँचथरमा भने अधिकांस किसान स्थानीय जातकै गाई–भैंसीमा निर्भर छन् । उन्नत जातका गाई–भैंसीले स्थानीयको तुलनामा धेरै दूध दिने भए पनि अधिकांश कृषकका गोठमा स्थानीय जातकै गाई–भैंसी भेटिने गरेका हुन् ।
जिल्ला पशुसेवा कार्यालयका अनुसार अहिले जिल्लामा ९९ हजार २ सय ७४ स्थानीय गाई छन् । तीमध्ये ३१ हजार ५ सय दुहुनो छन् । तर, उन्नत जातका गाई भने ५ हजार ८ सय ७२ मात्र छन् । तीमध्ये २ हजार ८ सय ५४ दुहुनो छन् । कार्यालयका पशुसेवा प्राविधिक निरज भट्टराईका अनुसार उन्नत जातको गाईले प्रत्येक दिन औसतमा ७.११ लिटर दूध दिन्छन् । तर स्थानीय जातका गाईले प्रत्येक दिन औसत १.८७ लिटर मात्र दूध दिन्छन् ।
त्यस्तै उन्नत जातको भैंसीले हरेक दिन औसतमा ५.६ लिटर दूध दिन्छन् । स्थानीय जातको भैंसीले भने हेरक दिन औषत ३.२ लिटर मात्र दूध दिने पशुसेवा प्राविधिक भट्टराईले बताए । यसरी हेर्दा उन्नत जातको गाई तथा भैंसी पालनबाट बढी दूध उत्पादन भई आम्दानी लिन सकिने भए पनि जिल्लाका कृषकले उन्नत जातका गाई–भैंसी भिœयाउन सकेका छैनन् ।
जिल्लामा केही अगुवा दुग्ध उत्पादक कृषक र सहकारी संस्थाले थोरै मात्रामा उन्नत जातका गाई–भैंसी पालन गरिरहेको पाइए पनि अधिकांश कृषकले स्थानीय जातकै गाई–भैंसी पालिरहेका छन् । जिल्लामा उन्नत जातका गाईमा हेलिस्टेन र जर्सी त्यस्तै उन्नत भैंसीमा मुर्रा जातको पालन भइरहेको पशुसेवा कार्यालयले जनाएको छ ।
दुग्ध उत्पादक कृषकमा व्यावसायिक ज्ञान र शीपको अभावले गर्दा जिल्लामा उन्नत जातका गाई–भैंसी पालनमा कमी देखिएको फाल्गुनन्द गाउँपालिका–२, का पशुसेवा प्राविधिक पुनम लिम्बूले बताइन् । कृषकलाई उन्नत जातका पशुपालनमा अग्रसर गराउन चेतनामूलक अभियान सञ्चालन गर्न आवश्यक रहेको लिम्बूको भनाइ छ ।
उन्नत जातका गाई तथा भैंसी जिल्ला बाहिरबाट ल्याउनुपर्ने र त्यो झन्झटिलो भएकाले चाहेर पनि पाल्न नसकिएको कृषक बताउँछन् । जिल्ला बाहिरबाट गाडि मार्फत ल्याउँदा जोखिम मोल्नुपर्ने र निकै झन्झटिलोसमेत हुने भएकाले सोच भएर पनि ल्याउन नसकिरहेको फिदिम नगरपालिका–६ सिवाका कृषक भीमबहादुर तुम्रोकले बताए । उन्नत जातका गाई तथा भैंसी गाउँसम्म ल्याउन सहज वातावरण बने धेरैले पालन गर्ने उनले बताए ।
पशुसेवा कार्यालयको तथ्यांकअनुसार उत्पादित दूधमध्ये धेरै स्थानीयस्तरमै खपत हुने गरेको छ । गत आर्थिक वर्षमा जिल्लामा गाई, भैंसी र चौरीको समेत गरी ३ करोड ७९ लाख ९४ लिटर दूध उत्पादन भएको थियो । तर ४० लाख ३७ हजार ४० लिटर दूध मात्र बजारसम्म पुगेको कार्यालयको तथ्यांकले देखाएको छ ।
जिल्लामा दुग्ध विकास संस्थान (डीडीसी) र ३४ डेरी उद्योग, पाँच दुग्ध बिक्री केन्द्र त्यस्तै २५ सहकारीमार्फत उत्पादित दूध खपत हुँदै आएको छ । तर ठूलो परिणामको दूध भने ग्रामीण स्तरमा खोलिएका साना डेरी र घरेलु रूपमै घ्यू बनाएर कृषकले बिक्री गर्ने गरेका छन् ।

दीपक बोहरा 

प्रतिक्रिया दिनुहोस्