खेलाडीलाई जनही २५ हजार रुपैयाँ सहयोग
राष्ट्रिय महिला फुटबल टोलीलाई एनआइसी एसियाको सम्मान
काठमाडौं– एनआइसी एसिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ । सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी बैंकले फुटबल टोलीलाई सम्मान गरेको हो । केही समयअघि साउदी अरेबियामा सम्पन्न २०२४ वाफ वोमिन्स च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बन्न सफल भएकोमा फुटबल टिमलाई सम्मान गरेको बैंकले जनाएको छ ।
समारोहमा बैंक र अखिल नेपाल फुटबल संघ (एन्फा)बीच खेलहरूमा सहयोग गर्ने सम्झौतासमेत भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र एन्फाका अध्यक्ष पंकज विक्रम नेवाङबीच हस्ताक्षर भएको छ । बैंकले राष्ट्रिय महिला फुटबल टिमका ३१ खेलाडीलाई प्रतिव्यक्ति २५ हजार रुपैयाँ नगद सहयोगसमेत गरेको छ ।
साथै बैंकले एन्फाले आयोजना गर्ने विभिन्न खेलमा आर्थिक सहयोग गर्ने समेत सम्झौतापत्रमा उल्लेख गरिएको छ । एन्फा अध्यक्ष नेम्वाङले नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई धन्यवाद ज्ञापन गरे । उनले नेपाली राष्ट्रिय महिला फुटबल टिमले यो पटक निकै राम्रो खेलेको बताए ।
उनले भने, ‘अर्को पटक उपाधी नै हात पार्नेछ आशावादी छौं । त्यसको लागि एनआइसी एशिया बैंकबाहेकका बैंकहरुले सिएसार अन्तर्गत खेलकुद प्रोत्साहन गर्नुपर्छ ।’ कार्यक्रममा बैंकका डेपुटी सीईओ सन्तोषकुमार राठीले नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बधाई ज्ञापन गरे । उनले खेलाडीले देखाएको उत्कृष्ट प्रदर्शनले फुटबल मैदानमा असाधारण सीपका साथै लगनशीलता प्रकट गरी राष्ट्रलाई नै गौरवान्मित बनाएको बताए ।