Logo

पर्यटकको रोजाइमा पाटेनागी र कुइभिर

इलाम– ढकमक्क गुराँस फुलेर रात्तै भएको छ । रातो गुराँसलाई पछि पार्दै अघिल्लो भागमा फोटो खिचेर सामाजिक सञ्जाल रङग्याउनेको संख्या उत्तिकै छ । मनै लोभ्याउने रातो गुराँसको अघिल्लो भागमा फोटो खिच्नकै लागि धेरै मानिस पछिल्लो समय इलामको पर्यटकीय स्थल पाटेनागी, कुईभिर क्षेत्रमा जाने गरेका छन् ।

शान्त वातावरण भएकै कारण पछिल्लो समय चर्चामा आउन थालेको छ पाटेनागी । इलाम नगरपालिकाको उच्च स्थानमा रहेको यो पाटेनागी डाँडा विभिन्न स्थानीय तह र पाँचथरसँग समेत सीमा जोडिएको स्थानमा पर्दछ । पाटेनागीसँगै कुइभिरमा समेत उत्तिकै पर्यटक पुग्छन् । यी दुई स्थानसँगै जोडिएका छन् । कुईभिर देउमाई नगरपालिकामा पर्दछ ।

पाटेनागी र कुइभिर क्षेत्र इलाम नगरपालिकासँगै, देउमाई र सन्दकपुर गाउँपालिकासँग समेत सीमा जोडिएको क्षेत्र हो । उता पाँचथरको फिदिम नगरपालिकासँग समेत यसको सीमा जोडिएको छ । यो स्थानका बारेमा सीमा जोडिएका स्थानीयका तहका बासिन्दालाई पनि धेरै थाहा छैन । पछिल्लो समय यसको चर्चा हुन थालेपछि दिन र रात बिताउन पर्यटक पुग्न थालेका छन् ।

रातको समयमा टेन्ट लिएरसमेत पर्यटक पुग्न थालेका छन् । उनीहरूले सो क्षेत्रको अझ विकास हुनु पर्ने बताउने गरेका छन् । कच्ची सडक पुगिसकेको छ । कच्ची सडकसमेत पुगेपछि यस क्षेत्रमा दैनिक पर्यटक घुम्न आउने क्रम बढेको छ । यहाँ पुग्न इलाम र देउमाई नगरपालिकाको सीमा क्षेत्र मानिएको मेची राजमार्ग अन्तर्गत बाघ खोरबाट ७ किलोमिटरमा लाग्ने गरेको छ ।

यो सामुन्द्रिक सतहबाट तीन हजार ४२ मिटरको उचाइमा पर्ने पर्छ । पाटेनागी नामै काफी छ । यहाँ आँखाले भ्याएसम्म नागी देख्न सकिन्छ । चिसो मौसम छ । साना साना डाँडाहरूले यसको सुन्दरतामा वृद्धि गरेको छ । यस क्षेत्रबाट उत्तर पट्टिको भागमा दर्जनौँ हिमशृङ्खलाहरू छन् । सयौं रोपनीमा फैलिएको यस क्षेत्रमा खुला भू–भाग रहेको छ । यहाँ रमाउन आउनेको संख्या दैनिक बढिरहेको छ । बर्खामा सो क्षेत्रमा पुग्न केही कठिनाइ हुने गरेको छ ।

हिउँदका दिनमा पैदल यात्रीहरू समेत उत्तिकै संख्यामा पुग्ने गरेका छन् । इलाम सदरमुकाम, पाँचथरको फिदिम, देउमाईको मंगलबारेलगायत क्षेत्रसँग नजिक भएर पनि यो क्षेत्रको विकास र चर्चा भने भएको छैन । खुल्ला आकाशमुनि रमाउन आउनेका लागि यो गन्तव्य एकदमै आकर्षक रहेको पर्यटकहरूको भनाइ छ । यस क्षेत्रमा औषधीय गुण भएका बोट बिरुवा र सुन्दर गुराँससमेत पाइन्छन् ।

यहाँ धेरै प्रकारका गुराँस पाइने स्थानीय तथा इलाम नगरपालिका–३ का पूर्ववडाध्यक्ष तीर्थराज गुरुङले बताए । केही बुट्यान र चौरले सजिएको पाटे नागीको धेरै भाग खुल्ला रूपमा फैलिएको छ । पाटेनागी पुग्दै गर्दा स्वागत द्वार जस्तै गरी रहेको छ । आकर्षक कुइभिर । कुइभिर देउमाई नगरपालिकामा पर्दछ । सयौं मिटर अग्लो चट्टान रहेको यो भिर मेची रागमार्गबाट सिधै देखिन्छ । सँगै रहेको देउराली र थुम्का थुम्कामा सजिएको डाँडाले यसको सुन्दरता थपेको छ ।

पर्यटकका लागि नयाँ थप्न कृतिम पूर्वाधार नै सबै थोक नभएको जानकारहरू बताउँछन् । स्थानीयले होमस्टेको व्यवस्थापन गर्न सके मात्र पनि सो क्षेत्रमा बास बस्ने गरी जाने पर्यटकको भीड लाग्ने बताइएको छ । तर हाल प्राय पर्यटकहरू दिन बिताउने गरी मात्र पुग्ने गरेका छन् । स्थानीय र अग्र्यानिक उत्पादन लिएर जाने पर्यटकको संख्या थपिने भए पनि स्थानीयले उचित कदम थालेको पाइँदैन ।

इलाम नगरपालिकाले नयाँ पर्यटकीय गन्तव्यका रूपमा पाटे नागीको पूर्वाधार विकास गर्दै गरेको प्रमुख केदार थापाले बताए । उनले यो क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने सडक विस्तारको काम गरिरहेको बताए । यस क्षेत्रमा दुर्लभ मानिएका जंगली जनावर चरा चुरुङ्गीसमेत पाइने गरेका छन् । पूर्वाधार विकासका काम गर्दा संवेदनशील क्षेत्र मानिएको वन र वातावरण जोगाएर काम गरिने प्रमुख थापाले बताए ।

पाटेनागीसहित यो क्षेत्रमा पर्ने अन्य पर्यटकीय स्थलहरूको प्याकेज बनाएर प्रचार गर्न सके सो क्षेत्रमा पर्यटकको संख्या अझ बढ्ने देखिन्छ । नजिकै रहेको दिदी–बहिनी झरना, कुइभिरलगायतका क्षेत्रको एकमुस्ट विकास गर्न सके मात्र पनि यहाँ दैनिक हजारौं पर्यटक आउने थिए ।

प्रतिक्रिया दिनुहोस्