सुनकोशी–मरिण डाइभर्सन आयोजना
लक्ष्यअघि छिचोलियो सुरुङ, निर्माणका अन्य काम सुस्त
काठमाडौं– राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ ‘ब्रेक थु्र’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सुनकोशी गाउँपालिका–७ कानढुंग्रीमा एक समारोहबीच टिबीएम स्विच थिचेपछि आयोजना प्रवेशद्वार कमलामाई नगरपालिका–२ कुसुमटारबाट सुरुङभित्र पसेको टिबीएम मेसिन सुनकोशी नदी किनार कानढुंग्रीबाट बाहिर निस्किएको थियो ।
यो आयोजनाअन्तर्गत कमलामाई–२ कुसुमटारदेखि सुनकोशी–७ कानढुंग्रीसम्म सुरुङ बनेको छ । यसको लम्बाइ १३ दशमलव ३ किलोमिटर छ । कुमुमटारबाट टनेल बोरिङ मेशिन (टिबीएम) ले सुरुङ खन्न थालेकामा बुधबार मेसिन सुनकोशी नदी किनारमा निस्केको छ । पहाडी भूभाग बढी भएको नेपालमा सुरुङ खन्न अब टिबीएम प्रभावकारी उपकरणका रूपमा स्थापित भएको छ । अन्य आयोजनामा समेत सोही प्रकृतिको मेसिन प्रयोग गर्न सकिने देखिएको छ ।
मुलुकमा विकासे आयोजनाहरु समयमा नबनेका बेला यो सुरुङ लक्ष्यभन्दा एक वर्षअघि ब्रेकथु्र भएको हो । आयोजना प्रमुख मित्र बरालका अनुसार खन्न सुरु भएको १९ महिनामा सुरुङ ब्रेकथु्र भएको छ । एकैदिन ७२ मिटरसम्म सुरुङ खनिएको उनले जानकारी दिए । २०७९ असोज २८ देखि सुरुङ खन्ने काम सुरु गरिएको थियो । यसबीचमा ६ पटक काममा अवरोध भएको प्रमुख बरालले बताए । सुरुङभित्र सुक्खा पहिरो खस्ने, लेदोसहित पाखो खस्दा सुरुङ खन्ने काम रोकिएको थियो ।
यो सुरुङ मार्ग ५.५ डायमिटरको छ । कानढुंग्रीस्थित सुनकोशी नदीमा ३० मिटर उचाइ र एक सय ५८ मिटर लम्बाइको बाँध निर्माण गरी सुरुङमार्फत पानी कुसुमटारस्थित मरिण खोलामा खसालिने छ । त्यहाँ ६६ मिटर उचाइबाट पानी झारेर ३१.०७ मेगावाट विद्युत उत्पादन गरिनेछ । सुरुङ निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनियरिङ (कोभेक) ले पाएको हो । यो कम्पनीले यसअघि भेरी बबई डाइभर्सनमा सुरुङ निर्माणको काम गरेको थियो । त्यहाँ पनि यही मेसिनले सुरुङ खनिएको थियो ।
सुनकोशी मरिणमा सुरुङ खन्नमात्र कोभेकले १० अर्ब पाँच करोड ६८ लाख रुपैयाँमा ठेक्का लिएको प्रमुख बरालले जानकारी दिए । आयोजनाको लक्ष्य सुनकोशीको पानी मरिण खोलामा खसाली मधेसका पाँच जिल्लामा वर्षैभरि सिँचाइ पुर्याउने छ । यस्तै यसबाट विद्युत उत्पादन पनि गरिनेछ ।
आयोजनाको मुख्य उद्देश्य विद्युत उत्पादनसँगै बागमती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषामा एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्याउने हो । आयोजनाको कुल लागत ४९ अर्ब ४२ करोड रहेको आयोजनाले जनाएको छ ।
अहिले सुरुङ छिचोलिए पनि त्यसलाई पानी बहाउन मिल्ने बनाउन अझै एकदेखि डेढ वर्ष लाग्नेछ । सुनकोशीको करिब ६७ क्युसेक पानीलाई सुरुङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ । त्यसपछि बागमती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य छ ।
