मापदण्डविपरीत धमाधम सडक निर्माण
बिर्तामोड– झापामा आर्थिक वर्ष सकिन दुई महिना बाँकी रहँदा बजेट सक्ने उद्देश्यले धमाधम सडक निर्माण हुन थालेका छन् । बजेट सक्ने नियतले काम गर्दा ठेकेदारको लापरबाहीले मापदण्डविपरीत सडक निर्माण हुने स्थानीयले आरोप लगाएका छन् ।
सघन सहरी तथा भवन निर्माण आयोजनाअन्तर्गत भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोडको इलाम स्टेण्डदेखि उत्तर कनकाई बोर्डिङ हुँदै सुब्बा चोक जोड्ने सडकको स्तरोन्नति मापदण्डविपरीत गरिरहेको स्थानीयले आरोप लगाएका हुन् । सडक निर्माण गर्नु पूर्व सडकको दुवैतर्फ सूचना पार्टी राख्नु पर्ने प्रावधान भए पनि सामान्य सूचना पार्टीसमेत नराखी सघन सहरीले सडक स्तरोन्नतिको काम अघि बढाएसँंगै सघन सहरीको कामप्रति आशंका उब्जिएको स्थानीयले बताएका छन् ।
महानन्द चोक पूर्व नेपाली कांग्रेस झापाको पार्टी कार्यालय जाने सडकसँंग जोडिने गरी निर्माण गर्न लागिएको सो सडक खण्डको पहिलो खण्ड आचार्य कन्स्ट्रक्सनले नेपाल टेलिकम उत्तर सुब्बा चौकसम्म र कनकाई निर्माण सेवाले नेपाल टेलिकम दक्षिण राजमार्गसम्म निर्माण गर्ने ठेक्का पाएका छन् । दुई खण्डमा स्तरोन्नति गरिने सडक संघीय सरकारको दुई करोड ८० लाख रुपैयाँको लागतमा तयार गर्न लागिएको हो ।
बिर्तामोड–५ का स्थानीय आशिष गिरिले सो सडक सधैं व्यस्त भइरहने भएकाले सडकको मापदण्डअनुसार बनाउने हो भने ४० फुटको हुनुपर्ने भए पनि सघन सहरीले मापदण्डविपरीत नालासहित ३० फुटको सडक निर्माण सुरु गरेको बताए । बिर्तामोड नगरपालिकाले जारी गरेको सडक मापदण्ड हेर्दा नगर क्षेत्रमा निर्माण गरिने सडक ४० फुटे हुने उल्लेख भए पनि सडक मुस्किलले नालासहित ३० फुटको हुने अझ नाला कटाउने हो भने सडक २४ फुटको हुने भएकाले ४० फुटको सडक बनाइनुपर्ने आफूहरूको माग रहेको उनले बताए ।
अहिले साँघुरो सडकका कारण मुस्किलले दुई वटा गाडी पास हुने बताउँदै उनले अब बन्ने सडक पनि त्यस्तै बनाउने हो भने यो सडक स्तरोन्नति गर्नुको कुनै अर्थ नहुने उनको भनाइ छ । अब बन्ने सडक कम्तीमा ४० फुट अर्थात बिर्तामोड नगरपालिकाले तयार गरेको मापदण्डअनुसार निर्माण गरिनु पर्नेमा उनले जोड दिए ।
सडक निर्माण सुरु गर्नुपूर्व नै सघन सहरीले बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिसंँग संयुक्त बैठक बसेर सो सडकमा पेवर्स लगाउने निर्णय गरेको बताउँदै उनले सघन सहरी तथा भवन निर्माण आयोजनाले नीतिगत भ्रष्टाचारमा सहज बनाउन बिर्तामोड नगरपालिकालाई समेत साक्षी राखेको आरोप लगाए ।
सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख सुदीप पौडेलले सडक स्तरोन्नतिका क्रममा प्रति पेवर्स १० रुपैयाँ कमिसन पाउने भएपछि सो सडक कलोपत्रे गर्नुको सट्टा पेवर्स लगाउन जोड गरेको उनको आरोप छ । सडक निर्माणका विषयमा बिर्तामोड नगरपालिकामा सघन सहरीका प्रमुख पौडेलसहितको उपस्थितिमा संयुक्त बैठकले कालोपत्रेको सट्टा पेवर्स लगाउन निर्णय गरेको नगरप्रमुख पवित्रादेवी महतरा प्रसाईंले बताइन् ।
