Logo

व्यापार विस्तार गर्न पूर्वाधार निर्माणकाे माग

वीरगन्ज– व्यापार विस्तारका लागि पारवहन सेवाको पूर्वाधार संरचनाको माग निजीक्षेत्रले माग गरेको छ । नेपालको व्यापारमा महत्वपूर्ण नाकाका रूपमा रहेको वीरगन्जका दुई भन्सार कार्यालयहरूको संरचनासहित सेवा थप गर्न निजी क्षेत्रले माग गरेको हो ।

व्यापार सहजीकरणलाई प्रभावकारी बनाउन वीरगन्ज सुख्खा बन्दरगाहको संरचनागत सुधार र अत्यावश्यक उपकरण तथा पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता देखिएको निजी क्षेत्रले बताएको छ । वीरगन्ज उद्योग वाणिज्य संघले बन्दरगाहभित्रको संरचना र सेवामा सुधार गर्नुपर्ने सुझावसहितको माग गरेको हो ।

संघका अध्यक्ष अनिल कुमार अग्रवालले शनिबार विज्ञप्ति जारी गरी वीरगन्ज नाकाबाट हुने व्यापारलाई प्रभावकारी बनाउन सहजीकरण गर्नुपर्ने केही विषयहरूको बारेमा सरकारको ध्यानाकर्षण गराए । संघले जारी गरेको विज्ञप्तिमा सबैभन्दा पहिले स्थापना भएको र मुलुककै पहिलो रेल्वेमा आधारित सुख्खा बन्दरगाहलाई अधिकतम उपयोग गर्न र प्रभावकारी बनाउन सुख्खा बन्दरगाह भन्सारमा स्वचालित जाँच पास मेसिनको व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ ।

सुख्खा बन्दरगाहको लागि ६२ बिघा जग्गा अधिग्रहण प्रक्रियालाई यथाशक्य चाँडो टुंग्याएर व्यवस्थापन गरिनुपर्ने, पर्याप्त मात्रामा डष्टी कार्गोको आयात भइरहे पनि उचित भण्डारणको अभावमा वस्तु नोक्सान हुने गरेकोले उचित भण्डारणको व्यवस्था हुनुपर्ने माग गरिएको छ ।

त्यस्तै डाइपोर्ट भित्रको कन्टेनरको लागि, बोराबन्दी र डष्टी कार्गो सामानहरूको लागि बेग्ला बेग्लै तौल गर्ने मेसिन (धर्मकाँटा) को व्यवस्था हुनुपर्ने, ड्राइपोर्टमा २४ सैं घण्टा एम्बुलेन्स र केमिकलयुक्त दमकलको व्यवस्था हुनुपर्ने, डाइपोर्टभित्र ठूलो मात्रामा अलपत्र रहेको रसायनिक मललाई यथाशीघ्र व्यवस्थापन गर्नुपर्ने माग निजी क्षेको छ ।

त्यसैगरी एकीकृत जाँच चौकीमा पनि सामान जाँच गर्ने स्वचालित स्क्यानर मेसिन नहुँदा जाँच पासमा समस्या भइरहेकोले स्क्यानर मेसिनको व्यवस्था हुनुपर्ने, एकीकृत जाँच चौकी र ड्राइपोर्टभित्रको काम एकै समय अर्थात् विहान ९ बजेदेखि हुनुपर्ने, आइसिपी भएर बाहिरिने खाली ट्रक, कन्टेनरहरू बिहान ९ बजेपछि मात्र जाने व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।

एकीकृत जाँच चौकीभित्र कोल्ड स्टोरेजको अभावमा चाँडो कुहिएर जाने वस्तुको आयात हुन नसकिरहेको र आयात गर्न चाहे पनि कुहिने डरले त्यस्ता वस्तु आयातका लागि आइसिपीभित्रै कोल्ड स्टोरेजको व्यवस्था हुनुपर्ने माग उनीहरूको छ । त्यसैगरी एकीकृत जाँच चौकी भएर चार चक्के सवारी साधनलाई आवत–जावत गर्न दिँदा आउने जानेलाई सहज हुने भएकोले चार चक्के सवारी साधनलाई आवत–जावतको अनुमति दिनुपर्ने, एकीकृत जाँच चौकीमा कार्यरत कर्मचारीहरूको लागि आइसिपीभित्र वा नजिकै आवासको व्यवस्था गर्न माग गरिएको छ ।

आइसिपी भित्रै वा नजिकै कर्मचारीको लागि आवासको व्यवस्था गर्न सकिए छिटो, छरितो र प्रभावकारी ढंगबाट काम हुने संघको भनाइ छ । अहिले आइसिपी भन्सारमा काम गर्ने कर्मचारीहरू साबिकको वीरगन्ज भन्सार कार्यालयकै आवास गृहमा बस्दै आएका छन् । उनीहरू बिहान ९ बजेपछि मात्रै आइसिपी भन्सार जाने गरेका छन् । जसले गर्दा बिहान मालसामान जाँच पासमा ढिलाइ हुँदा आयातकर्ताहरूले माल ढुवानी गर्ने सवारी साधनलाई विलम्ब शुल्कलगायतका अतिरिक्त रकम तिर्नुपर्ने अवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्