Logo

पुनर्निर्माणमा छुटेका थामीचागूमा ४५ घर निर्माणाधीन

दोलखा– विगू गाउँपालिका–८ थामीचागूकी फुलमती थामीको व्यस्तता बढेको छ । नौ वर्षदेखि टहराको बासको फुलमती पक्की घरमा सर्ने अन्तिम तयारीमा रहेका बेला आजभोलि उनको व्यवस्ततासँगै खुसी पनि बढेको छ । घर बनाएर छानो छाप्ने काम अन्तिम चरणमा पुगेको छ ।

छानो छाप्नाका लागि आवश्यक जस्तापाता, काँटी कब्जा व्यवस्थापन र काम गर्नेका लागि खाना पानीसँगै घरको दैनिकीले पनि उनको व्यस्तता बढाएको हो । फुलमतीका श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा दुई वर्षदेखि गाउँ छैनन् । श्रीमान् विदेशमा भएको र परिवारबाट अंशबण्डा लिएर छुट्टिएकाले पनि सबै काम फूलमतीकै छ । फुलमतीजस्तै जसु थामीको पनि घरको छानो लगाउने तयारी छ ।

जसुले घर बनाउनका लागि दोलखादेखि इँटा र सिंगटीबाट गिटी, बालुुवा, सिमेन्ट र रड ल्याइन् । गाउँमै ढुंगा प्रशस्त भए तापनि छिटो छरितोका लागि इँट्टा प्रयोग गरेको जसुले बताइन् । विगू गाउँपालिका–८ मा दुई महिनामा १५ वटा यस्ता घर बनिसकेका छन् । थप १५ घर पनि निर्माणाधीन छन् । बनेका घर अघिकाँश थामीचागूमा मात्र छन् । थामीचागूमा थामी जातिको मात्र बसोबास छ । नौ वर्षअघि भूकम्पले घर भत्काएपछि टहराकै बास भएकाहरू अहिले धमाधम घर निर्माणमा जुटेका हुन् ।

२०७२ वैशाखमा भूकम्पले घर भत्कियो । ‘बस्ने बास पनि चित्रा र टिनको पाताले बारेर बनाइयो,’ घर निर्माण गरिरहेका बले थामीले भने, ‘भूकम्पपछि धेरैको घर पुनर्निर्माणबाट बन्यो, तर हाम्रो बास अहिलेसम्म त्यही टहरामै छ, अनुदान पनि आएन, घर बनाउन पनि सकिएन ।’ पुनर्निर्माणका क्रममा पनि छुटेकाको जनता आवास कार्यक्रममार्फत सरकारले निर्माण गरिदिएको छ ।

भूकम्पबाट छुटेका परिवारलाई घर बनाइदिने भन्दै सहरी विकास तथा भवन कार्यालय धुलिखेलका प्रमुख सन्तोष निरौलासहितको टोलीले दुई महिनाअघि थामीचागू पुगेर आवास निर्माणका लागि ४५ जनासँग सम्झौता गरेको थियो । जनता आवास कार्यक्रमका लागि संघीय सरकारबाट अनुदान प्राप्त भएको छ । निर्माण पूरा भएकाको केही दिनमै लाभग्राहीको खातामा एकमुष्ठ पैसा पठाउने प्रमुख निरौलाले बताए । निर्माणाधीन १५ वटा पनि जेठ १५ गतेसम्म पूरा हुने र बाँकी पनि जेठ मसान्तसम्म पूरा हुने विश्वास लिए ।

सम्झौता भएका लाभग्राहीले आफ्नो घर बनाउँदा तीन लाख ५० हजार पाउँछन् । घर बनाउन अपुग रकम लाभग्राही स्वयम्ले व्यवस्था गर्नुपर्छ । भूकम्प प्रतिरोधी घर बनाउन कार्यालयले उपलब्ध गराएको नक्साबमोजिमको घर बनाउनु पर्ने जनता आवासका लागि खटिएका सहरी विकास तथा भवन कार्यालयका इन्जिनियर धर्मेन्द्र यादवले बताए । लाभग्राहीले दुःख नपाउने भनेर आवश्यक कागजात गाउँमै संकलन गरेर भुक्तानीका लागि सिफारिस गर्ने गरेको उनले बताए ।

जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधि २०७५ अनुसार जग्गा तयार गरेर जग खनेपछि पहिलो किस्ता २५ प्रतिशत, डिपिसी पूरा गरेपछि दोस्रो किस्ता ३० प्रतिशत, गाह्रो तयार भएपछि ३५ प्रतिशत र छानो, झ्याल ढोका, शौचालय तयार भएपछि अन्तिम किस्ता १० प्रतिशत पाउँछन् । किस्ताबन्दीमा ढिला भएपछि घर बनाइसकेकाको एकमुष्ठ भुक्तानी सिफारिस गरिएको उनले बताए । कार्यविधि अनुसार लोपोन्मुख, सीमान्तकृत, दलितका कार्यविधिले समेटेको छ ।

कार्यविधिले समेट्ने विपन्नसमेत भूकम्पमा पुनर्निर्माणमा नपरेका यसले समेट्ने कार्यालय प्रमुख सन्तोष निरौलाले बताए । थामीचागू सीमान्तकृत थामी जातिको मात्र बसोबास भएको एउटा गाउँ हो । यो एउटै गाउँमा ४५० घर छन् । अधिकाँश घर भूकम्पपछिको पुनर्निर्माणबाट बने तापनि साविक खोपाचागू गाविस हालको विगू–८ को मात्र एक सयभन्दा बढी घर छुटेको थियो ।

गुनासोबाट पटक पटक पठाउँदा पनि उनीहरूको नाम नआएपछि टहरामै बास बस्न बाध्य थिए । जनता आवास कार्यक्रमबाट चालु आर्थिक वर्षमा नै शैलुङ, तामाकोसी गाउँपालिका, जिरीलगायतमा थप १० वटा घरसमेत निर्माण हुनेछ । बागमती प्रदेश सरकारको तर्फबाट पनि आएको कार्यक्रमबाट समेत थप घर बन्ने प्रमुख निरौलाले बताए । गत वर्ष जनता आवास कार्यक्रमबाट जिरी नगरपालिकाभित्र ५० घर बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्