अमलेखगन्ज–रक्सोल पाइपलाइन निर्माण सुरु «

अमलेखगन्ज–रक्सोल पाइपलाइन निर्माण सुरु

अमलेखगन्ज–रक्सोल पाइपलाइन निर्माणको काम शुरु भएको छ । रेखांकन गरिएका स्थानमा पाइप बिछ्याउन थालिएसँगै निर्माण कार्य अगाडि बढेको हो । १६ किलोमिटर ओछ्याउन पुग्ने ४१ टेलर पाइप नेपालको विस्तार क्षेत्रमा थुपार्न थालिएपछि निर्माण कार्यले गति लिएको हो ।
भारतीय आयल कर्पोरेसनले आधा जति पाइप निर्माण गरेर नेपाल पठाइसकेकाले अब केही दिनभित्र बाँकी रहेको पाइप र मेसिनरी सामग्री आउने र बिछ्याउने काम तत्कालै शुरु हुने पेट्रोलियम पाइपलाइन आयोजनाका मेकानिकल इन्जिनियर सरद पौडेलले बताए । भारतीय सहर रक्सोलदेखि बाराको अमलेखगन्जसम्मको ३६.२०६ किलोमिटर लामो पेट्रोलियम पाइप पाइन बिछ्याउन लागिएको हो ।
इन्धन आपूर्तिको दृष्टिले महत्वपूर्ण मानिएको पेट्रोलियम पाइपलाइन आयोजना सीमावर्ती सहर रक्सोलदेखि बाराको अमलेखगन्जसम्म एक हप्तापछि निर्माण कार्यले तीव्रता पाउने देखिएको छ । पाइपलाइन बिछ्याउन सबै किसिमका सर्भे, स्वाइल टेस्टिङ, रेखांकन पिलरहरूसमेत स्थापना भइसकेको छ ।
वीरगन्जको शंकराचार्य गेटबाट गण्डक नहरसम्म वाइपास सडकको दायाँ भागबाट र त्यसपछि त्रिभुवन राजपथको गण्डक–अमलेखगन्जखण्डमा सडकको बायाँ भागबाट पाइप लाइन बिछ्याइने पौडेलले बताए ।
सडकको २५ मिटरभित्र पर्ने गरी पाइपलाइन निर्माण गर्न लागिएकाले मुआब्जालगायतका अन्य अवरोध नहुने नदेखिएको छ । आयोजनामा भन्सारमा भारतीयहरूले फिर्ता लैजाने गरी ल्याउन लागेको उपकरण हप्तौंदेखि कागजी झन्झटमा रक्सोलमा रोकिएर बसेका छन् ।
साढे तीन सय करोड भारतीय रुपैयाँमा अनुमानित लागतमा निर्माण सम्पन्न हुने पाइपलाइन विहार राज्यको पूर्वी चम्पारण जिल्लाको मोतीहारी बजार क्षेत्रको ११ किमी उत्तरतर्फ सेमरा भन्ने स्थानमा टर्मिनल प्वाइन्ट निर्माण गरी उक्त स्थानबाट नेपालको अमलेखगन्जसम्म पेट्रोलियम पाइपलाइन निर्माण हुने छ ।
सडकको क्षेत्राधिकारभित्र निर्माण गर्न लागिएको पाइपलाइन २.५ मिटर गहिराइबाट ल्याउन लागिएको छ । खोला तथा अन्य गहिरो भागमा आवश्यकताअनुसार १५ मिटरसम्म गहिरो बनाउनुपर्ने आयोजनाले जनाएको छ ।

प्रकाश लम्साल

प्रतिक्रिया दिनुहोस्