Logo

सुरुङसँगै अरू काम समयमै गर

सुनकोसी मरिण डाइभर्सन बहुउद्देयीय आयोजनाजस्ता पूर्वाधार निर्माणमा सबैभन्दा जटिल काम मुख्य रूपमा दुईवटा हुन्छन्— सुरुङ र बाँध निर्माण गर्ने । यी दुई मुख्य काममध्ये सुनकोसी मरिण आयोजनाको सुरुङ खन्ने काम सकिएको छ । मुलुकभित्र बन्ने अधिकांश विकासका काम लक्ष्यभन्दा ढिला सकिने परम्पराविपरीत सुरुङ लक्ष्यभन्दा अगावै छेडिएको छ ।

सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको यो आयोजना २०८४ असारमा सक्ने लक्ष्य छ । यो आयोजना २०७७ मा सुरु भएको थियो । तोकिएको समयमध्ये आधाभन्दा बढी बितिसकेको छ । अहिलेसम्म आयोजनाको समग्र प्रगति ३० प्रतिशत हाराहारी मात्र छ । यसले आयोजना निर्धारित समयमै सकिनेमा शंका छ । आयोजनाले सुरुङ खन्ने काम २०७९ असोज २८ बाट सुरु गरेको थियो । १३.३ किलोमिटर लामो सुरुङ २२ महिनाभित्रमा खन्ने लक्ष्य राखिएको थियो ।

सुरुङ निर्माणको ठेक्का चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले लिएको थियो । टिबिएम मेसिनबाट सुरुङ खन्ने काममा यो अनुभवी कम्पनी हो । यसअघि भेरी बबई आयोजनामा पनि यसैले समयभन्दा छिटो सुरुङ खनेको थियो । सुनकोसी–मरिणमा सुरुङ खन्दा धेरै पटक अवरोध आएको थियो । मलुकमा निर्माण हुने आयोजनाहरूमा स्थानीय बासिन्दा र राजनीतिक दलहरूले अवरोध गर्ने हाम्रो प्रचलन बनेको छ । तर, यहाँको आफ्नै थियो । कहिले सुक्खा पहिरो, कहिले लेदो खसेर मेसिन नै पुरिएका घटना पनि भएका थिए ।

यो आयोजनाअन्तर्गत सुनकोसी नदीको पानी बाँध बाँधेर सुरुङबाट मरिणखोलामा खसाली ३१.०७ मेगावाट विद्युत् उत्पादन गरिनेछ । विद्युत उत्पादनपछि तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य छ । त्यो पनि बाह्रै महिना । सुनकोसी नदीको पानी सुरुङमा हाल्न ३० मिटर उचाइ र १ सय ५८ मिटर लम्बाइको बाँध निर्माण गर्ने योजना छ । तराईको उर्वर भूमिमा सिँचाइ पुगेपछि स्वभावैले ती जिल्लाको उत्पादकत्व बढ्नेछ ।

मुलुकभित्र बन्ने अधिकांश विकासका काम लक्ष्यभन्दा ढिला सकिने परम्पराविपरीत सुरुङ लक्ष्यभन्दा अगावै छेडिएको छ ।

नदीमा बाँध निर्माण हुँदा बन्ने जलाशयले पर्यटन व्यवसायसमेत फस्टाउने अपेक्षा छ । आयोजना पूरा भएपछि त्यस क्षेत्रको मात्र होइन, मुलुककै सामाजिक–आर्थिक विकासमा योगदान पुग्नेछ । यो आयोजनाको कुल लागत ४९ अर्ब ४२ करोड हो । अहिलेसम्म करिब १२ अर्ब रुपैयाँ मात्र खर्च भएको छ । समयमा आयोजना नसके लगानी थप हुँदै जानेछ । खासमा पूर्वाधार निर्माणमा हामीले आधुनिक उपकरण प्रयोग गर्न सुरु गरेकै छैनौं । विकसित मुलुकहरूमा सुरुङ खन्नका लागि आधुनिक उपकरण प्रयोगमा आएका छन् ।

अहिले हामीले प्रयोगमा ल्याएको टिबिएम मेसिन उनीहरूका लागि पुरानो भइसकेको छ । चीन, जापान र अमेरिकाजस्ता मुलुकले अत्याधुनिक उपकरणबाट सयौं किलोमिटर सुरुङ सजिलै बनाइरहेका छन् । हामी भने २०–३० किलोमिटर सुरुङ खन्न वर्षौं लगाउँछौं । त्यो पनि ज्यादै कठिन कार्य हुँदै आएको छ । मुलुकभित्र बन्ने जलविद्युत कम्पनीहरूले सुरुङ निर्माण सम्पन्न हुनुलाई ठूलो काम सकिएको अर्थमा लिने गरेका छन् । सुरुङ छिचोलिएका समाचारले पनि ठूलो प्राथमिकता पाउँछन् ।

आधुनिक उपकरण प्रयोग नगर्ने हाम्रो जस्तो मुलुकका लागि यो कठिन कार्य भएकै कारणले हो । यस अर्थमा सुनकोसी मरिण आयोजनाले पनि एउटा ठूलो काम सम्पन्न गरेको छ । सुरुङलाई पानी पठाउने बनाउन अझै एकाध वर्ष समय लाग्ने भनिएको छ । यो अवधिभित्र सिँचाइका लागि मुख्य बाँध बनाउने, नहर बनाउने र विद्युत उत्पादनका लागि अरू कामले तीव्रता पाउनुपर्छ । यो आयोजना पूरै सम्पन्न हुन अझै चार वर्षको समय दिइएको छ ।

यो समयभित्र सबै काम पूरा गरेर आयोजना सञ्चालनमा आयो भने मात्र अहिले समयमै सुरुङ निर्माण गरेको अर्थ लाग्नेछ । नत्र यसको औचित्य रहनेछैन । यस्तै प्रकृतिको अर्को आयोजना भेरी बबईमा पनि सुरुङ खन्ने काम समयमा सकिएको थियो । तर, बाँधलगायतका अन्य काम समयमा नसकिँदा यो आयोजनाबाट प्रतिफल लिन वर्षौ कुर्नुपर्ने अवस्था छ । सुनकोसी मरिण आयोजनालाई यो अवस्थाबाट भिन्न बनाउन सक्नुपर्छ । तब मात्र लगानी गरेको अर्थ राख्छ ।

प्रतिक्रिया दिनुहोस्