Logo

दाङका सबै पालिकामा छैनन् दमकल

दाङ– जिल्लाका सबै पालिकामा दमकल नहुँदा आगलागी हुँदा समयमै आगो नियन्त्रणमा समस्या हुने गरेको छ । गत वैशाख १५ गते बंगलाचुली गाउँपालिका–८ स्थित डाँगीबारीमा आगलागीबाट तीन घर जले । स्थानीय वनमा लागेको आगो बस्तीमा सल्कियो । गाउँलेले आगो निभाउनका लागि बाल्टिनबाट पानी हाले तर सल्लाघारीमा रहेको यो बस्तीका घरमा लागेको आगो बाल्टिनको पानीले निभेन । आगो निभाउनका लागि पायकमा दमकल भएन ।

‘दमकल भइदिएको भए आगो नियन्त्रणमा लिन सकिने थियो,’ यो वडाका वडाध्यक्ष झवीन्द्र शाह भन्छन्, ‘दमकल भएन, आगो निभाउन सकिएन ।’ खडेरी मौसममा आगलागीको जोखिम भइरहन्छ तर यो जोखिमलाई मध्यनजर गर्नै सकेको छैन गाउँपालिकाले । आगलागीको सम्भावित जोखिम टार्नका लागि स्थानीय सरकारले अहिलेसम्म दमकल खरिद गरेकै छैन । न त यति अत्यावश्यक विषयमा गाउँसभामै कुरा उठ्छ । ‘अहिलेसम्म गाउँसभामा यो कुरा राखिएन, तर अहिले दमकलको आवश्यक्ताको महसुस भयो,’ वडाध्यक्ष शाहले भने, ‘अब यो आवश्यकतालाई मध्यनजर गरेर दमकल व्यवस्थापनका बारेमा जोडदार रूपमा कुरा उठाउने छौँ ।’

स्थानीय तहमा जनप्रतिनिधि आएको यो दोस्रो कार्यकाल हो । गाउँपालिकाले अहिलेसम्म दमकल खरिदको योजना बनाउनै सकेको छैन । महँगो पर्ने भएकाले खरिदको कुनै प्रक्रिया नै थालनी नगरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलले जानकारी दिए । ‘महँगो पर्ने भएकाले दमकल खरिदको योजना पालिकाले बनाउन सकेको छैन,’ पौडेलले भने, ‘करोडभन्दा माथि बजेट लाग्ने भएकाले यसको खरिदको तयारी वा प्रक्रिया केही पनि गरिएको छैन ।’

राजपुर गाउँपालिका–७ हाडबास गाउँमा पनि केही दिनअघि भिषण आगलागी भयो । वनबाट लागेको आगो बस्तीमा सल्किँदा २४ घर ध्वस्त बने । पालिकाको पश्चिमी क्षेत्रमा रहेको हाडबासमा लागेको आगो स्थानीयले निभाउने प्रयास त गरे तर जोडतोडले लागेको हावाले आगो बस्तीभरि फैलियो र गाउँ नै सखाप बन्यो । आफ्नो वडामा लागेको भिषण आगो निभाउन छिमेकी स्थानीय तह गढवा गाउँपालिकाले दमकल पठाइदियो तर आफ्नो वडामा लागेको आगो निभाउन राजपुर गाउँपालिका आफैले सकेन, किनकि यो पालिकासँग पनि दमकल छैन ।

‘हाम्रो पालिकामा दमकल छैन, ७ नम्बर वडाको हाडबासमा लागेको आगो निभाउनका लागि हामीले गढवा गाउँपालिकासँग समन्वय गरेका थियौँ,’ यो गाउँपालिकाका सूचना अधिकारी शरद रेग्मीले भने । भलै आगो निभाउनका लागि गढवाबाट हाडबास कुदेको दमकलबीच बाटोबाटै फर्कियो । आगलागी भएको बस्तीसम्म पुग्नका लागि बाटो नै थिएन । ‘गढवा गाउँपालिकाको दमकल आगो निभाउनका लागि गयो, तर आगो लागेको बस्तीसम्म पुग्नै सकेन,’ सूचना अधिकारी रेग्मीले भने, ‘बाटो नभएका कारण दमकल बीच बाटोबाटै फर्कियो ।’

अहिलेसम्म दमकलको व्यवस्थापन गर्न नसकेको यो गाउँपालिकाले दमकल रहेका छिमेकी पालिकाहरू गढवा गाउँपालिका र लमही नगरपालिकासँग सहयोग माग्दै आएको छ तर पालिकाले दमकलको व्यवस्थापन अपरिहार्य देखेको छ । ‘अहिलेसम्म दमकल खरिदका लागि पालिकाबाट कुनै योजना बनेको थिएन,’ सूचना अधिकारी रेग्मीले भने, ‘अहिले भने दमकल खरिद गर्ने योजना बन्दै छ, सानो भए पनि दमकलको व्यवस्थापन हुनुपर्ने आवश्यकता बोध गरेर यसको खरिदको तयारीमा पालिका जुटेको छ ।’

कुल १० स्थानीय तह रहेको जिल्लामा दमकल भने चारवटा मात्रै छन् । जिल्लाका घोराही उपमहानगरपालिकामा एउटा, तुलसीपुर उपमहानगरपालिकामा एउटा, लमही नगरपालिकामा एउटा र गढवा गाउँँपालिकामा एउटा गरी जिल्लाभर चार दमकलमात्रै छन् । बाँकी ६ स्थानीय तहले भने अहिलेसम्म पनि आगलागी नियन्त्रण गर्ने अत्यावश्यक साधन दमकल खरिद गरेका छैनन् । जिल्लाका राप्ती, राजपुर, बंगलाचुली, दंगीशरण, बबई र शान्तिनगर गाउँपालिकाले जनप्रतिनिधि आएदेखि अहिलेसम्मको अवधिमा पनि दमकल खरिद गर्न सकेका छैनन् ।

पालिका क्षेत्रमा कतै आगलागी भएको खण्डमा उनीहरूले दमकल रहेका स्थानीय तहसँग सहयोग माग्ने गरेका छन् ।
‘हाम्रो पालिका क्षेत्रमा कतै आगलागी भयो भने तुलसीपुर उपमहानगरपालिकासँग दमकल सहयोग माग्ने गरेका छौँ,’ दंगीशरढा गाउपालिका पालिकाका प्रमुख प्रशासकीय अधिकृत डिलाराम पाण्डेले भने, ‘पालिकाको आफ्नो दमकल छैन ।’ यो पालिकाले दमकल खरिदका लागि अहिलेसम्म कुनै तयारी थालेन । आगामी वर्षमा भने यसको तयारी थालिने पाण्डेले बताए ।

जिल्लामा आगलागीबाट ठूलो क्षति रोक्नका लागि प्रत्येक स्थानीय तहमा एउटा दमकल अनिवार्य देखिन्छ । प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जिल्लाका सबै स्थानीय तहमा एउटा÷एउटा दमकल भएको अवस्थामा आगलागीको विपद् नियन्त्रणमा सहज हुने बताए । ‘जिल्लामा देखिएको आगलागीको अवस्थालाई हेर्ने हो भने प्रत्येक स्थानीय तहमा एउटा÷एउटा दमकलको व्यवस्थापन हुनुपर्ने देखिन्छ,’ प्रमुख जिल्ला अधिकारी सुवेदीले भने, ‘स्थानीय तहले दमकल खरिदको व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।’

प्रतिक्रिया दिनुहोस्