Logo

दुई वर्षमा भैरहवाबाट २३९ मात्रै अन्तर्राष्ट्रिय उडान

बुटवल– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको दुई वर्षमा २३९ मात्रै अन्तर्राष्ट्रिय उडान भएको छ । अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरु आकर्षित हुन नसक्दा उडान सीमित बनेको हो । यी उडानबाट १६ हजार ५७६ जना यात्रु भैरहवा झरेका छन् । त्यस्तै २० हजार ३८१ जना भैरहवाबाट उडान भई मुलुक बाहिर गएको विमानस्थलले जनाएको छ ।

२०७९ साल जेठ २ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले कुवेतबाट आएको जजिरा एयरवेजलाई स्वागत गर्दै अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका थिए । उद्घाटनको बेला रुपन्देहीवासी निकै उत्साहित र आशावादी थिए । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले त्यसबेला भैरहवाको मुहार बदलिने भन्दै खुसी व्यक्त गरेका थिए ।

उद्घाटनपछि दिनमा कम्तीमा ३/४ वटा फ्लाइट हुने आशामा रहे पनि व्यवहारमा लागु हुन नसकेको उनले बताए । उद्घाटन लगत्तै केही महिना कुवेतको जजिरा एयरवेजले उडान गरेको थियो । पछि जजिराले उडान नै रोक्यो । जजिरा बाहेक अरु विदेशी कम्पनीका जहाज भैरहवा आउन नमान्दा समस्या देखिएको हो । सुरुवातकै वर्ष हिमालयन एयरलाइन्सले भैरहवा मलेसिया उडान गरेको थियो ।

तर निरन्तरता पाउन सकेन । एक वर्षअघि नेपाल एयरलाइन्सको जहाजले मलेसियाको क्वालालाम्पुरबाट भैरहवा हुँदै काठमाडौँ उडान गरेको थियो । नेपाल एयरलाइन्सको न्यारोबडी जहाज हप्तामा एक पटक मंगलबार बिहान भैरहवा आएर काठमाडौं जाने गर्छ । तर उसको भैरहवाबाट मुलुक बाहिरको उडान भने छैन । सुरुवातमा उडान भरेको जजिराले कुल १३६ वटा उडान र १३६ वटा अवतरण गरेको थियो ।

यो उडानबाट १४ हजार ६८६ जना भैरहवामा अवतरण गरेका थिए । १५ हजार ६५२ जनाले भैरहवाबाट उडान गरे । एक वर्ष भन्दा अघिदेखी भैरहवामा जजिराको उडान छैन । केही समय भैरहवाबाट उडान गरिरहेको हिमालयन एयरलाइन्सले ३६ पटक अवतरण र उडान गरेको छ । जसबाट २०० जना भैरहवा अवतरण गरेका छन् । ४ हजार ६४१ जनाले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गरेका थिए ।

हाल क्वालाम्पुर–भैरहवा उडान गरिरहेको नेपाल एयरलाइन्सको जहाजले भैरहवामा ३९ पटक अवतरण गरेको छ । त्यस्तै ३९ पटक उडान गरेको छ । मलेसियाबाट आएर भैरहवा अवतरण गर्ने निगमको जहाज यहाँबाट काठमाडौं उडान गर्ने गर्दछ । नेपाल एयरलाइन्सको जहाजमार्फत १ हजार ६५१ जना भैरहवा अवतरण गरेका छन् । ४० जना मात्र मुलुक बाहिर जानको लागि भैरहवाबाट उडेका छन् । गत भदौदेखि नेपाल एयरलाइन्सले भैरहवाबाट काठमाडौं ट्रान्जिट हुँदै हङकङ र दिल्ली उडान सुरु गरेको छ ।

तर ट्रान्जिटप्रति यात्रु आकर्षित भएका छैनन् । विभिन्न कम्पनीका विमानले भैरहवामा ३८ पटक चार्टड उडान गरेका छन् । चार्टड उडानबाट ३९ यात्रु अवतरण गरेका छन् । ४८ यात्रुले उडान भरेका छन् । चार्टरअन्तर्गत अन्तर्राष्ट्रिय विमानहरु ल्याण्डिङ र पार्किङको लागि मात्र आउँदा यात्रुको संख्या कम भएको हो । भैरहवामा ल्याण्डिङ र पार्किङ निःशुल्क छ ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक ५० देखि ५५ वटा अन्तर्राष्ट्रिय उडान र त्यतिनै संख्यामा अवतरण हुने गरेको छ । तर भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल अहिले सातामा एउटा एकतर्फी उडानले धानेको छ । यहाँका उद्योगी व्यवसायीले भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको माग गर्दै पटक–पटक आन्दोलन गर्दै आएका छन् । केही महिनाअघि उनीहरुले सडकमा प्रदर्शन र विमानस्थल अगाडि निरन्तर धर्ना दिएका थिए ।

आन्दोलनका क्रममा सरकारले वार्ता गर्न व्यवसायीलाई काठमार्डौ बोलाएको थिए । काठमाडौंमा पर्यटन मन्त्री लगायतसँगको भेटमा अन्तर्राष्ट्रिय उडान हुने प्रतिबद्धता व्यक्त भएको थियो । तर अझै गौतमबुद्ध विमानस्थल चल्न सकेको छैन । यो विमानस्थल निर्माणका लागि मुआब्जासहित ४० अर्ब जति लगानी भएको छ ।

त्यसको दोब्बर निजी क्षेत्रबाट लगानी भएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठले बताए । अन्तर्राष्ट्रिय विमानस्थल बन्ने आशामा रुपन्देही र आसपासमा तारे होटललगायत अन्य सुविधा सम्पन्न होटल र व्यवसाय सञ्चालन भएका थिए । पर्यटन व्यवसायी तथा सिद्धार्थ सञ्जालका प्रथम उपाध्यक्ष सञ्जय बजिमयले सरकारबाट केही पहल हुन्छ कि भनेर बजेट पर्खिरहेको बताए ।

‘अहिले ल्याण्डिङ, पार्किङलगायतमा छुट दिइएको छ । इन्धन र टिकट शुल्कमा पनि छुट भए विमान कम्पनीले आउछौं भनेका छन्,’उनले भने,‘बजेटमा भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुने गरी सम्बोधन भएमा ठीकै भयो । भएन भने बजेटलाई हेरेर थप सशक्त आन्दोलनमा जानुपर्ने अवस्था आउन सक्छ ।’

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले यो वर्ष भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुने आशा व्यक्त गर्दै त्यसको लागि पहल भइरहेको बताए । ‘केही उपायहरु हामीले खोजिरहेका छौँ । आइएलएसको विकल्पबाट खोज्दै छौं । विभिन्न एयरलाइन्सहरुले छुट सुविधाको कुरा गरिरहेका छन् । यात्रुहरुलाई झन्झटिलो प्रक्रिया घटाएर विमानस्थल प्रयोग गर्न आकर्षित गर्नुपर्ने छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्