प्रदेश ६ मा वित्तीय पहुँचको कमी

प्रदेश नम्बर ६ मा वित्तीय पहुँच सबैभन्दा कम रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा प्रदेश नम्बर ६ का ७३ स्थानीय तहमध्ये १७ वटामा मात्र बाणिज्य बैंकले सेवा दिएको उल्लेख छ । सार्वजनिक अर्धवार्षिक समीक्षामा अन्य प्रदेशभन्दा प्रदेश ६ मा कमै मात्र वाणिज्य बैंक पुगेको उल्लेख छ ।
संघीय संरचनाअनुसार तय भएका ७५३ स्थानीय तहमध्ये हालसम्म ३५२ तहमा वाणिज्य बैंकको उपस्थिति छ । बाँकी २९२ तहमा वाणिज्य बैंकहरूले शाखा खोल्ने प्रतिबद्धता व्यक्त गरेका छन् भने १०९ तहमा प्रतिबद्धता प्राप्त हुन बाँकी रहेको नेपाल राष्ट बैंकले जनाएको छ ।
लघुवित्त सेवाको पहुँचमा पनि प्रदेश ६ मा कमी देखिएको छ । प्रदेश ६ का हुम्ला, डोल्पा, कालिकोट, मुगु, जाजरकोट र जुम्लामा ‘घ’ वर्गका वित्तीय संस्थाले सदरमुकामबाहेकका स्थानमा शाखा खोलेमा ४० लाख रुपैयाँसम्म निब्र्याजी सापटी प्रदान गर्ने राष्ट्र बैंकको नीति भए पनि ती स्थानीय तहमा वित्तीय संस्थाहरू पनि खुल्न नसकेको जुम्ला चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले बताइन् । “वाणिज्य बैंकहरूले नै राष्ट्र बैंकको नीतिलाई मान्दैनन् भने वित्तीय संस्थाहरूले झन् त्यसलाई अटेर गर्ने गरेका छन्,” उनले भनिन्, “प्रदेश ६ मा वित्तीय पहुँचको विकास नभएसम्म यहाँको विकास हुनै सक्दैन ।”
प्रदेश ६ का स्थानीय तहमा वाणिज्य बैंकहरूको उपस्थिति नहुँदा अझै पनि गाउँपालिका तथा नगरपालिकाका आर्थिक कारोबार गर्न सदरमुकाम नै धाउनु पर्ने बाध्यता रहेको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताए । “यो प्रदेशमा सबैभन्दा बढी विकट भूगोल छ,” उनले भने, “विकट भूगोल भएर पनि प्रायः गाउँपालिका र नगरपालिकामा वाणिज्य बैंकको स्थापना भएका छैनन् ।” उनले आर्थिक कारोबार गर्न सदरमुकाम नै धाउनुपर्ने बाध्यता रहेको बताए ।