लुम्बिनी आउने चिनियाँ पर्यटक कोभिडअघिकै अवस्थामा

बुटवल– लुम्बिनी आउने चिनियाँ पर्यटक कोभिडअघिकै अवस्थामा रहेका छन् । तेस्रो मुलुकका पर्यटकमध्ये अप्रिलमा कोभिडअघिकै अवस्थामा चिनियाँ पर्यटक आएका हुन् । गत अप्रिलमा १ हजार ५४५ चिनियाँ पर्यटक आएका थिए । गत महिना चीन बाहेक सबै मुलुकको पर्यटक आगमन दर हजारभन्दा कम छ । मार्चको तुलनामा अप्रिलमा अन्य मुलुकका पर्यटक आगमन घटेको छ ।
तर चिनियाँ पर्यटक भने खासै कम भएका छैनन् । मार्चमा १ हजार ६७९ चिनियाँ लुम्बिनी आएका थिए । अप्रिलको तथ्यांक हेर्दा लुम्बिनीमा चिनियाँ पर्यटक कोभिड अगाडिकै लयमा फर्किन लागेको देखिएको छ । कोभिड अगाडि सन २०१९ को अप्रिल महिनामा १ हजार ८२१ चिनियाँ पर्यटक आएका थिए । २०१७ को सोही अवधिमा अहिलेको भन्दा कम १ हजार ३४६ जना आएको कोषको तथ्यांकमा उल्लेख छ ।
२०१९ को अन्तिम तिर चीनबाटै कोरोना संक्रमण फैलिएको थियो । त्यसयताका केही वर्ष लुम्बिनीमा चिनियाँ पर्यटक आगमन नगन्य थियो । २०२० को अप्रिलबाट नेपालमा समेत लकडाउन भयो । २०२१ को अप्रिलमा १४ जना र २०२२ को अप्रिलमा ११ जना मात्र चिनियाँ पर्यटक लुम्बिनी आएका थिए । अघिल्लो वर्ष २०२३ को अप्रिलमा ४१४ जना आएको कोषले जनाएको छ ।
गत अक्टोबर महिनापछि लुम्बिनीमा चिनियाँ पर्यटक आगमनले गति लिन लागेको हो । कोभिडका कारण चीनले आफ्ना नागरिकलाई मुलुक बाहिर घुम्न रोक लगाएको थियो । अघिल्लो वर्ष मात्र उसले नेपाललाई घुम्नुपर्ने देशको सूचीमा राखेको हो । सोही कारण लुम्बिनीमा चिनियाँ पर्यटक बढेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई सिद्धिचरणले बताए ।
‘चिनियाँहरूले नेपाललाई भ्रमण सूचीमै राखेका छन् । त्यसैले चिनियाँ पर्यटकहरू आइरहेका छन्,’ उनले भने,‘केही दिनअघि चिनियाँ दूतावासको आयोजनामा म्याराथन, सांस्कृतिक कार्यक्रम भयो । त्यसले पनि चीनमा राम्रो सन्देश गएको छ ।’ चिनियाँ पर्यटक पुरानै लयमा नआइसकेको तर आउने क्रममा रहेको कोषाध्यक्ष भट्टराईको भनाइ छ ।
होटल संघ लुम्बिनीका पूर्व अध्यक्ष मिथुनमान श्रेष्ठले चिनियाँ पर्यटक आगमनले केही आशा जगाएको बताए । ‘जति आउनुपर्ने हो त्यो अनुसार चिनियाँ पर्यटक अझै आएकै छैनन् ।’ उनले भने,‘तर अघिल्लो वर्षभन्दा यो वर्ष बढेको अवस्था छ ।’ पछिल्लो चहलपहलले केही आशा जगाएको उनको भनाइ छ । यो वर्ष चिनियाँ पर्यटकहरूलाई आकर्षित गर्ने खालका कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिए ।
श्रेष्ठले चीनबाट भैरहवा सिधा हवाई उडान आवश्यक भएको पनि बताए । अप्रिल महिनामा नेपाल र भारत बाहेक तेस्रो मुलुकबाट कुल ५ हजार ७२७ पर्यटक लुम्बिनी आएका छन् । सन २०२३ को यही अवधिमा ३ हजार ९४२ राहदानी बाहक पर्यटक आएका थिए । कोभिडअघि सन २०१९ को अप्रिलमा ८ हजार ६५० विदेशी पर्यटक आएका थिए ।
गत अप्रिल महिनामा भारतीय पर्यटकको आगमन संख्या १७ हजार २२ रहेको छ । यो अघिल्लो वर्षको अप्रिलभन्दा झण्डै साढे ६ हजारले कम हो । कोभिडको प्रभाव हटे पनि बुद्ध जन्मस्थल लुम्बिनीमा आन्तरिक पर्यटक आगमन पनि लयमा फर्किन सकेको छैन । नेपाल भित्रबाटै लुम्बिनी घुम्न आउनेको संख्या अघिल्ला वर्षभन्दा यो वर्ष निकै कम देखिएको छ । २०२४ को गत अप्रिल महिनामा ६६ हजार ८०० आन्तरिक पर्यटक लुम्बिनी आएका छन् ।
अघिल्लो वर्ष २०२३ को अप्रिलमा ९९ हजार १४७ जना नेपाल भित्रैबाट घुम्न आएका थिए । कोभिडअघि २०१९ को अप्रिलमा साढे २ लाख नेपाली पर्यटक आएका थिए । २०१८ र ०१९ मा सोही अवधिमा आन्तरिक पर्यटक आगमन दर ३ लाख जति थियो । बुटवल नारायणगढ सडक विस्तारमा भएको ढिलाइ र राजमार्गको दुरावस्थाका कारण लुम्बिनीमा आन्तरिक पर्यटक आगमन घटेको छ भने आर्थिक मन्दीले पनि यसमा सहयोग पुर्याएको छ ।