Logo

रारा पर्यटकीय मार्ग विस्तार गरिँदै

जुम्ला– पर्यटकीय गन्तव्य रारा ताल जाने मार्ग विस्तारको काम थालिएको छ । कर्णाली प्रदेशको मुगुमा अवस्थित रारा तालमा पर्यटकको सहज आगमनका लागि रारा पर्यटकीय मार्ग विस्तार गर्न थालिएको हो । छायाँनाथ रारा नगरपालिका तलितुमदेखि वडा नं ३ लामाचौरसम्मको सडक विस्तार गर्ने काम थालिएको सडक डिभिजन जुम्लाले जानकारी दिएको छ ।

उक्त सडक खण्ड विस्तार भएको खण्डमा मुगुको सदरमुकाम गमगढीबाट दुई घण्टामै हिडेर रारा तालमा पुग्न सकिने छ । हाल गमगडी बजार घुमारो बाटो भएर रारा जाँदा समय धेरै लाग्ने गरेको छ । रारामा आउने पर्यटकको समस्यालाई मध्यनजर गर्दै सडक डिभिजन जुम्लाको आर्थिक तथा प्राविधिक सहयोग र छायाँनाथ रारा नगरपालिकाको समयमा रारा पर्यटकीय मार्ग विस्तारको काम सुरु भएको हो ।

मुगु सदरमुकाम गमगढी भएर रारा ताल जाने पर्यटकको सहजताका लागि उक्त सडक विस्तार गर्न लागिएको सडक डिभिजन जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले बताए । उनले भने, ‘गमगढीबाट रारा जान पैदल दूरीमा २ घण्टा लाग्ने र गाडीमा घुमाउरो बाटो जाँदा बढी समय लाग्ने गरेको छ । गमगढी लामा चौरको दूरी अत्यन्तै छोटो र छिटो रारा पुगिने भएकोले विस्तारको काम अघि बढाइएको हो ।’

रारा पर्यटकीय मार्ग विस्तारका लागि कुल ५५ लाख रुपैयाँमा विनम्र निर्माण सेवा सुर्खेतले ठेक्का लिएको छ । ५५ लाख लगानीमा निर्माण हुने उक्त पर्यटकीय मार्ग आगामी असार मसान्तसम्म बनिसक्ने सम्झौता भएको छ । गएको असोजमा निर्माण व्यवसायीसंँग सडक डिभिजन जुम्लाले सम्झौता गरेको थियो । तीन किलोमिटर लम्बाइ रहेको उक्त पर्यटकीय मार्गमा १.५ किलोमिटर दूरी चार मिटर चौडाइको ग्राभेल र ४५० घनमिटर ग्याबिन जाली र २.५ किलोमिटर सडक चौडा पारिने छ ।

गमगढी आउने आन्तरिक तथा बाह्य पर्यटकलाई राराताल पुग्न १० मिनेटमात्र लाग्ने छ । रारामा पर्यटकको आकर्षण बढे पनि होटल बास र सडकको कारण देखाउँदै सुधार गर्नका लागि सुझाव दिने गरेका छन् भने सडक भरपर्दो नभएका कारण एक पटक आएका पर्यटक फेरि आउने स्थिति छैन । गमगढी हुँदै रारा पुग्ने पर्यटकको राहतका लागि विस्तार गर्न थालिएको उक्त पर्यटकीय मार्गले रारा घुम्न आउने पर्यटकलाई सहज बनाउने अपेक्षा गरिएको छ ।

छायानाथ रारा नगरपालिका मेयर विष्णुकुमार बाम रारामा पर्यटकको आकर्षण बढे पनि पूर्वाधार अभावकै कारण पर्यटक टिकाउन नसकिएको बताउँछन् । उनी भन्छन्, ‘स्थानीय तहको बजेटले ठूलो पूर्वाधार निर्माण गर्न सम्भव छैन । संघ प्रदेशले कार्यान्वयनमुखी बजेट पठाउँदैन । विनियोजित योजना निर्माणमै ढिलासुस्ती छ ।’

कर्णाली प्रदेश सरकारले राराको सम्भावनालाई मध्यनजर गरी पर्यटन पूर्वाधार विकासमा पर्याप्त लगानी गर्न सकेको खण्डमा कर्णालीको समृद्धिमा राराले उल्लेखनीय योगदान दिन मेयर बामको भनाइ छ । कर्णालीमा रारा ताल, गिडिदह, शे–फोक्सुण्डो, मानसरोवर, पचाल झरना, सिंजा उपत्यका लगायतका दर्जनौं पर्यटकीय गन्तव्य भए पनि पूर्वाधारको अभावले अपेक्षित पर्यटक आउन सकेका छैनन् । कर्णालीको पर्यटन सम्भावनामा संघ र प्रदेश सरकारले लगानी गर्न कन्जुस्याइँ गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्