Logo

तेस्रो मुलुक पठाइदिने बहानामा ठगी बढ्यो

काठमाडौं– वैदेशिक रोजगारीका क्रममा युरोप, अमेरिका, जापान, कोरिया, इजरायललगायतका श्रम गन्तव्य पठाइने भन्दै ठगी बढेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले युवालाई सचेत हुन आग्रह गरेको छ ।

आम्दानीका हिसाबले आकर्षक मानिएका ती देशमा पठाउने भन्दै करोडौं रुपैयाँ उठाएर फरार हुने क्रम बढेपछि मन्त्रालयले सचेत हुन आग्रह गरेको हो । मन्त्रालयमा ठगीका गुनासो र उजुरी आउन थालेपछि मन्त्रालयले कडा कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । उपत्यका अपराध अनुसन्धान महाशाखाले समेत वैदेशिक रोजगारीको ठगीलाई प्राथमिकतामा राखेर अनुसन्धान प्रक्रियाअघि बढाएको छ ।

युरोप, अमेरिका, जापान, कोरिया, इजरायललगायतका मुलुकहरूमा वैदेशिक रोजगारीका नाममा बढ्दै गइरहेको ठगी सम्बन्धमा गुनासो र उजुरी आउन थालेपछि मन्त्रालयले गम्भीर रूपमा लिएको प्रवक्ता गोविन्दप्रसाद रिजालले जानकारी दिए । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित गराउन आवश्यक नीतिगत, कानुनी एवं संस्थागत प्रबन्ध गरी यस क्षेत्रमा हुने ठगी नियन्त्रण गर्न सरकारले अधिकतम प्रयास गरिरहेको मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४३ बमोजिम कुनै पनि व्यक्ति वा संस्थाले इजाजतपत्र नलिई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेमा वा कसैलाई वैदेशिक रोजगारमा लगाई दिन्छु भनी झुट्टो आश्वासन दिई वा प्रलोभन देखाई कुनै रकम लिएमा वा विदेश पठाएमा त्यसरी लिएको रकम र सोको पचास प्रतिशतले हुने रकम हर्जनावापत असुल गरिने उल्लेख छ ।

यसरी ठगी गर्ने व्यक्तिलाई विदेश जान र आउन लागेको खर्च समेत भराई निजलाई तीन लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र तीन वर्षदेखि सात वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था रहेको छ । कानुनी व्यवस्थाका बाबजुद वैदेशिक रोजगारीमा जान इच्छुक नेपाली नागरिकलाई आकर्षक रोजगारीको प्रलोभन देखाउने, युरोप, अमेरिका, जापान, कोरिया, इजरायललगायतका देशहरूमा रोजगारीको अवसर छ भनी सामाजिक सञ्जालहरूमा भ्रामक सूचना प्रेषित गरी ठगी गर्ने प्रबृति बढेको छ ।

आम नागरिकमा भ्रम सिर्जना गरी आर्थिक रूपमा ठगी गर्ने गरेको समेत पाइएको छ । मन्त्रालयले पछिल्लो समय यस्ता गैरकानुनी कार्य नियन्त्रण गर्न मन्त्रालयअन्तर्गतका निकाय तथा सरकारका अन्य नियमनकारी निकायहरू सजक रहन निर्देशन दिएको छ । वैदेशिक रोजगारीमा जानका लागि हाल तीन प्रकारका विधिहरू रहेको मन्त्रालयले जनाएको छ ।

पहिलोमा सरकार सरकारबीच सम्झौता भई कार्यान्वयनमा रहेको जिटुजी प्रणाली, दोस्रोमा इजाजतप्राप्त संस्थाबाट आधिकारिक र कानुनी प्रक्रिया पुरा गरी वैदेशिक रोजगारीमा पठाउने प्रणाली र तेस्रोमा व्यक्तिगत प्रयासमा सम्बन्धित देशको रोजगारदातासँग श्रम सम्झौता तथा भिसा प्राप्त गरी श्रम स्वीकृति लिएर जाने प्रणाली रहेको जनाइएको छ ।

वैदेशिक रोजगारीका क्रममा हुन सक्ने ठगीबाट वच्न वैदेशिक रोजगारीमा जाने प्रक्रिया सुरु गर्नु अगाडि इजाजतपत्र प्राप्त संस्थामार्फत प्रक्रिया अगाडि बढाउन समेत अनुरोध गरिएको छ । कुनै पनि संस्था इजाजतपत्र प्राप्त हो वा होइन र वैदेशिक रोजगारको लागि पूर्व स्वीकृति लिएको छ वा छैन भनी वैदेशिक रोजगार विभागको वेवसाइटमार्फत यकिन गर्नु पर्ने मन्त्रालयले जनाएको छ ।

कोही कसैको प्रलोभनमा परी बिना प्रमाण तोकिएको शुल्कभन्दा बढी रकम नदिन, वैदेशिक रोजगारी प्रयोजनका लागि तोकिएको सेवा शुल्क संस्थाको बैंक खातामार्फत मात्र बुझाउन समेत सूचित गरिएको छ । ठगीका सूचना, जानकारी, गुनासो एवं उजुरीका लागि कल सेन्टरमार्फत वा प्रत्यक्ष रूपमा मन्त्रालय वा मन्त्रालयअन्तर्गतका निकायहरूमा सम्पर्क गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्