Logo

सहकारीलाई मर्यादित बनाउन आवश्यक

बुटवल– सहकारीलाई गतिशील र मर्यादित बनाउन आवश्यक रहेको लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा सहकारी मन्त्री खड्ग बस्नेतले बताएका छन् । नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड (नेफस्कुन)को आयोजना तथा संघीय सरकार सहकारी विभागको साझेदारीमा भएको साकोस जोखिम विश्लेषण कार्यशालामा उनले उक्त कुरा बताएका हुन् ।

सो अवसरमा मन्त्री खड्गाले सहकारीहरुको विश्लेषण गरेर कमी कमजोरी देखिएमा सच्याउन र सुधार गर्न आग्रह गरे । सहकारी राजनीतिक रुपमा विभाजित हुन नहुने भन्दै मन्त्री बस्नेतले साझा चरित्रको हुनुपर्नेमा जोड दिए । मन्त्रालयका सचिव उमेश ढुंगानाले केही सहकारीले समग्र सहकारी क्षेत्रमा विश्वासको संकट आएको बताए । राज्य रूपान्तरणको लागि आर्थिक वृद्धि महत्वपूर्ण पाटो भएको भन्दै सहकारी अर्थतन्त्रको एउटा खम्बा भएको उनको भनाइ छ ।

ढुंगानाले सहकारी अर्थतन्त्रको ३ खम्बामध्ये एउटा खम्बा भएको उल्लेख गरे । लुम्बिनी प्रदेश सरकारअन्तर्गतको सहकारी विभागका रजिष्टार यमबहादुर कुवँरले एउटा व्यक्ति सर्वेसर्वा हुँदा तथा विधि र पद्दती नअपनाउँदा सहकारी जोखिममा पर्ने बताए । उनले नियमसंगत तरिकाले चलाउने र आन्तरिक नियन्त्रण प्रणाली मजबुद बनाएमा सहकारीबाट धेरै फाइदा लिन सकिने बताए ।

नेफस्कुनका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले नियम र सिद्धान्त भित्र रहेर काम गर्दा सहकारीमा समस्या नआउने बताए । प्रदेश बचत संघ लुम्बिनीका अध्यक्ष कृष्ण नेपालले सहकारीमा धेरै प्रकारका जोखिम रहेको भन्दै कागजी प्रक्रिया, तमसुक र साछी प्रक्रियामा ध्यान नपुग्दा सहकारी जोखीममा पर्ने धारणा राखे । रूपन्देही जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बसन्त ढकालले गाउँ र टोलै पिच्छे सहकारी आवश्यक नहुने भन्दै मर्जरको नीति आवश्यक भएको उल्लेख गरे ।

कार्यशालामा सहभागी ३० वटा सहकारी संस्थाले दिएका टुल्सहरु प्रयोग गरेर फर्म भरिएको थियो । सबै फर्म जम्मा भएपछि जोखिमको विश्लेषण गरिने नेफस्कुनका अध्यक्ष ढकालले जानकारी दिए । विश्लेषण गरी त्यसको नतिजा सहकारी विभागमा पेश गर्ने उनको भनाइ छ । नेफस्कुनले ७ वटै प्रदेशमा सहकारीहरुको जोखिम विश्लेषण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्