महको हव बन्दै दाङ

पछिल्लो समय दाङ महको हवको रूपमा विकास हुँदै गएको छ । माहुरीपालनका लागि उपयुक्त वातावरण रहेकाले महको हव बन्दै गएको कृषकहरू बताउँछन् । जिल्लामा माहुरीपालनका लागि आवश्यक वातावरण, तोरी खेती, चिउरीको वन, वनमा अन्य विभिन्न प्रकारका फूल फूल्ने भएको माहुरी व्यवसायका लागि उपयुक्त जिल्लामा मानिने गरेको छ । उपयुक्त वातावरणसँगै व्यवसायिक माहुरीपालन गर्ने कृषकको संख्या वृद्धि हुँदै गएको जिल्ला कृषि विकास कार्यालय दाङले जनाएको छ ।
माहुरीपालन गर्ने कृषकको संख्या वृद्धिसँगै यस क्षेत्रमा लगानीसमेत बढेको छ । जिल्लामा कृषकहरू, सरकारी निकाय तथा गैरसहकारी क्षेत्रबाटसमेत ठूलो लगानी भएको छ । सानो लगानीबाट राम्रो आम्दानी गर्ने सकिने भएपछि कृषकहरूको संख्या वृद्धि हुँदै गएको जिल्ला कृषि विकास कार्यालय दाङले जनाएको छ ।
जिल्लामा माहुरीपालनका लागि उपयुक्त वातावरण भएकाले हरेक वर्ष बाहिरी जिल्लाबाट माहुरी चरणका लागि ल्याउने गरिएको छ । जिल्लामा व्यावसायिक माहुरीपालनको शुरुआत आर्थिक वर्ष ०५४÷०५५ बाट सुरु भएको कृषकहरू बताउँछन् । यहाँ मेलीफेरा माहुरीको व्यावसायिक पालन गरिँदै आएको छ । जिल्लामा अहिले १५ हजार गोला माहुरीको घार रहेको नेपाल माहुरी पालन महासंघ दाङले जनाएको छ । त्यस्तै ६ सय ५० जना माहुरीपालन कृषक छन् । दाङमा उत्पादन हुने अधिकांश मह बाहिरी जिल्लामा जाने गरेको छ । आन्तरिक रूपमा भने २० प्रतिशत मात्र खपत हुने गरेको जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण विकास अधिकृत पिताम्बर बस्नेतले जानकारी दिए ।
जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार दाङमा हाल १३ हजार ८ सय १९ माहुरीका गोला छन् । जसमा सेरेना २ हजार ९ सय ६० र १० हजार ८ सय ६० गोला मेली फेराका रहेका छन् । बाली संरक्षण विकास अधिकृत बस्नेतका अनुसार ०७२÷७३ मा दाङमा १२ हजार ७ सय १० गोला माहुरी थिए । जसमा सेरेना २ हजार १ सय ७८ र मेली फेरा १० हजार ५ सय ३२ गोला थिए । जसबाट २ सय ६३.३ मेट्रिक टन मह उत्पादन भएको थियो ।
त्यसैगरी आर्थिक वर्ष ०७३/७४ मा जिल्लामा १३ हजार २९ वटा माहुरीका गोला पुगेका थिए । जसमा सेरेना २ हजार ३ सय ८२ र मेलीफेरा १० हजार ६ सय ४७ वटा गोला थिए । जसबाट १ सय ७८.७६ मेट्रिक टन मह उत्पादन भएको थियो । आर्थिक वर्ष २०७४÷७५ को माघसम्म १३ हजार ८ सय १९ गोला माहुरी रहेको बाली संरक्षण विकास अधिकृत बस्नेतले बताए । जसमा २ हजार ९ सय ६० गोला सेरेना र १० हजार ८ सय ६० गोला मेली फेरा छन् । माघसम्ममा १ सय ९७.४४ मेट्रिक टन उत्पादन भएको उनको भनाइ रहेको छ ।
जिल्लामा मह उत्पादन भए पनि मह खानेको संख्या भने कम रहेको र महको महत्व बुझाउन समस्या भइरहेको माहुरीपालन महासंघ दाङका अध्यक्ष विष्णुप्रसाद श्रेष्ठले बताए । यसरी उत्पादन भएको मह जिल्लामा खपत नभएपछि कृषकले बिक्रीका लागि बाहिरी जिल्लामा पठाउने गरेका छन् । यहाँ उत्पादित मह काठमाडौं, पोखरा, इटहरी, वुटवल, स्याङ्जा, पाल्पा, नेपालगन्जका शहरमा बढी जाने गरेको अध्यक्ष श्रेष्ठको भनाइ छ । “दाङ माहुरीपालनका लागि अन्य जिल्लाभन्दा उत्कृष्ट जिल्लाको रूपमा रहेको छ,” अध्यक्ष श्रेष्ठले भने ।
–अमरराज आचार्य