Logo

बड्डीचौर–खम्बागाडे सडक

भाका सकिन दुई महिना बाँकी हुँदा ३० प्रतिशत प्रगति

फाइल तस्बिर ।

वीरेन्द्रनगर (सुर्खेत)– भाका सम्झौता सकिन दुई महिना बाँकी रहँदा पश्चिम सुर्खेतका जनताको भाग्य, भविष्यसँग जोडिएको मदन भण्डारी राजमार्गअन्तर्गत बड्डीचौर–खम्बागाडे सडकखण्डको भौतिक प्रगति ३० प्रतिशतमात्र भएको छ । १३ किलोमिटर सडकलाई स्तरोन्नतिसहित कालोपत्रे गर्न जयदेवी जेभी बाँकेले २०७९ साउनबाट काम सुरु गरेको थियो ।

४२ करोड ४७ लाख रुपैयाँ लागत रहेको उक्त खण्डको काम २०८१ असार २४ मा सक्ने सम्झौतामा उल्लेख छ । निर्माण व्यवसायीले ३० प्रतिशत काम गरेर पाँच करोड ९२ लाख रुपैयाँ खर्च भएको आयोजनाले जनाएको छ । संघीय सरकारले मदन भण्डारी राजमार्ग नामकरण गरी स्तरोन्नतिको काम जारी राखे पनि निर्माण कार्य ढिलाइ भएको भन्दै कर्णाली प्रदेश सरकार, भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास निर्देशनालयले बड्डीचौर–खम्बागाडेसम्मको सडकखण्ड कालोपत्रेको काम सुरु गरेको थियो ।

केन्द्रले आवश्यक बजेट विनियोजन नगरिदिँदा सोही क्षेत्रका प्रदेश सभा सदस्य विन्दमान विष्टले अर्थमन्त्री भएका बेला प्रदेश सरकारबाटै बजेटको बन्दोबस्त मिलाइदिएका थिए । हरेक वर्ष घाम लाग्दा धुलाम्य र पानी पर्दा हिलाम्य हुने उक्त सडकले नागरिकलाई सास्ती दिने गरेको छ । निर्माणको काममा ढिलाइ भइरहेको भन्दै ठेकेदार कम्पनीको चर्को आलोचना हुने गरेको छ । निर्माण कम्पनी जयदेवी जेभी बाँकेका प्रतिनिधि सन्देश शाही सरकारी प्रक्रिया र ढिलासुस्तीका कारण नै काममा ढिलाइ भएको बताउँछन् ।

अहिलेसम्म रुख कटानको अनुमति पाइएको छैन । १३ किलोमिटरमध्ये १२ किलोमिटरभित्रका करिब आठ सयभन्दा बढी रुख कटान गर्नुपर्ने उनको भनाइ छ । रुख कटानको अनुमतिका लागि संघीय मन्त्रिपरिषद् बैठकले निर्णय गर्नुपर्ने हुन्छ । वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट पास भएर पनि संघीय वन मन्त्रालयमा थन्किएको छ । यो खण्डको धेरैजसो भू–भाग जंगल क्षेत्रमा पर्दछ । ‘साइट क्लियर नै भएन, हरेक ठाउँमा रुख छन्,’ शाहीले भने, ‘रुख नभएको ठाउँमा काम गर्ने हो भने स–सानो सेक्सन हुने भए ।’

अझै पनि तीन किलोमिटर सडक सर्भे गर्न बाँकी रहेको उनले बताए । यस्तै १५० वटा विद्युत पोल हटाउनुपर्ने भए पनि अहिलेसम्म हटाउने काम भएको छैन । विद्युत पोल हटाउनका लागि निर्देशनालयले विद्युत प्राधिकरणलाई करिब २३ लाख रुपैयाँ दिनुपर्ने हुन्छ । यो सबै सरकारी तवरबाट हुनुपर्ने काम नहुँदा समस्या भएको ठेकेदार शाहीको जिकिर छ । नदीजन्य पदार्थको अभाव र बड्डीचौरतर्फ विद्यालयका कारण पनि स्तरोन्नतिको काम रोकिएको छ ।

पूर्वाधार निर्देशनालयबाट कर्मचारी आई समस्या समाधान गर्ने कुरामा तदारुकता नदेखाएको ठेकेदार कम्पनीको आरोप छ । यस्तै खानेपानी लाइन पनि भएकाले त्यहाँ काम गर्न समस्या भएको ठेकेदार शाही बताउँछन् । पूर्वाधार विकास निर्देशनालयका उक्त सडक हेर्ने इन्जिनियर हरि शर्मा धिताल केही दिनअघि मात्रै निर्देशनालयबाट बाहिरिएका छन् । उनका अनुसार विद्युत पोलको विषयमा प्राधिकरण र निर्देशनालयबीच समस्या भएको छ । निर्देशनालयले अहिलेसम्म पोल हटाउनका लागि मात्रै विभिन्न ठाउँको गरी चार करोड रकम दिएको छ ।

तर प्राधिकरणले रिपोर्ट नदिँदा उक्त रकम निर्देशनालयको नाममा बेरुजु देखाएको छ । उक्त प्रतिवेदन दिएपछि प्राधिकरणलाई उक्त सडकखण्डका पोल हटाउन २३ लाख रकम दिने कुरा भएको उनले बताए । साथै काम ढिलाइ हुनुमा ठेकेदार कम्पनीको कमजोरी रहेको उनले बताए । ‘क्लियर भएको ठाउँमा उनहरूले फटाफट काम गर्नुपथ्र्यो, चार किलोमिटरमा केही समस्या छैन । त्यहाँ काम हुन्थ्यो,’ धितालले भने, ‘उनीहरूले पनि तदारुकता देखाएका छैनन् ।’

यद्यपि केही समय विवादका कारण ढिलाइ भएको उनले स्वीकार गरे । उक्त सडकबारे केही दिनअघि मुख्यमन्त्री यामलाल कँडेलले सर्वदलीय बैठक बोलाई काममा ढिलाइ नगर्न निर्देशन दिए । कँडेलले सार्वजनिक जीवनमा प्रभाव राख्ने क्षेत्रमा समस्या देखाएर पन्छिन नमिल्ने बताउँदै समस्याको विषयमा सहयोग गर्ने प्रतिबद्धता जनाए । मुख्यमन्त्री कँडेलले आह्वान गरेको सर्वदलीय बैठकमा वर्षाको समयमा सडक सुचारु गर्नका लागि सहमति भएको छ ।

सडक निर्माणका क्रममा नयाँ कटिङ गर्दा धुलो तथा हिलो हुने हुँदा वर्षामा सोका कारणले यातायातका साधन सञ्चालनमा अवरोध सिर्जना हुने देखिन्छ । त्यसो हुँदा नयाँ कटिङ भएको स्थानमा पानी परेको बेला पनि यातायातका साधन आवातजावत गर्न सकिने गरी आवश्यक व्यवस्थापन गर्न निर्माण व्यवसायी सहमत भएको छ ।

साथै त्यसका लागि आवश्यक पर्ने ग्राभेललगायतका नदीजन्य निर्माण सामग्री नियमानुसार उपलब्ध गराउन आवश्यक पहल गरिने बताइएको छ । यस्तै निर्माण कम्पनीले भोगेका समस्याको विषयमा निर्देशनालय, स्थानीय तहहरूले आपसी समन्वय गरी निर्माणको काम छिटो सञ्चालन गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्