१३२ केभी प्रसारणलाइन छिटो निर्माण गर्न मुख्यमन्त्रीको चासो

वीरेन्द्रनगर (सुर्खेत)– कोहलपुर–सुर्खेत १३२ केभी विद्युतको निर्माणधिण प्रसारण लाइनमा देखिएको समस्यका बारेमा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आयोजना प्रमुखलगायतसँग छलफल गरेका छन् । आइतबार भएको उक्त छलफलमा मुख्यमन्त्री कँडेलले प्रसारणलाइन निर्माण गर्दा कहाँ कहाँ समस्या देखिएका छन् त्यस्ता खालका समस्या हटाउनका लागि भइरहेका पहलमा विषयमा चासो व्यक्त गरेका हुन् ।
सुर्खेतको सुब्बाकुना, बाँर्केको गाभर र निकुन्ज क्षेत्रभित्र भएका समस्यका विषयमा आयोजना प्रमुख रविकुमार चौधरीले मुख्यमन्त्री कँडेललाई जानकारी गराएका थिए । संघ सरकारको मातहतमा रहेको १३२ केभी प्रसारण लाइनका विषयमा थप समस्य हल गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेत, बाँकेलाई समेत समन्वय गर्न मुख्यमन्त्री कँडेलले अनुरोध गरे । सम्बन्धित पालिकाका प्रमुखलाई समेत तत्काल समस्या हल गर्न सहजिकरण गरिदिन अनुरोध गरेको मुख्यमन्त्री कँडेलले जानकारी दिए ।
अहिले ३२ केभी प्रसारण लाइनको पुरानो लाइनबाट कर्णालीमा विद्युत सेवा सञ्चालनमा रहेको छ । पटकपटक म्याद थपेर १३२ केभी प्रशारण लाइनको काम भइरहेको छ । निकुन्जभित्र रुख कटानदेखि कटान गरिएका रुख बराबरको जमिन निकुन्जलाई उपलब्ध गराउने सम्मका काम भइरहेका छन् । ३२ केभी प्रसारण लाइनलाई विस्थापित गरी कर्णालीमा भरपर्दो विद्युत सेवा दिन कोहलपुर–सुर्खेतमा सुरू गरिएको १३२ केभी प्रसारण लाइनको निर्माण अझै ढिलो भएपछि मुख्यमन्त्रीले चासो देखाएका हुन् ।
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारणलाइन निर्माणको जिम्मा लिएको भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्टले २०७६ असार २२ गते ठेक्का लिई काम सुरू गरेको लामो समयसम्म प्रसारण लाइनको काम पूरा नगर्दा कर्णालीमा विद्युतको समस्या हुँदै आएको छ । सम्झौता भएको मितिले दुई वर्षभित्र निर्माण कम्पनीले विद्युत प्रसारण लाइनको डिजाइन, निर्माण, परीक्षण, वितरण र प्लान्टको खरिदलगायत सम्पूर्ण काम गरिसक्नुपर्ने भए पनि अझै काम सम्पन्न हुनसकेको छैन ।
कम्पनीले विभिन्न कारण देखाउँदै २०७८ भदौदेखि काम सुरू गरेकाले ढिला भएको हो । निर्माण कम्पनीले कतै पनि अवरोध नभए २०८१ को दशैँसम्म काम पूरा हुने बताएको छ । ३२ केभी प्रसारण लाइनलाई विस्थापित गरी कर्णालीमा भरपर्दो विद्युत् सेवा दिन कोहलपुर–सुर्खेतमा सुरू गरिएको १३२ केभी प्रसारण लाइनको निर्माण अझै ढिलो हुने देखिएको छ । ६३ बिघा जमिन खरिद गरेर बर्दिया राष्ट्रिय निकुञ्जलाई दिइसकेकोले अब रुख कटानको काम हुने आयोजनाले बताएको छ ।
रुख कटानवापत जग्गा नै निकुन्जलाई दिनुपर्ने भएपछि ६३ बिघा जग्गा खरिद गरेर निकुञ्जलाई उपलब्ध गराएको हो । लाइन विस्तारका लागि १३ हजार रुख कटान गर्नुपर्नेछ । त्यसमध्ये सुर्खेतमा ६ हजार ८८०, बर्दियामा तीन हजार ३२०, बाँकेमा दुई हजार ९१९ बराबर रूख काट्नुपर्ने देखिन्छ । यो लाइन विस्तार नहुँदा कर्णालीका नागरिकले चर्को मात्रामा अनियमित विद्युतको मार खेपिरहेका छन् ।
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारणलाइन प्रमुख रविकुमार चौधरीले आयोजनाका तर्फबाट हुनुपर्ने सम्पूर्ण काम भइसकेको बताए । ईआईए प्रतिवेदनमा ७०.५४६ भाग वनको क्षेत्र, १५.१३५ खेतीयोग्य जमिन, २.२६५ बाँझो जमिन र ११.०६५ अन्य भाग छ । आयोजना निर्माणका लागि एंगल टावर २६ वटा रहनेछन् भने आयोजनामा कुल टावरको संख्या १४५ वटा रहनेछन् । बाँके, बर्दिया राष्ट्रिय निकुञ्ज भएर सुर्खेत जोड्ने आयोजनाको बीचमा वन तथा निकुञ्ज क्षेत्र भएकाले काममा ढिला हुँदै गएको हो ।
आयोजना निर्माणका लागि एक अर्बभन्दा बढी लागत अनुमान गरिएको यो आयोजनाको अहिले ठेकेदार कम्पनीले ७० करोड रुपैयाँको लागतमा काम गरिरहेको छ । सुर्खेत वीरेन्द्रनगरको धुलियाबिट सबस्टेसन निर्माणको काम पनि चलिरहेको छ भने टावर निर्माण भएको २५ किलोमिटरभन्दा बढी तार तान्ने काम पनि सकिएको आयोजना प्रमुख चौधरीले बताए । १३२ केभी प्रसारणलाइन विस्तार भए विद्युत आपूर्तिमा भइरहेको ८० प्रतिशत समस्या समाधान हुने बताइएको छ ।
उनका अनुसार अहिलेसम्म ७० प्रतिशत काम सम्पन्न भइसकेको छ । यदि रूख कटानको अनुमति पाई काम अघि बढेको खण्डमा २०८१ को दसैंसम्म काम सम्पन्न हुने आयोजना प्रमुख चौधरीको भनाइ थियो । भेरी करिडोरभित्र निर्माण हुन लागेका विभिन्न आयोजनाबाट उत्पादन भएका विद्युतसमेत यहीबाटै मुख्य लाइनमा जडान हुनेछन् ।
नलगाड जलविद्युत आयोजना ४१७, जगदुल्ला जलविद्युत आयोजना एक सय छ, ताक्सुगाड जलविद्युत आयोजना सात मेगावाटलगायत आयोजनाबाट उत्पादन भएको विद्युत भेरी करिडोरमा निर्माण हुने १५० किलोमिटर लामो प्रसारण लाइनमा जोडिने छ । जाजरकोटको नलगाड–७ दानी पिपलमा निर्माण हुन लागेको चार सय केभी प्रसारण लाइनमा नलगाड, जगदुल्ला र ताक्सुगाडको विद्युत ल्याएर जम्मा गरी त्यहाँबाट सुर्खेतको मैनतडामा निर्माण हुने सबस्टेशनमा जोड्ने योजना रहेको छ ।
कर्णालीका अधिकांश जिल्लामा प्रसारण लाइनको काम जारी छ । त्यस्तै सबस्टेसन निर्माणको कामसमेत व्यापक बनाइएको छ । अहिले ३२ केभी प्रसारण लाइनको विद्युतले कर्णालीमा समस्या हुँदै आएको छ । सुर्खेतलाई मात्र लक्ष्य गरेर निर्माण भएको उक्त विद्युत अहिले कर्णालीका सबै जिल्लामा पुर्याउँदा क्षमताले नधानेकाले समस्या भएको हो । त्यस्तै, कर्णालीमा मात्र साना र ठूला गरेर ३२ वटा आयोजना निर्माण गर्न विभिन्न खालका काम भइरहेका छन् ।