बिर्तामोडको कृषि थोक हुँदै खानेपानी जोड्ने सडक निर्माण गर्दा ६० देखि ८० एमएमसम्ममका पेवर्स जडान गरी निर्माण गर्ने निर्णय भएको उनले बताइन् । त्यहाँ लगाइने पेवर्स अर्जुनधारा नगरपालिकामा रहेको विल्कन इण्डस्ट्रिजले मात्र तयार गर्ने गरेकाले विल्कन इण्डस्ट्रिज प्रालिले उत्पादन गरेका पेवर्स प्रयोग गर्ने गरी बिर्तामोड नगरले निर्णय गरेको हुनसक्ने स्थानीयको आशंका छ ।
सघन सहरी तथा भवन निर्माण आयोजनाले स्वार्थसहित टेण्डर आह्वान गर्दै ठेक्का लगाएको सो सडक कालोपत्रेको सट्टा केन्द्रीय नीति निर्देशन विपरीत पेवर्स प्रयोग गर्नु आफैंमा शंकास्पद भएको गिरिले बताए । यो सडक कस्तो बन्छ, कहिलेसम्ममा बनिसक्छ, ठेक्का कसले लिएको हो ? जस्ता सामान्य जानकारी समेत हुने सूचना पार्टी नराखी सडक बनाउन सुरु गरिएकाले यसको प्रतिकार गर्ने उनले बताए ।
यसअघि सडक निर्माण गर्दा ४० फुटको हुनुपर्ने माग गर्दै बिर्तामोड–५ का स्थानीयबासी केशवकुमार श्रेष्ठसहित कर्ण मेचे, रोशन गिरि, विजय टुडू, उमानिधि तिवारी, विष्णु भट्टराई, कमल सापकोटा, दीपक बस्नेत, ध्रुव खनाल, ज्ञानेन्द्र भट्टराई, निकेश सुब्बालगायतले हस्ताक्षर गर्दै बिर्तामोड नगरपालिकामा ज्ञापनपत्र बुझाएको बिर्तामोड –५ का स्थानीय केशवकुमार श्रेष्ठले बताए ।
उक्त ज्ञापनपत्रको बोधार्थ जिल्ला अदालत झापासहित जिल्ला प्रशासन कार्यालय झापा र सघन शहरी भवन निर्माण आयोजनालाई समेत बुझाएको भए पनि त्यसको बेवास्ता गर्दै सघन सहरीले मापदण्डविपरीत सडकको स्तरोन्नति गर्ने निर्णय गरेको उनको भनाइ छ । बिर्तामोड नगरपालिका–५ का वडाध्यक्ष रोहित प्रसाईंले सघन सहरी तथा भवन निर्माण आयोजनासंँग महानन्द चोकसम्म जोडिने सडक खण्डअन्तर्गत हाल महानन्द चोकबाट खानेपानीसम्म निर्माण भइसकेको र सोही बराबरको चौडाइ कायम गरी सडक निर्माण गर्न माग गरेका छन् ।
उनले पत्राचार गर्दै सडक निर्माणका विषयमा निर्माणकार्य अगाडि बढाउन सघन सहरी तथा भवन निर्माण आयोजनालाई आग्रह गरेको बताए । कमिशनको लोभमा परेर पौडेलले बिर्तामोड जस्तो संवेदनशील क्षेत्रको सडक निर्माणमा हेल्चेक्र्याइँ गरेको श्रेष्ठको आरोप छ । बिर्तामोड नगरले जारी गरेको मापदण्डभन्दा तल (४० फुट) सडकको स्तरोन्नति गरिए अवरोध गर्ने उनले चेतावनी दिएका छन् ।
यसैबीच सघन सहरीका प्रमुख पौडेलले सडक बिर्तामोड नगरपालिकासँग सहकार्य गर्दै स्तरोन्नति गरिने र सबै प्रक्रिया पूरा गरेर सडकको स्तरोन्नति गर्न लागेको बताए । उनले सडक निर्माणका लागि सहजीकरण बिर्तामोड नगरपालिकाले गरेको बताए । दुई चरणमा निर्माण गरिने यो सडक आर्थिक वर्ष २०८०/०८१ को असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने उनको भनाइ छ ।