Logo

ताजसँग चौधरी ग्रुपको नयाँ साझेदारी

काठमाडौं– चौधरी ग्रुपले नेपालको हस्पिटालिटी उद्योगलाई थप उचाइ दिन विश्वप्रसिद्ध ताज ग्रुपसँग मिलेर ‘एक्यम’ नामको संयुक्त भेन्चरको सुरुवात गरेको छ । सीजी हस्पिटालिटी ग्लोबलका प्रबन्धनिर्देशक राहुल चौधरीले बुधबार मुम्बईमा ताजसँगको साझेदारीमा हस्ताक्षर गरेका हुन् । ताज ग्रुपसँग मिलेर नेपालमा अहिले तीन वटा होटल सञ्चालनमा छन भने थप तीनवटा होटललाई पनि ताजमा रुपान्तरण गर्ने गरी निर्माणको कार्य भइरहेको छ ।

ताज ग्रुपसँगको सहकार्यले नेपालको पर्यटन क्षेत्रलाई बढावा दिन सहयोग पुग्ने चौधरी ग्रुपले जनाएको छ । काठमाडौंको भिभान्ता, भरतपुरमा रहेको मेघौली सराइ र भरतपुरमा रहेको भिभान्तालाई मात्र नभएर नेपाललाई प्रमुख पर्यटकीय गन्तब्यकै रुपमा विश्वभर ताजको सञ्जालबाट प्रचार गर्ने कुरामा पनि सहमति भएको छ । ‘एक्यम’ प्लेटफर्मबाट नेपालको समग्र पर्यटन क्षेत्रले लाभ लिने वातावरण बनेको छ ।

हिमालयन बेल्ट र इण्डियन ओसनमा यसअघि नै ताज ग्रुपसँग चौधरी ग्रुपको लामो सहकार्यको इतिहास छ । चौधरी ग्रुपले पछिल्ला दिनमा भारतका ठूला ठूला कम्पनीसँग मिलेर नेपालको वृहत आर्थिक गतिविधिमा केन्द्रित हुँदै आएको छ । जसको पछिल्लो उदाहरण नेपालमै हिरोको एसेम्ब्ली प्लान्ट स्थापना भएको कामबाट प्रष्ट हुन्छ । केही समयअघि अदानीसँग मिलेर नेपाली उत्पादन र नेपाली सिमेन्टलाई उत्तर प्रदेश र बिहार राज्यमा निर्यातको कामको सुरुवात भइसकेको छ । यो कार्यलाई निरन्तरता दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्