Logo

जीडीपीमा पर्यटन क्षेत्रको योगदान ३.७५ प्रतिशत

काठमाडौं– मुलुकको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ३.७५ प्रतिशत पुगेको एक तथ्यांकले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालय, पर्यटन बोर्ड, राष्ट्र बैंक र विश्व पर्यटन संगठनले संयुक्त रुपमा गरेको ‘टुरिजम सेटलाइट एकाउन्ट’ अध्ययनले यस्तो नतिजा देखाएको हो ।

टुरिजम सेटलाइट एकाउन्टको प्रारम्भिक अध्ययनले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा पर्यटन क्षेत्रको योगदान पहिचान गरेको हो । पर्यटकले नेपालमा बस्दा होटल, खाना, टुर, मनोरञ्जन र यातायातमा गरेको खर्चलाई आधार लिएर गरेको अध्ययनले यो नतिजा निस्केको तथ्यांक कार्यालयका उपप्रमुख हेमराज रेग्मीले बताए । उनले भने, ‘पर्यटन क्षेत्रबाट जीडीपीमा पुगेको योगदानमा आन्तरिक पर्यटकको गतिविधि समावेश गरिएको छैन ।’

अध्ययनले पर्यटन क्षेत्रले ११.५ प्रतिशत रोजगारीमा योगदान गरेको देखाएको छ । कुल १० मध्ये ८ सूचकलाई अध्ययनको सीमा बनाएर नमुना संकलन गरी अध्ययन गरिएको थियो । पर्यटनका सबै क्षेत्रबाट तथ्यांक संकलन गरेर जीडीपीमा योगदान पत्ता लगाउन बोर्डले काम गरिरहेको छ । बोर्डले प्रतिदिन प्रतिपर्यटकले गर्ने खर्च, बसाइ अवधि र पर्यटकले विभिन्न गतिविधिमा गर्ने खर्चको आधार लिएर जीडीपीको योगदान निकालिएको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । उनले भने, ‘पर्यटन क्षेत्रबाट हुने वास्तविक योगदान पत्ता लगाउने काम टुरिजम सेटलाइट एकाउन्टबाट भइरहेको छ ।’

आन्तरिक र बाह्य पर्यटन, आन्तरिक पर्यटन खर्च, पर्यटन उद्योगको उत्पादन लेखांकन, कुल गार्हस्थ्य उत्पादन मापन, रोजगारी, लगानी, सरकारी उपभोग र गैरमौद्रिक सूचक देखिने गरी अध्ययन भइरहेको छ । जीडीपीमा पर्यटन क्षेत्रको योगदान मापन गर्दा होटल र रेष्टुराँको मात्र मापन गर्ने गरेकाले वास्तविक योगदान यकिन भएको थिएन । अहिले पर्यटन क्षेत्रको योगदान देखिने गरी लेखांकन गर्न प्रकृयागत रुपमा काम भइरहेको बोर्डले जनाएको छ । यो एकाउण्ट मुलुकको केन्द्रीय तथ्यांक कार्यालयसँगको समन्वयमा तयार पारिन्छ ।

सबै सरकारी निकायसँगको समन्वयमा तयार पारिने भएकाले पूर्ण तथ्यांक तयार गर्न समय लागिरहेको निर्देशक लामिछानेको भनाइ छ । सेटलाइट एकाउण्टले मुलुकको अर्थतन्त्र र कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदानका बारेमा सही तथ्यांक प्राप्त गर्न सजिलो हुन्छ । यस्तै, पर्यटन क्षेत्रभित्रै रहेका अन्य विषयगत क्षेत्रको तथ्यांक पाउन पनि यो प्रणाली सहयोग सिद्ध हुनेछ । आन्तरिक तथा बाह्य पर्यटकले दैनिक गर्ने खर्च, पर्यटक आगमन संख्या, पर्यटन क्षेत्रको योगदानमा कुनकुन क्षेत्रबाट कति आयआर्जन भएको छ भन्ने गणना गरिन्छ ।

पर्यटन क्षेत्रबाट अहिले अर्थतन्त्रमा बढीजसो होटल, ट्रेक, पर्वतारोहण र ट्राभलमात्र आर्थिक योगदान रहेको देखिने भए पनि यसबाट अन्य क्षेत्रलाई मुलुकको अर्थतन्त्रसँग जोड्नका लागि सर्भे गर्न योजना अगाडि सारिएको हो । उक्त प्रणालीको विकास गरेर लागु भएपछि मुलुकमा पर्यटन क्षेत्रको अवस्था, त्यससम्बन्धी सत्यतथ्य तथ्यांक आउने, नीति निर्माण बनाउन सहज हुने तथा विभिन्न कार्यक्रम बनाउन सजिलो हुनेछ । सन् २००८ देखि नै टुरिजम सेटलाइट एकाउण्ट सम्बन्धी मापदण्ड लागु गर्नको लागि प्रकृयामा भए पनि आन्तरिक तयारी पूरा हुन नसक्दा लागु हुन नसकेको बोर्डका निर्देशक लामिछानेले बताए ।

उनले भने, ‘सन् २०१८ देखि सेटलाइट एकाउन्टको कामले गति लिएको भए पनि कोभिडका कारण ढिलाइ भएको थियो । अहिले भने बोर्ड विभिन्न सरोकारवाला निकायसँगको समन्वयमा काम गरिरहेको छ र केही प्रतिवेदन पनि तयार परिसकेको छ ।’ बोर्डले अहिले भने आन्तरिक पर्यटकले स्वदेश तथा विदेशमा जाँदा कति खर्च गर्छ भनेर पर्यटकसँग सर्भे भइरहेको जनाएको छ । आन्तरिक पर्यटकको तथ्यांक निकाल्न बोर्डले केन्द्रीय तथ्यांक विभागसँगको सहकार्यमा सर्भे गर्ने प्रकृया अगाडि बढाएको निर्देशक लामिछानेले बताए । यस प्रविधिमार्फत गरिएको अध्ययनबाट आउने तथ्यांकले मुलुकको अर्थतन्त्रमा पर्यटनको योगदान कति हो भन्ने स्पष्ट तथ्यांक आउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्