निजी क्षेत्र सम्मिलित नयाँ चरणको सुधारमा जोड
काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र सम्मिलित नयाँ चरणको आर्थिक सुधार आवश्यक रहेको बताएका छन् । नेपालको औपचारिक भ्रमणमा रहेका बंगलादेश, भुटान र नेपालका लागि अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का देशीय प्रबन्धक मार्टिन होल्टम्यानसँग बिहीबार भएको भेटमा ढकालले उक्त कुरा बताएका हुन् ।
यसमा सरकारको नेतृत्व र विकास साझेदारहरुसँगको सहकार्य आवश्यक रहेकोमा उनले जोड दिए । ढकालले नेपाल प्राकृतिक स्रोतसाधनमा धनी रहेको बताए । उनले युवा र गतिशील जनशक्ति रहेको कारण यस्को पूर्ण रूपमा सदुपयोग गर्नु पर्नेमा जोड दिए । आर्थिक वृद्धिलाई अगाडि बढाउन व्यापारिक वातावरणमा सुधार, लगानी आकर्षित गर्ने नीति र उद्यमशीलता प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्ने उनले बताए ।
ढकालले नवप्रवर्तन, उद्यमशीलता विकास र दिगो आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने वातावरण सिर्जना गर्न अन्तर्राष्ट्रिय वित्त निगमसँगको सहकार्य आवश्यक रहेकोमा जोड दिए । यसैबीच, होल्टम्यानले आइएफसी सधैं निजी क्षेत्रको विकासको साझेदार र विश्वभरको आर्थिक वृद्धि र दिगोपनलाई प्रवर्द्धन गर्न पनि साझेदार भएको उल्लेख गरे । उनले नेपालको विकास कार्यमा आइएफसी निरन्तर सहयोग र सहकार्य गर्ने बताए ।
होल्टम्यानले नेपालमा दिगो आर्थिक विकासका लागि नेपाल उद्योग वाणिज्य महासंघसँग साझेदारी गर्न पाउँदा आफू खुसी भएको बताए । गत वर्ष आइएफसी र महासंघले संयुक्त रूपमा पहिलो पटक नेपालको अर्थतन्त्र र रोजगारीमा निजी क्षेत्रको भूमिका विषयक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो ।