Logo

यो वर्ष विदेशिने युवा सवा सात लाख पुग्ने अनुमान

काठमाडौं– स्वदेशमा रोजगारी संकुचित भएपछि रोजगारी खोज्दै विदेशिनेको संख्या यो आर्थिक वर्षमा साढे ७ लाख नाघ्ने देखिएको छ । चालु आर्थिक वर्षको वैशाखसम्म वैदेशिक रोजगारीका श्रमस्वीकृति लिने युवाको संख्या ६ लाख ६ हजार २१८ पुगेको वैदेशिक रोजगार विभागका निर्देशक लोकनाथ भुसालले जानकारी दिए ।

गत चैतमा ७० हजार ९३३ जनाले श्रमस्वीकृति लिएकोमा वैशाखमा ६७ हजारले लिएका छन् । पछिल्ला १० महिनामा वैदेशिक रोजगारीमा जान श्रमस्वीकृति लिनेको संख्याका आधारमा मासिक औषत ६० हजार ६२१ युवा वैदेशिक रोजगारीमा गएको देखिन्छ । यो संख्या बिदामा आएर पुनः श्रमस्वीकृति लिनेको समेत हो । गत वर्ष यो अवधिमा वैदेशिक रोजगारीमा जान विभागबाट श्रमस्वीकृति लिनेको संख्या ६ लाख ४० हजार २२७ थियो ।

चालु आवको १० महिनायता दैनिक औषत २ हजार २०७ र मासिक औषत ६० हजार ६२१ युवा खाडी तथा मलेसियालगायत श्रम गन्तव्य जाने गरेका देखिन्छ । आन्तरिक रोजगारीका क्षेत्र संकुचित बन्दै जाँदा विकल्प खोज्दै विदेशिनेको संख्या चालु आवमा समेत उच्च हुने भएको छ । दुई वर्षअघिको सामान्य अवस्थामा नेपालबाट मासिक औषत ४० हजार युवा वैदेशिक रोजगारीमा जाने गरेकोमा अहिले यो संख्या वृद्धि भएको छ ।

गत वर्षको वैशाखसम्म वैधानिक तरिकाले विदेश जानेको संख्या ६ लाख ४० हजार २२७ रहेकोमा चालु आवमा ६ लाख ६ हजार ३१८ पुगेको छ । १० महिनाको तथ्यांक हेर्ने हो भने यो वर्ष रोजगारीका लागि जानेको संख्या ७ लाख २६ हजार नाघ्ने देखिएको छ । विभागको दुई आर्थिक वर्षको १० महिनाको तथ्यांक हेर्दा चालु आवमा दैनिक औषत २१ हजारभन्दा बढी युवाले श्रमस्वीकृति लिएको देखिन्छ । गत वर्षको वैशाखसम्म मासिक औषत ५० हजारले श्रमस्वीकृति लिएका थिए । चालु आवमा यो संख्या ६५ हजार छ ।

चालु आवको साउनमा ६३ हजार, भदौमा ७६ हजार, असोजमा ५६ हजार, कात्तिक र मंसिरमा ६८–६८ हजार, पुसमा ६५ हजार, माघमा ६४ हजार, फागुनमा ६१ हजार, चैतमा ६१ हजार र वैशाखमा ६७ हजारले श्रमस्वीकृति लिएको देखिन्छ । नेपाल र नेपाली युवाको प्रमुख आयस्रोतको रुपमा रहेको वैदेशिक रोजगार विगत दुई वर्षअघि घटेको देखिए पनि अबका दिनमा गति लिने विज्ञको भनाइ छ । अघिल्लो आवबाट नै वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दै गइरहेको देखिन्छ । गत आर्थिक वर्षमा श्रमस्वीकृति लिएर विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि भएर ७ लाख ७० हजार पुगेको थियो ।

सीपबिना वैदेशिक रोजगारीमा जान नपाइने
सरकारले सीपबिना वैदेशिक रोजगारीमा जाने व्यवस्थाको अन्त्य गर्ने घोषणा गरेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् । उनले श्रम बजारमा उपलब्ध जनशक्तिलाई दक्ष बनाउँदै बजारको मागअनुसार उत्पादनशिल रोजगारी प्रवद्र्धन गरिने बताए । रोजगार व्यवस्थापन र सीप विकासका लागि एकीकृत राष्ट्रिय रोजगार ढाँचा कार्यान्वयनमा ल्याइने उनले बताए ।

राष्ट्रपति पौडेलले सञ्चालनमा रहेका व्यावसायिक सीप विकास तालिम केन्द्रलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरुप स्तरोन्नति गरिने पनि उल्लेख गरे । प्रधानमन्त्री रोजगार, युवा स्वरोजगार कोष र सीप विकास तथा रोजगार प्रवद्र्धनलगायत कार्यक्रमलाई एकीकृत रुपमा मर्ज गरी प्रभावकारी रुपमा कार्यान्वयन गरिने उनले बताए । प्रदेशमा निजी क्षेत्रसमेतको सहकार्यमा बहुप्राविधिक शिक्षालय स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । सरकारले बेरोजगारीको पूर्ण अभिलेखसहित रोजगारी खोज्ने सीप विकास तथा रोजगार प्राधिकरण कोष स्थापना गर्ने व्यवस्था मिलाउने उनले बताए । श्रम नीतिलाई थप सक्रिय बनाउँदै विभिन्न देशहरुसँगको श्रमसम्झौता पुनरावलोकन तथा थप मुलुकहरुसँग श्रमसम्झौता गरिने जानकारी उनले दिए ।

श्रम बजारमा उपलब्ध जनशक्तिलाई दक्ष बनाउँदै बजारको मागअनुसार उत्पादनशिल रोजगारी प्रवद्र्धन गर्ने सरकारको नीति छ । रोजगार व्यवस्थापन र सीप विकासका लागि एकीकृत राष्ट्रिय रोजगार ढाँचा कार्यान्वयनमा ल्याइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्