Logo

नीति तथा कार्यक्रम सार्वजनिक गरिएको भोलिपल्ट शेयर बजार गिरावट

काठमाडौं- सरकारको नीति तथा कार्यक्रमलाई शेयर बजारले अविश्वास गरेको छ । सरकारले सम्बोधन गर्ने आशामा पर्ख र हेरको अवस्थामा रहेको शेयर बजारमा नीति तथा कार्यक्रम सार्वजनिक गरिएको भोलिपल्ट गिरावट आएको हो । यो साता शेयर बजार लगातार वृद्धि हुँदै २ हजार २७ दशमलव पाँच एक अंकमा उक्लिएको थियो ।

तर, नीति तथा कार्यक्रम सार्वजनिक गरिएको भोलिपल्ट अर्थात् बुधबार शेयर बजार मापन गर्ने परिसूचक ९ दशमलव पाँच चार अंकले घटेको छ । कारोबार सुरु भएदेखि तीव्र उत्तारचढावबीच घट्दो क्रममा रहेको परिसूचक २ हजार १७ दशमलव नौ सात अंकमा ओर्लिएको छ । बुधबार उत्पदनमूलक, म्युचुअल फण्ड र व्यापार बाहेकका समूहले समग्र परिसूचक ओरालेका हुन् ।

उत्पदनमूलक समूहको परिसूचक १ दशमलव चार शून्य, व्यापार समूहको परिसूचक एक दशमलव एक छ र म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशमलव एक सात प्रतिशतले बढेको छ । बाँकी सबै समूहको परिसूचक एक प्रतिशत भन्दा कमले घट्दा कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा ३८ करोड रुपैयाँ बराबरले घटेको छ ।

दिनभर कुल ३ सय १५ कम्पनीका ८४ लाख ९० हजार कित्ता शेयर ३ अर्ब ७० करोड ८४ लाख रुपैयाँ बराबरमा किनबेच भएको छ । अघिल्लो दिन ९८ लाख ५५ हजार कित्ता शेयर ४ अर्ब ८ करोड ८८ लाख रुपैयाँ बराबरले किनबेच भएको थियो । बुधबार काराेबार रकमको आधारमा पीपुल्स पावर लिमिटेडको सर्वाधिक ११ करोड ८९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

यस्तै, नेपाल फाइनान्सको पनि १० करोड ९४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । बुधबार नेप्से परिसूचकका साथै कारोबार रकममा समेत गिरावट आउँदा पनि उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य भने बढेर सर्किट लागेको छ । यता, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्