Logo

सहज बन्यो श्रमस्वीकृति

काठमाडौं– विभिन्न प्रकृतिका भिसामा विदेश गएर काम गरिरहेका श्रमिकलाई ‘वैधानिकीकरण श्रमस्वीकृति’ दिइने भएको छ । श्रम मन्त्रालयले वैदेशिक रोजगार व्यवस्थापन सेवा प्रवाह कार्यविधि २०८१ संशोधन गर्दै अन्य प्रकृतिका भिसामा विदेश गएर सोही मुलुकमा रोजगारीको लागि भिसा पाएका श्रमिकलाई यस्तो श्रमस्वीकृति दिने व्यवस्था गरेको हो ।

मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले कुनै भिसामा विदेश गएर काम गरिरहेका युवालाई श्रमस्वीकृति लिन नेपाल आउनुपर्ने झन्झट हटाउन वैधानिकीकरण श्रमस्वीकृति प्रक्रिया सहज बनाइएको बताए । ‘यस्तो श्रमस्वीकृति माग गर्दा श्रमिकले स्वास्थ्य परीक्षण र पूर्वप्रस्थान अभिमुखीकरण तालिमको प्रमाण पेश गर्नुपर्ने छैन,’ उनले कारोबारसँग भने, ‘रोजगारीका लागि भिसा प्राप्त गरी सम्बन्धित मुलुकस्थित नेपाली कूटनीतिक नियोगमा आवेदन दिएका श्रमिकलाई सम्बन्धित नियोगले वैधानिकीकरण श्रमस्वीकृति प्रदान गर्न सक्नेछ ।’

अनलाइन आवेदन पेश गरेमा श्रमस्वीकृति प्रदान गर्न अख्तियारी पाएका मन्त्रालय अन्तर्गतका कार्यालय वा निकायबाट वैधानिकीकरण श्रमस्वीृकति प्रदान गरिनेछ । अफगानिस्तानमा जाने श्रमिकको हकमा भने मन्त्रिपरिषद्को २०७३ असोज २० को निर्णयबमोजिम हुने मन्त्रालयले जनाएको छ । साथै सप्लायर कम्पनीको सिफारिसपत्र कार्यालय वा विभागको इमेलमा आउनु पर्नेछ । तर, सरकारले वैदेशिक रोजगारीमा जान खुला नगरेको मुलक र पेशाको हकमा यो व्यवस्था लागु हुने छैन ।

वैधानिकीकरण श्रमस्वीकृतिका लागि अनलाइन आवेदन दिनुपूर्व अनलाइन प्रणालीमा सम्बन्धित व्यक्तिको फोटो खिचिने वा औंठा छापमध्ये कुनै एक वा दुवै लिइने कार्यविधिमा उल्लेख छ । श्रमस्वीकृति प्रदान गरिने जुन निकाय वा कार्यालयमा कामदारको फोटो खिचिएको र विवरण लिइएको हो, श्रमिकले वैधानिकीकरण श्रमस्वीकृतिको लागि अनलाइन प्रणालीमा सोही निकाय वा कार्यालयमात्र छनोट गरी आवेदन दिन सक्नेछन् ।

यसअघि ‘अन्य प्रकृतिका भिसामा गई वैदेशिक रोजगारीबाट फर्केका कामदारको श्रमस्वीकृति’ शीर्षकमा यस्तो खालको श्रमस्वीकृति प्रदान गरिँदै आएको थियो । तर, यसका लागि श्रमिक नेपाल नै आएको हुनुपर्ने व्यवस्था थियो । साथै श्रमिकले अनिवार्य रुपमा स्वास्थ्य परीक्षण र पूर्वप्रस्थान अभिमुखीकरण तालिम लिएको प्रमाण पेश गर्नुपर्ने व्यवस्था थियो ।

त्यस्तै, नेपालबाट पहिला श्रमस्वीकृति लिई कुनै पनि देशमा वैदेशिक रोजगारीमा गएको व्यक्ति बीचमा अर्को देशमा श्रमस्वीकृति लिई गएकोमा पुनः पहिले श्रमस्वीकृति लिई गएको देशमा भिसा प्राप्त गरी रोजगारीका लागि जान चाहेमा भिसा प्रमाणीकरण गर्नुपर्ने व्यवस्था हटाइएको छ । पहिलाकै मुलुकमा जान चाहेमा सम्बन्धित मुलुकसँगको श्रमसम्झौता र ई–भिसाको आधारमा पुनः श्रमस्वीकृति दिन सकिने व्यवस्था छ । यसअघि भने यस्तो व्यवस्था थिएन ।

त्यस्तै, व्यक्तिगत श्रमस्वीकृतिमा प्रमाणीकरण सुरु गर्ने र निर्णय गर्ने जिम्मा कम्प्युटर अपरेटर, नायब सुब्बा, भाषा अनुवादक, शाखा अधिकृत र अधिकृतलाई दिइएको छ । त्यस्तै, मन्त्रालयले कार्यविधि संशोधन गर्दै पुनः श्रमस्वीकृति माग गर्दा यसअघि श्रमस्वीकृति भएको निस्सा पेश गर्नु नपर्ने व्यवस्था गरेको छ ।

सहज गरिएका व्यवस्था
– पुनः श्रमस्वीकृति माग गर्दा गन्तव्य मुलुकबाट ई–मेलमार्फत मगाउनु नपर्ने
– विभिन्न प्रकृतिका भिसामा विदेश गएर श्रम गरिरहेका श्रमिकले सोही मुलुकमा रोजगारीको भिसा पाएमा वैधानिकीकरण श्रमस्वीकृति प्रदान गरिने
– वैधानिकीकरण श्रमस्वकिृतिका लागि स्वास्थ्य परीक्षण र पूर्वप्रस्थान अभिमुखीकरण तालिम नचाहिने
– अनलाइनमार्फत सम्बन्धित मुलुकको नियोगमा पनि श्रमस्वीकृतिको लागि आवेदन दिन सकिने

प्रतिक्रिया दिनुहोस्