Logo

बजार चलायमान बनाउन क्रस–बोर्डर पर्यटन आवश्यक

भैरहवा– भारतसँग सीमा जोडिएका नेपालका ठूला सीमावर्ती सहरलाई आर्थिक रूपमा चलायमान बनाउन क्रस–बोर्डर पर्यटन आवश्यक रहेको बताइएको छ । भैरहवामा आयोजित कार्यक्रममा पर्यटन एवं आर्थिक क्षेत्रसँग सम्बद्ध संघसंस्थाका प्रतिनिधिले उक्त कुरा बताएका हुन् । उनीहरूले आर्थिक वर्ष २०८१–८२ को बजेटको तयारी सरकारले गरिरहेको हुँदा नीति तथा कार्यक्रम र बजेटमा क्रस–बोर्डर पर्यटन प्रवर्द्धन हुने नीति ल्याउन आग्रह गरे ।

पछिल्लो समय हवाई मार्गबाट भन्दा स्थल मार्गबाट भारतीय पर्यटकहरू बढी आइरहेका छन् । भैरहवा, नेपालगन्ज, वीरगन्ज, विराटनगर, काकरभिट्टा र महेन्द्रनगर नाका हुँदै लाखौँ भारतीय पर्यटकहरू नेपाल आउने गरेका छन् । यी सहरहरूबाट वार्षिक १५ लाखभन्दा बढी भारतीय पर्यटक नेपाल भित्रिने अनुमान छ । यद्यपि स्थल मार्ग हुँदै नेपाल आउने भारतीय पर्यटकहरूको आधिकारीक तथ्यांक भने छैन् ।

भारतबाट आउनेमा धार्मिक पर्यटकको संख्या ठूलो छ । उनीहरूको गन्तव्य पशुपतिनाथ, लुम्बिनी, जनकपुर, मुक्तिनाथलगायत हो । प्रकृतिमा रमाउने भारतीयहरू पनि बढ्दै गएका छन् । उनीहरू पोखरा, काठमाडौं, चितवनलगायतका स्थानमा पुग्ने गरेका छन् । पछिल्लो समय भारतीय सीमावर्ती सहरका पर्यटकहरू नेपालका सीमावर्ती सहरमा पर्यटकीय गतिविधिमा रमाउन थालेका छन् ।

पर्यटक र पर्यटकीय गतिविधि बढाउने नीति तथा कार्यक्रम ल्याएर उनीहरूलाई आकर्षण गरी क्रस–बोर्डर पर्यटन प्रवर्द्धन गर्नु अहिलेको आवश्यकता रहेको नेपाल होटल संघ (हान)का क्षेत्रीय संस्था सिद्धार्थ होटल संघ नेपालका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले बताए । भारतीय नागरिकहरू स्थल मार्गबाट सीमावर्ती सहरमा पर्यटकीय गतिविधिमा रमाउन थालेकोमा उनले खुसी व्यक्त गरे ।

सीमावर्ती क्षेत्रका पर्यटकीय स्थलको अवलोकन भ्रमण, क्यासिनो खेल्न, सीमावर्ती क्षेत्रका तारे होटल रेष्टुरेन्टमा खानपिन तथा बसोबास, स्पा, डान्स बारमा रमाउन, विवाह, एनिभर्सरी, जन्मदिन मनाउन सीमा क्षेत्रमा भारतीयहरू आउने गरेको छन् । उनीहरू अझै आउने वातावरण बनाउन क्रस–बोर्डर पर्यटन आवश्यक भएको श्रेष्ठको भनाइ छ । अहिले सीमावर्ती सहरहरू भैरहवा, काकरभिट्टा, विराटनगर, वीरगन्ज, नेपालगन्ज, महेन्द्रनगरमा क्यासिनो खेल्न धेरै भारतीयहरू आइरहेका छन् ।

सोही कारण क्यासिनो व्यवसाय फस्टाउने नीति बजेटमा ल्याउनु पर्ने उनले बताए । सीमावर्ती क्षेत्रबाट ५ किमी टाढा मात्र क्यासिनो सञ्चालन गर्न पाइने व्यवस्था परिवर्तन गरी ३ किलोमिटर भन्दा कम गराउनु पर्ने, सिमानाका १० बजे नै बन्द गरिने भएकोले कम्तीमा मध्यरातसम्म खुल्ला गरिनु पर्ने, भारतीय पर्यटकहरूले २५ हजार भारुभन्दा बढी रकम ल्याए गैर कानुनी भन्दै नियन्त्रणमा लिई कारबाही गर्ने जस्ता नियमावली परिवर्तन गर्नु पर्ने होटल व्यवसायीहरुले बताएका छन् ।

भारतीय सवारी साधनहरू नेपाल प्रवेश गर्दा आवश्यक पटके तथा भन्सार सुविधालगायतका पास एवं यातायात परमिटहरू सिमानाकाबाटै २४ घन्टा नै उपलब्ध हुने गरी कार्यालय सञ्चालन हुनु पर्ने माग पनि व्यवसायीहरुले गरेका छन् । सीमावर्ती क्षेत्र र सहरका होटल रेष्टुरेन्ट २४ घन्टा सञ्चालनमा ल्याउन सकिने नीति तथा कार्यक्रम बजेटमा आउनु पर्ने उनीहरुले बताएका छन् । अबको बजेटमा सीमावर्ती सहरको पर्यटकीय गतिविधि अघि बढ्ने, भारतीय पर्यटकलाई बढीभन्दा बढी आकर्षित गर्न सक्ने योजनासहितको नीति आउनु पर्नेमा श्रेष्ठले जोड दिए ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाटा लुम्बिनी प्रदेशका संस्थापक अध्यक्ष एवं पर्यटन व्यवसायी विष्णु शर्माले सिमानाकाबाट नेपाल छिर्ने वित्तिकै भारतीयहरूलाई उनीहरू पर्यटकनै होइनन् भन्ने जस्तो गरी हुने व्यवहार परवर्तन गर्न आवश्यक रहेको बताए । क्रस– बोर्डर पर्यटनको मुख्य आधार नै भारतीय पर्यटक हुन् । उनीहरूलाई जति राम्रो आतिथ्य सत्कार दिन सक्यो, त्यति बढी भारतीय पर्यटक आउने उनको भनाइ छ ।

सोसाइटी अफ टुर एन्ड ट्राभल अपरेटर्स लुम्बिनी प्रदेशका अध्यक्ष श्रीचन्द गुप्ताले भारतीय मात्र नभइ जो सुकै पर्यटकलाई दुख दिने खालको वातावरण बनाउन नहुने बताए । सीमावर्ती क्षेत्रमा क्यासिनो खेल्न, मदिरा पिउन तथा खानपिनका लागि आउने भारतीय बढी रहेकाले क्रस बोर्डरको आकर्षण बढेको उनको भनाइ ।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले क्रस–बोर्डर पर्यटन प्रवर्द्धनका लागि रात्रिकालिन बजार आवश्यक रहेको बताउँदै त्यसका लागि स्थानीय प्रशासनले समेत चासो राख्नु पर्ने बताए । सीमावर्ती सहर बजारहरू कम्तीमा राती १२ बजे सम्म निर्वाध खुल्ने नीति बजेटबाट आउनु पर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्