आयोजनाका अनुसार यसको सुरुङ निर्माण समयमै सकिए पनि आयोजनाका अन्य काम लक्ष्यअनुसार हुन सकेको छैन । अहिले आयोजनाको ‘कफर ड्याम’ निर्माण भइरहेको छ । भेरी बबईमा सुरुङ निर्माण समयमा भए पनि ड्याम लगायतका अन्य काम अझै सकिएको छैन । यहाँ पनि त्यही प्रवृत्ति दोहोरिने सम्भावना बढेको छ ।
अहिले आयोजनाको अर्को महत्वपूर्ण खण्ड विद्युत गृह र प्रसारणलाइन निर्माणका लागि आवश्यक तयारी भइरहेको छ । प्रसारणलाइनका लागि वातावरणीय प्रभाव मूल्यांकन सकिएको छ । यस्तै हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलतर्फको काम पनि अगाडि बढाउन लागिएको आयोजनाले जनाएको छ ।
यो आयोजनाबाट हाल सञ्चालनमा रहेको बिपी राजमार्गको केही भाग प्रभावित हुनेछ । हाल सञ्चालनमा रहेको राजमार्गलाई नौ सय मिटर डाइभर्सन गर्नुपर्ने हुन्छ । बाँध तथा विद्युत गृह निर्माणका लागि भारतीय कम्पनी पटेल इन्जिनियरिङ र नेपाली कम्पनी रमण कन्स्ट्रक्सनको संयुक्त उपक्रमले ठेक्का पाएको छ । यस्तै, विद्युत गृह निर्माण हुने स्थानमा मुआब्जा वितरण सम्पन्न भइसकेको छ । आगामी २०८४ को असोजमा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
अर्थतन्त्रमा गुणात्मक योगदानः दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने बताएका छन् । आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’ गर्ने कार्यक्रमा प्रधानमन्त्री दाहालले आयोजना सम्पन्न भएपछि सिँचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन बृद्धि हुने विश्वास व्यक्त गरे ।
‘यो आयोजनाले मधेस प्रदेशका पाँच जिल्लामा वर्षैभरि सिँचाइ सुविधा पुग्दा राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्नेछ,’ दाहालले भने, ‘सुरूङको ‘ब्रेक–थ्रु’ भएको छ, आयोजनाको बाँकी कामसमेत निर्धारित समयमा नै सम्पन्न हुनेछ ।’ प्रधानमन्त्री दाहालले आयोजनाहरु समयमा सम्पन्न भए उत्पादकत्व अभिवृद्धि र समृद्धिको लक्ष्यमा योगदान पुग्ने बताए । प्रधानमन्त्री दाहालले खाद्यान्न आपूर्तिमा आत्मनिर्भर हुन र खाद्य सुरक्षाको सुनिश्चित गर्न यस्ता आयोजनाले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे । आयोजना सञ्चालनपछि सुनकोशी र तामाकोशी क्षेत्रमा बसोबास गर्ने जनसंख्याको बहुआयामिक विकास हुने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यस क्षेत्रमा माछापालनदेखि आन्तरिक तथा बाह्य पर्यटनको उल्लेख्य वृद्धि एवं मनोरञ्जन तथा ताल÷जलासयमा पर्यटन व्यवसाय फस्टाउने बताए ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सम्झौता भएको १९ महिनामा सुरुङ मार्ग निर्माणको कार्यले नेपालका पूर्वाधार निर्माण विकासमा नयाँ इँट्टा थपेको बताए । उनले भने, ‘पूर्वाधार निर्माणको क्षेत्रमा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय परियोजनाको सुरुङमार्ग महत्वपूर्ण आयाम बन्न पुगेको छ ।’
परियोजनाको समग्र भौतिक प्रगति ३० प्रतिशत र सुरुङको भौतिक प्रगति ९० प्रतिशत रहेको परियोजना प्रमुख मित्र बरालले बताए । उनले भने, ‘यही तहमा परियोजनाले गति लिने वातावरण बनेमा र स्रोेतको सुनिश्चित भएमा आगामी २०८४ को असोजबाट परियोजना पूर्ण रुपमा सञ्चालनमा आउनेछ ।’