कार्यालय खोलेर काम अगाडि बढाउँदै तल्लो सेती जलविद्युत आयोजना
तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाटमा कार्यालय स्थापना गरेर तल्लो सेती जलविद्युत आयोजनाको कामलाई अगाडि बढाउन लागिएको छ । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजना निर्माण गरिरहेको तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको १२६ मेगावाटको तल्लो सेती आयोजनाका लागि कार्यालय स्थापना गरेर काम अगाडि बढाउन लागिएको हो ।
आयोजनाले साराङघाटमा घर भाडामा लिएर वैशाख १ गतेदेखि कार्यालय सञ्चालन गरेको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए । तल्लो सेतीको अडिट सुरुङ निर्माणका लागि हालैमात्र सम्झौता भएको छ । तल्लो सेती जलविद्युत आयोजनाको ३७५ मिटर लामो अनुसन्धनात्मक अडिट सुरुङ निर्माणका लागि आरके इन्जिनियरिङ एण्ड एसोसिएटस्सँग खरिद सम्झौतामा सम्झौता गरिएको छ ।
आयोजनाका लागि भौगर्भिक अवस्था परीक्षणका लागि अनुसन्धनात्मक अडिट सुरुङ निर्माण गर्न लागिएको श्रेष्ठले बताए । अनुसन्धानका लागि निर्माण गरिने उक्त सुरुङपछि अन्य कामका लागि प्रयोगमा आउने उनको भनाइ छ । डेढ वर्षभित्र उक्त सुरुङ निर्माण गरिसक्ने लक्ष्य राखिएको छ । नेपाल सरकारले आयोजनाका लागि तनहुँ जिल्लामा करिब ५७७ र चितवन जिल्लामा करिब ३२ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिइसकेको छ ।
लिमिडेटले उर्जा मन्त्रालयमार्फत् मन्त्रिपरिषद्मा उक्त प्रस्ताव गरेको थियो । सरकारले जग्गा प्राप्तका लागि स्वीकृति प्रदान गरेसँगै आयोजनाका लागि जग्गा अधिग्रहणको काम अगाडि बढाउन सहयोग पुग्ने श्रेष्ठले बताए । तल्लो सेती जलविद्युत आयोजनामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र एसियाली विकास बैंक (एडिबी) ले लगानीका लागि चासो दिएको छ । दुवै दाता यसका लागि सकारात्मक रहेको बताइएको छ ।
उक्त आयोजनाको लागत २५ अर्ब अनुमान गरिएको छ । तनहुँ जलविद्युत आयोजनाको १४० मिटर अग्लो कंक्रिट बाँधबाट प्राप्त हुने सेती नदीको रेगुलेटेड प्रवाह तथा मादी नदीको थप प्रवाहसमेत प्रयोग गर्न तल्लो तटीय क्षेत्रमा तल्लो सेती जलविद्युत आयोजना निर्माण गर्न लागिएको हो । तल्लो सेती जलविद्युत आयोजना निर्माणका लागि विस्तृत अध्ययन सकिएको छ ।
आयोजनाले विज्ञ समूह नियुक्त गरी काम अगाडि बढाएको थियो । परामर्शदाताले पेस गरेको विस्तृत डिजाइन प्रतिवेदन पुनरावलोकनका लागि नियुक्त तीन सदस्यीय अन्तर्राष्ट्रिय विज्ञ समूहले विसं २०७८ असार २३ गते डिजाइन पुनरावलोकन प्रतिवेदन बुझाइसकेको छ । कम्पनीले आयोजनाको विद्युत उत्पादनको सर्वेक्षण अनुमति प्राप्त गरिसकेको छ ।
साथै दातृ निकाय एडिबीबाट प्राप्त करिब ३.५ मिलियन अमेरिकी डलर अनुदान सहयोगबाट आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन तथा बोलपत्रसम्बन्धी काजगात तयार गर्ने परामर्श सेवा खरिदका लागि वाप्कोस भारत/निप्पन कोई जापान जेभीसँग विसं २०७५ चैत २९ गते खरिद सम्झौता भएको थियो । आयोजना अन्तर्गत बन्दीपुर गाउँपालिका–६ र देवघाट गाउँपालिका–३ साराङघाट नजिकै रहेको सेती नदीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिनेछ ।
पानीको प्रवाहलाई देवघाट गाउँपालिका–३ र ४ हुँदै ६.८ किलोमिटर लामो सुरुङमार्फत् सेती नदीको सङ्गमदेखि करिब पाँच सय मिटर तल्लो तटीय क्षेत्रमा पर्ने देवघाटस्थित कालिगण्डकी नदीको दायाँ किनारमा बन्ने अर्ध भूमिगत विद्युतगृहमा खसाली विद्युत उत्पादन गर्ने योजना बनाइएको छ । आयोजनाबाट बन्दीपुर गाउँपालिका–६, व्यास नगरपालिका–१३, १४, देवघाट गाउँपालिका–२, ३ र ४, ऋषिङ गाउँपालिका–१ र ३, आँबुखैरेनी गाउँपालिका–५ र ६, भरतपुर महानगरपालिका–२९ का केही भाग प्रभावित हुनेछ ।
देवघाट गाउँपालिका–४ गाईघाटमा अर्धभूमिगत विद्युतगृहको निर्माण गरी विद्युत उत्पादन गरिने छ । उत्पादित विद्युतलाई तनहुँ जलविद्युत आयोजनाले निर्माण गरेको २२० केभी दमौली–नयाँ भरतपुर प्रसारण लाइनमा जोडी राष्ट्रिय विद्युत प्रणालीमा समाहित गरिने छ । यसका लागि करिब दुई किलोमिटर प्रसारण लाइनको निर्माण गर्नुपर्छ । अर्धजलाशययुक्त तल्लो सेती आयोजनाको करिब १२ किलोमिटर लामो जलाशय माथिल्लो तटीय क्षेत्र अर्थात् बाँधस्थलबाट सुँडेगाउँसम्म विस्तार हुनेछ । आयोजनाबाट वार्षिक रूपमा ५२ करोड युनिट विद्युत उत्पादन हुने जनाइएको छ ।