कृत्रिम पोखरी साधुटार लोकप्रिय

नीलो पोखरी अनि पोखरीको बीचमा कुम्भकर्ण र कञ्चनजङ्घा हिमालको छायाँ देखिएको पोखरी एकाएक सामाजिक सञ्जालमा भाइलर भयो । यो पोखरी पाँचथरको फिदिम नगरपालिकाका–८ मा रहेको साधुटार अहिले पूर्वमा निकै चर्चित भएको छ । मेचीराजमार्ग रहेको पौवाभञ्जाङ बजारबाट करिब २ किमि टाढा रहेको यो पोखरी सामाजिक सञ्जालमा फेसबुकबाट चर्चित बनेको हो ।
फोटोजेकी पोखरीको रूपमा रहेको साधुटार अप्रत्याशित रूपमा चर्चित भएपछि आन्तरिक पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ । विशेष गरेर युवा–युवतीहरू सेल्फी खिच्न आउनेहरूको भीड लाग्ने गरेको छ । बिदा मनाउन साधुटार आउने गरेका छन् । पूर्वका इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा र भारतको दार्जिलिङ, सिक्कमबाट पर्यकहरू घुम्न र फोटो खिच्न आउने गरेको स्थानीय चन्द्र मुखियाले बताए ।
लेकाली बुकिफुलहरू, लेकाली सल्लाको बोटहरू, अनि फराकिलो लेकाली चौरहरूले साधुटारको सुन्दरता अझ बढाएको छ । नीलो पोखरी अनि त्यसको बीचमा हिमालको छायाँ अनि जति हेरे पनि नअघाउने हिमालको दृश्यहरूले साधुटारलाई अझ सुन्दर बनाएको छ ।
साधुटार मानव निर्मित पोखरी हो । गुमनाम रहेको यो पोखरी स्थानीय युवाहरूले फोटो खिचेर फेसबुकमा पोष्ट गरेपछि भाइरल भएको थियो ।
साधुटारलाई लक्ष्यित गरेर वडाले साधुटारसम्म पुग्ने सडक निर्माण गरेको छ । स्थानीयहरूले पर्यटकहरूलाई मध्यनजर गरेर संरचनाहरू निर्माण गरिरहेका छन् । धुम्तेहरूका लागि साधुटार एक राम्रो गन्तव्य हुनसक्छ ।
–दीपक बोहरा