Logo

बुटवलको चौराह–गोलपार्क सडक विस्तारको ठेक्का रद्द

बुटवल– बुटवलको राजमार्ग चौराह–गोलपार्क सडक विस्तारको ठेक्का रद्द गरिएको छ । पटक–पटक म्याद थप र ताकेता गर्दा पनि सडक विस्तार कार्य अलपत्र पारेको भन्दै डिभिजन सडक कार्यालयले निर्माण कम्पनीलाई ठेक्का रद्द गरिएको जानकारी गराएको हो । बुटवलको मुख्य बजार क्षेत्रमा पर्ने साढे तीन किलोमिटर सडक विस्तारका लागि २०७३ सालमा बिरुवा कन्स्ट्रक्सन कम्पनी प्रालिसँग ठेक्का सम्झौता भएको थियो ।

सात वर्षसम्म ५० प्रतिशतमात्र काम भएको छ । मेन लाइन, सर्भिस लेन, नालीलगायतका काम नहुँदा बुटवल बजार क्षेत्र अस्तव्यस्त देखिन्छ । समयमै निर्माण कार्य पूरा गर्न संघ, प्रदेश र स्थानीय सबै तहका जनप्रतिनिधि र क्षेत्रको आग्रह र निर्देशनलाई ठेकेदारले बेवास्ता गरेको भन्दै ठेक्का रद्द गरिएको डिभिजन सडक कार्यालय बुटवलले जनाएको छ ।

ठेक्का रद्दबारे निर्माण कम्पनीलाई जानकारी गराएर सूचना निकालेको डिभिजन प्रमुख विसुनदास लामाले बताए । ‘कन्ट्रयाक्टरलाई अब तिमीले काम गर्न सक्दैनौ । ठेक्का अन्त्यमा गयौं भनेर जानकारी गरायौं,’ उनले भने, ‘एकतर्फी सूचना निकालेर ठेक्का अन्त्यको प्रक्रियामा गएका छौं । निर्णय चाहिँ केही दिनपछि थाह होला ।’ तीन वर्षमा सक्ने गरी ५३ करोड ९७ लाख ९९ हजार रूपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

सुरुवातमा अदालतमा मुद्दा परेकाले काम रोकिएको थियो । अदालतबाट बाटो खुला भएपछि पनि सडक विस्तार अघि नबढि अलपत्र पर्‍यो । सडक डिभिजन कार्यालयले यसअघि पनि पटक–पटक ठेक्का तोड्ने चेतावनी दिँदै आएको थियो । तर कन्स्ट्रक्सनका ठेकेदार सुवित श्रेष्ठले त्यसलाई बेवास्ता गरेको कार्यालयले जनाएको छ । ठेक्का सम्झौताका सर्तबमोजिम दायित्व पूरा नगरेकाले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ अनुसार ठेक्का अन्त्य गर्ने निर्णय भएको डिभिजन प्रमुख लामाको भनाइ छ ।

बुटवल उपमहानगरपालिकाले पनि सडक निर्माण चाँडो सक्न डिभिजन सडक कार्यालयसँग पटकपटक ताकेता गरेको थियो । ठेकेदारलाई समेत राखेर सडक विस्तार छिटो अघि बढाउन दबाब दिए पनि काम हुन सकेको थिएन । राजमार्ग चौराहसँगै भैरहवाको बेलहियातर्फको साइटको पनि ठेक्का तोडिएको छ । ठेक्का रद्द भएको सूचना निकालेपछि निर्माण कम्पनी अदालत जान पाउँछ ।

अदालतमा निवेदन दियो भने केही समय रोकिन्छ । अदालत नगएमा अर्को ठेक्का प्रक्रिया अघि बढाउने डिभिजन सडक कार्यालयका प्रमुख विसुन दास लामाले बताए । ‘१५ दिन म्याद हुन्छ । त्यो अवधिमा निर्माण कम्पनीले दाबी नगरे हामी नयाँ ठेक्काको प्रक्रियामा अघि बढ्छौं । छिट्टै सूचना निकाल्छौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्