Logo

३ लाख ७२ हजार पर्यटक भित्रिए

भैरहवा– लुम्बिनीमा गत ४ महिनामा ३ लाख ७२ हजार पर्यटक भित्रिएका छन् । लुम्बिनीलाई आफ्नो भ्रमण गन्तव्य बनाउनेमा आन्तरिक पर्यटक २ लाख ३६ हजार, भारतीय ८७ हजार तथा तेस्रो मुलुकका ४८ हजार गरी ३ लाख ७२ हजार पर्यटक भित्रिएका हुन् ।

लुम्बिनी विकास कोष सूचना शाखाका सहायक अधिकृत दिलीप कुलुङले अघिल्लो वर्षको तुलनामा आन्तरिक पर्यटक घटे पनि तेस्रो मुलुक तथा भारतीय पर्यटहरूको लुम्बिनी आगमनको ग्राफ बढ्दो देखिएको बताए । कोरोना संक्रमण बढेपछि घट्दै गएको लुम्बिनीको पर्यटक आगमन गत वर्षदेखि विस्तारै लयमा फर्कदै गएको छ । पर्यटकहरू आउने क्रम बढेको छ ।

गर्मी मौसममा पनि पर्यटकहरू उल्लेख्य रूपमा आएका लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले बताए । नेपाल भ्रमणमा आउनेहरूको रोजाइ अहिले लुम्बिनी बनेको छ । भारतीयहरू पनि उल्लेख्य रूपमा आउने गरेका राई बताउँछन् । पर्यटकहरूको लुम्बिनी बसाइ अवधि न्यून रहेकोले उनीहरूको बसाइ लम्ब्याउनेतर्फ लागिपरेको निर्देशक राईले बताए । आन्तरिक र विदेशी पर्यटकसँगै भारतीय पर्यटकहरू लुम्बिनी आउने क्रम बढी रहेको छ ।

स्थलमार्ग हुँदै नेपाल भ्रमणमा आउने भारतीय पर्यटकहरूलाई नेपालमा यात्रा सहज गराउने, उनीहरूले ल्याउन पाउने रुपैयाँको सीमा बढी गराउन पहल गर्ने, बाटोमा चेकजाँचका नाममा दुःख नदिई भन्सार बिन्दुमै सबै काम र चेकजाँच गरी अन्यत्र चेक नगरे भारतीय पर्यटकहरू अझै बढ्ने सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताए । अब आउने बजेटबाट स्थल मार्ग हुँदै आउने भारतीय पर्यटकहरूलाई रकम ल्याउने असिमित सुविधा प्रदान गर्नु पर्ने उनको भनाइ छ ।

विदेशी र भारतीय पर्यटकहरू लुम्बिनी घुम्न पुगे पनि उनीहरूको बसाइ अवधि मुस्किलले एक रातको र त्यसमा पनि लुम्बिनी भित्रका बिहारहरूमा पर्यटक बस्दा लुम्बिनी क्षेत्रको पर्यटन व्यवसायले अपेक्षाकृत फाइदा लिन नसकेको लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले बताए । गत चार महिनामा सबैभन्दा बढी १२ हजार ६२ जना थाइल्याण्डबाट लुम्बिनी आएका छन् ।

त्यसैगरी श्रीलंकाबाट ९ हजार ७३ जना, म्यानमारबाट ७ हजार २ सय, चीनबाट ४ हजार ९ सय, भियतनामीहरू ३ हजार ५ सय, दक्षिण कोरियाबाट २ हजार ६ पर्यटक लुम्बिनी घुम्न आएका छन् । बौद्धिष्ट मुलुक बाहेक अन्य एसियाली, युरोप र अमेरिकी क्षेत्रका नागरिकले पनि लुम्बिनीलाई आफ्नो गन्तव्यमा पार्ने गरेका छन् । लुम्बिनी आउने पर्यटकहरूको मुख्य आकर्षण मायादेवी मन्दिर, पवित्र कुण्ड, अशोक स्तम्भ, केन्द्रीय नहर, विश्व शान्ति स्तूप, त्यहाँ रहेका विभिन्न स्वदेशी एवं विदेशी बिहार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्