क्यान–इन्फोटेकमा ३ करोडको कारोबार

बुटवलमा सञ्चालित प्रदेशस्तरीय सूचना प्रविधिसम्बन्धी बृहत् प्रदर्शनी मेला (क्यान–इन्फोटेक) मा ३ करोडको आर्थिक कारोबार भएको छ । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) रुपन्देहीको आयोजनामा फागुन २ गतेदेखि सशुरु भएको मेला १ लाख ५० हजार भन्दा बढी दर्शकले अवलोकन गरेका आयोजकले जनाएका छन् । ५ दिनसम्म सञ्चालन भएको मेलामा १ सय ३६ स्टल राखिएको थियो । मेलामा नेपालमै पहिलोपटक अत्याधुनिक सुरक्षा उपकरण जडित प्रविधियुक्त घर, नेपाली वैज्ञानिकहरूले बनाएको रोबोट र ड्रोन प्रदर्शनी, भोटिङ मेसिन, कम्प्युटर, प्रिन्टर तथा ल्यापटप निःशुल्क मर्मत, नेपाली टाइपिङ प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, आइसिटी क्विज, वेब पेज डिजाइन प्रतियोगिता, सफ्टवेयर प्रिजेन्टेसन लगायत आकर्षणको रूपमा थिए ।
मेला समापनमा अवसरमा बोल्दै क्यान महासंघका केन्द्रीय उपाध्यक्ष नवराज कुंवरले प्रदेश नम्बर ५ लाई सूचना प्रविधिको हबका रुपमा विकास गर्न क्यान मेलाले सकारात्मक भूमिका खेलेको बताए ।
क्यान रुपन्देहीका अध्यक्ष नारायणप्रसाद श्रेष्ठले मेलामा आर्थिक कारोबारभन्दा बढी भन्दा बढी दर्शकलाई भित्राउने लक्ष्य अपेक्षाअनुसार पूरा भएको बताए । समापन कार्यक्रममा लुम्बिनी इन्जिनियरिङ कलेजका प्राचार्य के.एन.पाण्डे, व्यवसायीहरू रोशन कँडेल, माधव अर्याल, वीरबहादुर क्षेत्रीलगायतले आ–आफ्ना धारणा राखेका थिए ।