Logo

यान्त्रिक कार्यालय स्थापनासँगै सडक सास्ती हट्ने आशा

जुम्ला– जुम्लामा हेवी इक्युप्मेन्ट राख्ने यान्त्रिक कार्यालय स्थापना गरिएको छ । जुम्लामा सडक डिभिजन स्थापना भएको एक दशकभन्दा बढी समयपछि यान्त्रिक कार्यालय स्थापना भएको हो । यान्त्रिक कार्यालय हेवी इक्युप्मेन्ट राख्ने तथा सवारी मर्मत गर्ने र विपद्को समयमा सडक अवरुद्ध हुँदा छिटो छरितो खुलाउन काम गर्ने कार्यालय हो ।

बाढीपहिरो आएर सडक अवरुद्ध हुँदा यान्त्रिक कार्यालय भएको खण्डमा अवरुद्ध सडक खुलाउन सहज हुन्छ । जुम्लामा यसअघि कागजी रूपमा मात्र यान्त्रिक कार्यालय थियो । जसका कारण विभिन्न पटक बाढी पहिरोले हप्ताैंसम्म सडक अवरुद्ध भएर नागरिकले सास्ती पाउँदै आएका छन् । यान्त्रिक कार्यालय नहुँदा सडक डिभिजनले चाहेर पनि भनेकै बेला सडक खुलाउन सकेको छैन ।

बर्खामा पानी पर्दा होस् या हिउँदमा हिउँ पर्दा वा अन्य समयमा सुक्खा पहिरो गएर कर्णाली राजमार्ग अवरुद्ध हुने गरेको छ । ०७९ को बेमौसमी वर्षापछि आएको बाढीले कर्णाली राजमार्ग ध्वष्त हुँदा करिब २१ दिन पूर्ण रूपमा बन्द भएको थियो । सबै सरोकारावाले तदारुकता देखाए पनि हेवी इक्युप्मेन्ट नहुँदा सडक सञ्चालनमा ढिलाइ भएर नागरिकले सास्ती पाएका थिए । जुम्लामा सडक डिभिजनसहित यान्त्रिक कार्यालय राख्ने विषयमा सर्वपक्षीय छलपल तथा निर्णय नभएका हैनन् ।

कतै जग्गाको टुंगो नलाग्नु, कतै मुआब्जा माग्नुलगातका कारणले यान्त्रिक कार्यालय स्थापनामा सकस भएको थियो । सडक डिभिजन जुम्लाले विपद्का समयमा सडक खुलाउन हेवी इक्युप्मेन्ट डिभिजन नेपालगन्जसँंग सहकार्य गर्दै सडक खुलाउने काम गर्दै आएको छ । विपद्को समयमा कर्णाली राजमार्ग र नाग्म–गमगडी सडकमा यात्रुले सास्ती पाउने गरेका छन् ।

कर्णालीमा सडकमा नागरिकले पाएको सास्ती र समस्यालाई मध्यनजर गर्दै हेवी इक्युप्मेन्ट तथा जनशक्तिसहित जुम्लामा यान्त्रिक कार्यालय स्थापना गरिएको सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र विष्टले बताए । उनले भने, ‘जुम्लामा यान्त्रिक कार्यालय कागजमा मात्र सीमित थियो । कागजी यान्त्रिक कार्यालयले सडक अवरुद्ध हुँदा समयमै खोल्न कठिन थियो । हेवी इक्युप्मेन्ट डिभिजन कार्यालय नेपालगन्जलाई सहयोग माग्थ्यौ । अब केही हेवी इक्युप्मेन्टसहित यान्त्रिक कार्यालय सञ्चालन हुनेछ । यसले कर्णालीमा विपत्ति परेको बेला सडक अवरुद्ध हुँदा छिटो छरितो सडक सुचारु गर्न मद्दत पुग्ने छ ।’

विभिन्न कारणले सडह अवरुद्ध हुँदा हेवी मेसिन अभावका करण यात्रुले खेप्नुपर्ने सास्ती अब हट्ने आशा गरिएको छ । यान्त्रिक कार्यालय स्थापना कार्यक्रममा चन्दननाथ नगरपालिका मेयर राजुसिंह कठायत, प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेलगायत अन्य सरोकारवालाको सहभागिता थियो भने जुम्लामा यान्त्रिक कार्यालय स्थापना तथा अनुगमन निरिक्षणका लागि सडक विभाग, हेवी इक्युप्मेन्ट डिभिजन नेपालगन्ज, संघीय सडक सुपरिवेक्षण कार्यालयका प्रतिनिधिसमेत जुम्ला पुगेका छन् ।

मेयर राजु सिंह कठायतले भौगोलिक रूपमा विकट कर्णालीमा बर्खाको समयमा बाढी पहिरो तथा अघिपछि सुक्खा पहिरोले सडक अवरुद्ध भइरहने भएकाले यान्त्रिक कार्यालय स्थापनापछि सहज हुने बताए । अब सडक अवरुद्ध हुँदा सास्ती खेप्नु नपर्ने र छिटै सडक सुचारु हुनेमा विश्वास व्यक्त गरे ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले कर्णालीको लाइफलाइन मानिएका कर्णाली राजमार्ग र नाग्म–गमगडी सडकलगायत अन्य सडक अवरुद्ध हुँदा तत्काल सडक खुलाई यात्रालाई सुचारु गर्न सहज हुने उल्लेख गरे । जुम्लामा सडक डिभिजन कार्यालय २०७१ सालमा स्थापना भएको हो । जुम्लासहित मुगु र कालिकोट सडक डिभिजन जुम्लाको कार्यक्षेत्र हो ।

प्रतिक्रिया दिनुहोस्