Logo

चार वर्षपछि विस्थापितलाई लालपुर्जा

सिन्धुपाल्चोक– २०७७ सालमा आएको बाढीले बाह्रबिसे नगरपालिका–३ की कमलादेवी विकको जमिनमात्रै हैन ओत लगाउने घरसमेत बगायो । परिवारसहित आफ्नो ज्यान त जोगाइन् तर घर र भएको जति जमिन खोलामा मिलेपछि उनी एकै रातमा सुकुम्बासी बन्न पुगिन् ।

सुनकोशी करिडोर छेउको जमिन बगाएदेखि उनी र उनको परिवार विस्थापित भयो । राहत र दुःखले जुटाएको सहयोगले बनेको टहरामा उनको परिवार खुम्चिन बाध्य बन्यो । बर्खामा छानाबाट चुहिने बर्खे झरीको तपतप र हिउँदमा चरम चिसोका कारण झर्ने शीत झेलेकी उनको मुहार झण्डै चार वर्षपछि केही उज्यालिएको छ अहिले । कारण उनलाई नगरपालिकाको पहलमा अहिले सुरक्षित जग्गा प्रदान गरिएको छ ।

उनले अहिले बाह्रबिसे नगरपालिकाको तल्लो भेगमा सुरक्षित स्थानमा जग्गा पाएकी छिन् । उनले जग्गाको लालपुर्जा पाएपछि आफू निकै खुसी भएको सुनाइन् । ‘घर नहुँदा निकै समस्या झेल्यौं, अब छिट्टै बनाउने सोचमा छु,’ उनले भनिन्, ‘हामी सबै विस्थापित धेरै खुशी छाैं, यसले हामीलाई गतिलो टहरो हाल्ने आधार भएको छ ।’ उनले बलियो टहरा भए पनि सुरक्षितसँग बस्ने वर्षाैंदेखिको चाहना रहेको सुनाइन् ।

कमलादेवीजस्तै बाह्रबिसेकै देवबहादुर पाइन वर्षाैंपछि खुलेर हाँसे । विकले जस्तै उनले पनि अहिले लालपुर्जा पाएका छन् । त्यहीबेलाको बर्खे भेलले उनको पनि जमिन र घर लुट्यो । उर्लेको भेलमा हेर्दाहेर्दै जमिन र घर विलय भयो । त्यसबेलादेखि देवबहादुर खुलेर हाँस्न सकेका थिएनन् । अहिले घर बनाउनका लागि जग्गा पाएपछि उनको हाँसो फर्केको हो ।

‘आफ्नो भएको जेथा बग्यो, झण्डै चार वर्ष निकै कष्टसँग बस्यौं,’ उनी भन्छन्, ‘अब घर बनाउन ढिला गर्ने छैन ।’ लालपुर्जा हातमा पाएपछि उनले जग्गा बगाएपछि देखिको आश अहिले भने समाप्त भएको सुनाए । ‘सानो भए पनि न्यानो घर बनाउने सपना छ,’ उनले भने । पाइन र विकझैं बाह्रबिसे नगरपालिकामा २०७७ सालमा आएको बाढी र पहिरोले १४३ परिवार विस्थापित भएका थिए । उनीहरूलाई सरकारले नगद पाँच लाख रुपैयाँ प्रदान गरेको थियो ।

तर, जग्गा अभावमा आवास बनाउन नपाउँदा विस्थापितले कष्ट भोगेका थिए । सुरक्षित बासका लागि भौतारिरहेका थिए । बाह्रबिसे नगरपालिका विपद् न्यूनीकरण शाखाका संयोजक दुर्गाप्रसाद भण्डारीका अनुसार यसअघि पहिलो चरणमा १४ र अहिले २२ जना गरी ३६ परिवारलाई निजी आवासका लागि जग्गाको लालपुर्जा दिइएको हो । ‘विस्तारै अन्यलाई पनि वितरण गर्नेछौं,’ उनले भने, ‘प्राविधिक रूपमा आएका कठिनाइका कारण प्रक्रिया गर्न केही ढिलाइ भएको भने हो ।’

विस्थापितलाई सिन्धुपाल्चोक प्रतिनिधिसभा २ का सांसद तथा पूर्वस्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेत उपप्रमुख मञ्जु तामाङले पीडित परिवारलाई लालपुर्जा वितरण गरेका हुन् । ‘नगरपालिकाभर यसअघिका गरी ७० परिवार अहिले आवास पुनर्निर्माणको चरणमा देखिएका छन्, भने ३६ परिवारले जग्गा पाएका छन्,’ नगरप्रमुख बालकृष्णले भने, ‘हामी जनताको सेवाका लागि खटिरहेकालाई पनि यो कामले ठूलो उत्साह प्राप्त भएको छ ।’

१४३ मध्ये ३६ परिवारलाई लालपुर्जा दिइए पनि बाँकी एक सय सात परिवारको जग्गाका लागि पनि नगरपालिकाले प्रयास गरिरहेको उनले बनाए । विस्थापितको जग्गा खरिदका लागि संघबाट ५५, प्रदेशबाट ३० र स्थानीय तहबाट १५ प्रतिशत बजेट छुट्याइने गरिएको छ । जसमा बाह्रबिसे नगरपालिकाले एक करोड बजेट राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्