Logo

बुटवलको चौराहादेखि गोलपार्क सडक

पुनः डिजाइनका लागि कार्यदल गठन

बुटवल– बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणको ठेक्का तोडिएपछि सडकको डिजाइन परिवर्तनका लागि बुटवल उपमहानगरपालिकाले पहल गरेको छ ।

बेलहिया–बुटवल व्यापारिक मार्गअन्तर्गत चौराहादेखि गोलपार्कको चिडियाखोलासम्मको सडकको डिभिजन सडक कार्यालय बुटवलले ठेक्का तोडेको सूचना निकालेको थियो । ठेक्का तोडिएपछि उपमहानगरपालिकाले सडक डिभिजन कार्यालय बुटवलका प्रमुखसहित सरोकारवाला निकायलाई बोलाएर छलफल गरी सडक निर्माणको कामलाई आवश्यक सहजीकरण गर्न आग्रह गरेको हो ।

छलफलका क्रममा पुनः डिजाइन गर्न मेयर खेलराज पाण्डेयको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । व्यापारिक मार्ग भनिए पनि व्यवसायीमैत्री सडक बन्न नसकेको गुनासो आइरहेको बेला उपमहानगरले पुनः डिजाइन गर्नका लागि कार्यदल गठन गरेको हो । कार्यदलको सदस्यमा सडक डिभिजन कार्यालय बुटवल, नेपाल खानेपानी संस्थान, नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकमका कार्यालयका प्रमुख रहने छन् ।

उपमहानगरपालिकाका पूर्वाधार विकास महाशाखाका प्रमुख गौतम रौनियार सदस्य सचिव रहनेगरी नगर प्रमुख पाण्डेयले कार्यदल गठन गरेका हुन् । कार्यदलले सडकको केन्द्र बिन्दुदेखि प्रत्येक साइडतर्फ पैदलयात्रीका लागि तीन मिटर चौडाको फुटपाथ निर्माण, साइकल यात्रीका लागि दुई मिटरको साइकल लेन निर्माण, प्रतिदुई सय मिटर लम्बाइतर्फ प्रति ७० मिटर लम्बाइमा हल्का सवारी पार्किङ र प्रति ३० मिटर लम्बाइमा पार्क तथा सौन्दर्यीकरण गर्नका लागि पहल गर्ने निर्णय गरेको छ ।

यस्तै प्रत्येक पार्क र साइट सडकमा स्ट्रिट लाइट जडान, सडक फर्निसिङ्ग ट्राफिक संकेत, डिभाइडरमा टल्किने स्टिकर र सौन्दर्यीकरणका लागि पेन्टिङ गर्ने निर्णय भएको छ । यस्तै बुटवलको ट्राफिक चोक र गोलपार्क, बहुमुखी क्याम्पस अगाडि आकाशे पुल र पुलको तल सार्वजनिक शौचालय निर्माण गर्ने निर्णय भएको छ । राजमार्ग चौराह र हस्पिटल लाइनमा चार मुखे आकाशे पुल निर्माण गर्नका लागि कार्यदलले सहजीकरण गर्ने भएको छ ।

दूरसञ्चारको तार ब्यवस्थापन र अनावश्यक पोल हटाउने, सम्भव भएका स्थानमा भूमिगत विद्युत लाइन विस्तार गर्ने, खानेपानीका पाइपलाइन ब्यवस्थित गर्नका लागि सम्बन्धित कार्यालयलाई अनुरोध गर्ने निर्णय गरिएको बुटवल उपमहानगपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।

लामो समयसम्म बुटवल बजारको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको सडक निर्माणले पूर्णता पाउन नसक्दा ट्राफिक चोक, अमरपथ, संगमपथ, रामन्दिर लाइन, चौराहा र मिलन चोकको बजार प्रभावित हुन पुगेको उनले बताए । बुटवलको ऐतिहासिक बजारलाई आर्थिक हिसाबले चलायमान गराउनका लागि विभिन्न मापदण्डका आधारमा सडकको डिजाइन परिवर्तन गराउनका लागि सडक डिभिजन कार्यालयमार्फत् सम्बन्धित निकायमा अनुरोध गरी कार्यदलले निर्णय गरेको मेयर पाण्डेयले जानकारी दिए ।

सडक डिभिजन कार्यालय बुटवलका प्रमुख विसुन दास लामाले २०७३ सालदेखि सुरु भएको बेलहिया–बुटवल व्यापारिक मार्गअन्तर्गत बुटवलको सडकको काम पटकपटक म्याद थप्दासमेत ठेकेदार कम्पनीले सम्पन्न नगरेपछि ठेक्का तोड्नु परेको जानकारी दिए । समयमा नै काम नगर्ने कञ्चनजंगा–बिरुवा जेभी र बिरुवा कन्स्ट्रक्सन कम्पनी प्रालिबीच बुटवल–बेलहीया व्यापारिक मार्ग निर्माणका लागि आर्थिक वर्ष २०७३/०७४ मा ठेक्का सम्झौता भएको थियो ।

समयमा नै काम नगर्ने ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्ने तयारी भएको डिभिजन प्रमुख लामाले बताए । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्यालले बुटवलको बजारलाई असर नपर्ने गरी सडकको डिजाइन गरिनुपर्नेमा जोड दिए । बुटवलमा बजार विस्तार भएपछि बल्ल सडक आएको ऐतिहासिक तथ्य रहेको बताउँदै उनले बुटवलको बजारलाई असर नगर्ने गरी अब बन्न सडक निर्माणका लागि सुझाव दिए ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, नेपाल टेलिकम बुटवलका प्रमुख सुरेन्द्रप्रसाद श्रेष्ठ, वडा नं. ४ का वडाध्यक्ष नरिश्वर शर्मा पौडेल, होटल तथा रेस्टुराँ व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीलगायतले सडक निर्माणको काम छिटो सक्नका लागि सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्