Logo

अवैध कोषमार्फत रकम हिनामिना

स्याङजा– सरकारले अवैध मान्दै आएको हुन्डी, ढुकुटीबाट ठूलो रकम हिनामिना हुने गरेको छ । अवैध मान्दै आएका त्यस्ता प्रकृतिका कारोबारबाट पछिल्लो समय ठगिने क्रम बढेको हो । वालिङमा करिब ३० वर्षदेखि सञ्चालन गरिँदै आएको कोषबाट वडावासी ठगिएको खुलासा भएको छ ।

स्याङजाको वालिङ– १ मा अवैध कोष खेलाएर करोडौँ रकम हिनामिना भएको खबर बाहिरिएपछि स्थानीयले आफू ठगिएको महसुस गरेका छन् । समाजका टाठा बाठाले चलाउँदै आएको अवैध कोषमा ठगिएको महसुस गरेपछि स्थानीयहरू आक्रोशित भएका छन् । कोषको रकम हिनामिना गरेको भन्दै स्थानीयले संर्घष समिति गठन गरेर आन्दोलन सुरु गरेका छन् । ४ वर्षदेखि ३ करोड रकम कोषका बचतकर्ताले नपाएपछि संर्घष समिति गठन गरेर आन्दोलन सुरु भएको हो ।

कोष व्यवस्थापन समितिसँग बारम्बार छलफल गर्दै आएको समितिले बृहत् भेला तथा छलफल गरेको छ । कार्यक्रममा कोषका पीडितहरूले जम्मा गरेको रकमको हालसम्म साँवा र ब्याज दुवै पाउन सकेका छैनन् । कोष पीडित लक्ष्मी पोखरेलले आफू २०६० सालदेखि कोषमा आवद्ध रहेको र विगत ४ वर्षदेखि आफूले पाउने ५ लाख रकमको साँवा र बयाज पाउन नसकेको गुनासो गरिन् ।

२०५० सालमा स्थापना गरिएको त्रियासी कोषमा त्रियासी तथा आसपासका झन्डै २ सय जनाले पैसा जम्मा गर्दै आएका थिए । कोरोना सुरु भएपछि कोषको कारोबार हुन सकेन । त्यस यता कोषको कुनै लेखाजोखा नभएपछि लगानी कर्ता आक्रोशित भएका हुन् । अर्का कोष पीडित तारापति काफ्लेले आफूले कोषबाट ९ लाख पाउनुपर्ने बताए । आफ्नो गाँस काटेर भविष्यका लागि जोहो गरेको रकम कोषमा जम्मा गरेको उनको भनाइ छ ।

कोष व्यवस्थापन गर्दै आएकाहरूले आफू खुसी रकम लगानी गर्ने, कोषमा आबद्ध भएका सेयर सदस्यहरूलाई कुनै सल्लाह र जानकारी नदिई रकम लगानी गरेको पीडितहरुको भनाइ छ । कोष पीडितहरूले संघर्ष समिति समेत गठन गरेका छन् । समितिको संयोजकमा अग्निप्रसाद रेग्मी, उपाध्यक्षमा रेशम रेग्मी, सचिवमा लक्ष्मी पोखरेल र सदस्यहरूमा भूमिनन्द रेग्मी, रनबहादुर लामिछाने, रुक्मागत रेग्मी र युवराज रेग्मी रहेका छन् ।

त्यस्तै लेखा समितिको संयोजकमा रुक्मागतलाई चयन गरिएको छ भने लेखा सदस्यमा युवराज र मातृकाप्रसाद अर्याल रहेका छन् । गठित समितिले कोष सञ्चालकको सहजिकरणमा ऋणीको घर–घरमा जाने ऋण असुल गरी जेठ मसान्तसम्म लगानीकर्तालाई रकम उपलब्ध गराउने सहमति भएको कोष पीडित पोखरेलले बताइन् । तत्कालीन समयमा कोष व्यवस्थापकको भूमिकामा रहेका हुमनाथ रेग्मीले समेत आफूले पनि कोषबाट पाउनुपर्ने रकम नपाएको दाबी गरेका छन् ।

कोष व्यवस्थापन गर्नेहरूले हरेक सदस्यबाट एक हजारदेखि एक हजार ५ सय रुपैयाँसम्म व्यवस्थापन शुल्क लिने गरेको खुलेको छ । सामान्य नागरिकलाई अवैध कोषमा रकम जम्मा गर्न लगाई समाजका अगुवाहरूले रकम हिनामिना गरेको बताइएको छ । मासिक झन्डै २५ वटासम्म कोषहरू सञ्चालनमा रहेका र फरक-फरक कोषका फरक-फरक समिति रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्